Friday, May 27, 2016

३७.(लघुकथा) बढुवा

(लघुकथा)
बढुवा
सरण राई

“तिमीजस्तो कामचोरलाई कारवाही गर्ने विषयमा मैले सोचिसकेको छु । तिमीलाई...।”
फोनको घण्टि बज्छ । रिसीभरमा नारी स्वर सुनिन्छ । हाकिमको रौद्र रूप कोमल हुन्छ । म लामो निस्वास छोड्छु । मनमनै फोनलाई धन्यवाद दिन्छु ।
“ए तिमीले मेरो घर देखेका छौ ?” हाकिम सोध्छन् ।
“देखेको छु, सर ।”
“अफिसको गाडी लगेर मेरो घर जाऊ । हाकिमनीले अराएको काम गर्नु ।”
अफिसको गाडी लगेर म हाकिमको घर  पुग्छु । हाकिमनीहरूको बनभोजको सामानहरू किनमेल गर्नु पर्ने रहेछ । किनमेल सकेपछि म पिजडाको सुगा फूर्र उडेझैँ आफ्नो घरतर्फ लाग्छु ।
हाकिमनीले कार्यालयमा हाकिमको जासुसी गर्ने थप काम मलाईँ दिन्छिन् । म दुवैको बिश्वासी हुन्छु । कार्यालयमा भन्दा हाकिमको घरको काममा मेरो धेर समय बित्न थालेको हुन्छ ।
हाकिमले मेरो बढुवा गर्ने सिफारीस गरेका छन् । कैैयौं सालसम्म थाहा नभएको बढुवाको गुहय कुरा बल्ल मलाईँ थाहा भएको छ र बढुवा हुने कुरामा म ढुक्क छु ।

२०५०

Friday, May 20, 2016

३६.(लघुकथा) एक थान ज्यान

(लघुकथा)
एक थान ज्यान

सरण राई

मुलुक सिङ्गाे एकथान । छिमेकीले चिथाेर्न थालेकाे बेला पनि सरकार छ भन्ने अनुभूति नभएर उनीहरू जुर्मुराएर उठ्छन् ।
ज्यान सिङ्गाे एक थान । काेराेना काेविद १९काे चिन्ताले थिलथिलाे अधमराे भएकाे बेला पनि ऊ र राष्ट्रवादिहरू राष्ट्रघाती भाइरस विरूध्द लड्दै छन् ।
दिर्घकालिन युध्द सुरु भइसकेकाे छ । याे भावी पुस्ताका लागि सिङ्गाे देश बचाउने अनिवार्य लडाई हाे ।
ऊ आफ्नो एकथान सिङ्गाे ज्यान देशलाई अर्पण गर्न तयार छ । ऊजस्तै सबै देशभक्त तयार छन् ।
प्रतीक्षारत छ बिगुल कहिले बज्ला ?
देश नरहे देशवासी कसरी रहला ?
देशलाई अर्पण गरीने फूल -- एक थान ज्यान ! प्राण ! ऊ लगायत सबैले यसरी साेच्न थालेका छन् ।
एक थान ज्यान-- कहिले ज्यामी मजदुर कहिले किसान ! अब देशका लागि सिपाही !
🔴
२०७७ जेठ १, लकडाउन
🔥🌹🔥
***