Monday, June 26, 2017

१००.(लघुकथा ) कुलो

(लघुकथा )
कुलो
सरण राई
खोलाको पानी पनि सामन्तको एकलौटी थियो | कुलो बन्नु पर्छ भन्ने गरिब किसानहरु मिलेर कुलो बनाउन थाले | सामन्त र किसानहरु बीच चर्को झगडा भयो | सब किसानको एकताले कुलो खनियो |
नयाँ कुलो ! पानीको मूल कुलोमा मिसाउदा जताततै रसाउछ,चुहुन्छ | धेरै ठाउँमा भत्कन्छ | पानी खेतसम्म पुग्दैन | सामन्त भन्न थाल्छ " देख्यो , कुलो काम लाग्दैन, भत्काउनु पर्छ |"
कुलो भत्काउन सके शोषण निरन्तर गर्न सकिन्छ भन्ने सोच सामन्तको हुन्छ | सर्वसाधारणको हितमा रहेको नयाँ कुलो विवादास्पद बन्छ | " भत्काउने कि राख्ने ? "
नयाँ कुलो व्यवस्थित बन्दै गएपछि रसाउन चुहुन बन्द हुन्छ | किसानको खेत बारी सिचाई हुन थाल्छ | बालीनाली हराभरा हुन्छ | प्रसन्नता बिपन्न किसानहरुको जीवनमा फैलिन्छ |

🏇🏇
https://chhinaamakhu.blogspot.com/
२०७४ असार १२, धरान


Monday, June 19, 2017

९९.(लघुकथा ) शंकुचित निषेध

(लघुकथा )
शंकुचित निषेध


सरण राई


चुनाव रणघण लागेको छ मानिसहरुलाई | हुलहुल बाँधेर झण्डा पर्चा बोकेर घरघर भोट माग्न घुम्दै छन् | ( पोस्टर छैन | 'मानव संसार' उपन्यासमा मैले चुनावी तामझामको बिरोध गरेको छु,सायद त्यसको पनि प्रभाव हो कि !)
आफ्नै पार्टीको उम्मेदवार पनि आईपुग्छन् | "भोट माग्न घुमौँ !"
"होइन , पर्दैन | दु;ख नदिऊ उहाँलाई |" अर्को नेताको भनाईले मलाई उन्मुक्ति मिल्छ | उनीहरु गइ सकेपछि म सोच्छुँ | सम्झन्छु चोरहरुको ग्याङको चुट्का |
चोरहरुको ग्याङमा एउटा सानो केटो पनि थियो रे | हरेक चोर्ने कार्यमा त्यसलाई संलग्न गर्थे | तर उसलाई बेश्यालय लादैनथे |
उमेरमा प्रजातन्त्र ल्याउने , गणतन्त्र ल्याउने आन्दोलनमा सक्रिय सहभागि भइयो | यो उन्नत व्यवस्था ल्याउन थोरै भए पनि योगदान दिएकोमा सन्तोष अनुभूत हुन्छ | अर्को नेता मलाई निष्क्रिय देखाएर पार्टीमा एकलौटी हालीमुहाली गर्न चाहन्छन् | शंकुचित निषेधको झ्याली खेल खेलि रहन्छन् | (मलाई फोहोरी राजनीतिको बेश्यालय जानु पनि छैन |)
म मामुली सांसारिकता भन्दा माथि उठी सकेको कुरा ति बिचरा अर्को नेता बुझ्न सक्तैनन् | शंकुचित निषेधले सबैभन्दा पहिला आफैलाई निषेध गर्छ भन्ने पनि बिचरा बुझ्न सक्तैनन् |


🐅🐆🐆
२०७४ असार ५, धरान

Saturday, June 17, 2017

९८.(लघुकथा) सपना र जीवन


(लघु कथा)
सपना र जीवन

सरण राई

....मलाई डरलाग्दो मान्छेले खेदी रहेको छ | ऊ धार्मिक कथाको राक्षस , भुत वा डाका लुटेरा हुनसक्छ | हातमा नाङ्गो खुकुरी छ | म चारैतिर कोहि छ कि भनेर हेर्छु , कोहि मद्दत गर्ने मानिस छैन | म भागिरहेको छु , भागिरहेको छु ...ऊ खेदिरहेको छ , खेदिरहेको छ | भाग्दा भाग्दै भीरको छेउमा पुग्छु | अब भाग्ने ठाँउ छैन | ज्यान जाने नै भयो , म पनि आफूसित भएको खुकुरी दापबाट झिकेर लडन तयार हुन्छु | लड्दालड्दै पछाडी सर्दा भीरबाट झर्छु |
के अचम्म ?
मरेँ होला भनेको म त अग्लो घरको तेस्रो तलामा पो हुन्छु | मेरा प्राध्यापक साथीहरु पनि थुप्रै छन् | सम्मेलनबाट फर्किरहेका रे | तल सडकमा हेरेको... 'बन्द' रे | पुलिस र बन्दकर्ताहरु भिडिरहेका छन् | अलिक शान्त भएपछी ओर्लन्छौँ | रात परि सकेको छ | कोहि कता कोहि कता जान लागे | म चाहीँ अब कता जाऊ | अन्यौलमा थिए | " एक छिन पर्खिदै गर्नुहोस है " भनेर गएका हरि सर आउनु भएको छैन | यो परदेसको ठाँउमा रात कता बिताउने होला ? चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ | हरि सर आउनु हुन्छ | अब कता बस्ने ? रात कता काट्ने ? अझ चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ |
अचानक आँखा खुल्छ |
टेन्सन समाप्त | आनन्द लाग्छ | अघिको मैले भोगिरहेको चर्को तनाव सपनामा पो रहेछ | आँखा खोलिनासाथ सपनाको दु:ख, सुख, रमाइलो ,नरमाइलो तनाव आदि ... सब समाप्त !
आँखा खोल्दा सपना समाप्त भएझैँ जीवनमा पाईने दु:ख -सुख , चिन्ता- पीडा, हर्ष-आनन्द अनि सबथोक सबथोक आँखा चिम्लिनासाथ समाप्त ! जीवनका सब वैभव शान शौकत हर्ष-आनन्द का साथ पीडा दु:ख रिस राग द्वेष क्लेश सब सब सपनाजस्तै आँखा चिम्लिनासाथ समाप्त !
मृत्युमा आँखा चिम्लिनासाथ समाप्त !!!
🔴
२०७१ माघ १६ बिहिबार , धरान
|http://facebooklit.blogspot.com/
🌹☯️🌹

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।
😿😿

Tuesday, June 6, 2017

९५.(लघुकथा) भोको पेट

(लघुकथा)
भोको पेट
सरण राई
मेरो बिध्दार्थी कालको कुरा हो | गाउँमा कक्षा सात पास गरेपछि सदरमुकाम बजारमा पढ्न गइयो | फुफु र म एकजनाको घरमा बसेका थियौँ  | चामल र तरकारी किनेर दिएपछि घरापतिले नै खाना पकाएर दिन्थिन् | घरपतिका मसिना नानीहरु थिए | सबैलाई थोरैथोरै दिएर भएपनि पुराउनु पर्ने तिनको बाध्यता थियो होला | भात थोरै दिन्थिन्, थप्दा पनि थोरै | गाउँको घरमा अघाउजी पुटुक्क भुडी उक्सिन्जेल खाने बानी परेका हामी आधा पेट हुन्थ्यो | जतिबेला पनि भोक लागिरहने हुँदा पढाई र खेलकुदमा ध्यान जादैनथ्यो |
एक महिनापछि तिनको सासुकोमा हामी सर्नुपर्ने भयो | सासु कर्कश बोलीका कडा मिजासका थिईन् | ससुराको खुराक धेरै थियो | बिरालोले नाघ्न नसक्ने भात खान्थे | हामीलाई पनि सासुले थुप्रै भात खान दिन्थिन् | अघाउन्जेल खान पाएकोमा हामी मक्ख परेका थियौँ  | जति नै आदर्शका कुरा गरे पनि पेटभरी खान पाइएन भने ति आदर्शका कुरा फोस्रा हुन्छन् | पेटभरी खान दिने हुनाले सासुको कर्कश बोली र कडा मिजास पनि हामीलाई राम्रो नै लाग्थ्यो |
भोको पेटले कोही  पुस्तक पढ्न सक्तैन | त्यो हाम्रो जीवनको पहिलो शिक्षा थियो |
🍒🍇🍉

https://chhinaamakhu.blogspot.com/
२०७४ जेठ २४ , धरान
Blooming Flowers Below Mountains, Alaska, USA

Sunday, June 4, 2017

९४.(लघुकथा) अदना मानिस

(लघुकथा)
अदना मानिस

सरण राई

इच्छा मरण सबैकाे चाहना हुन्छ पाैराणिक कथाका पात्रहरूकाे झैँ ।
के याे सम्भव छ ? प्रश्न मनकाे आयतन ढाकेर फैलन्छ । सम्भव छ । जीवनले यसरी थकाउछ कि मानिसहरू मर्ने इच्छा गर्न पुग्छन् ।
मैले धेरै राेगी बिरामीहरू भेटेकाे देखेकाे छु । मेराे आफ्नै स्व. पत्नी पनि । डायलाइसिस गर्दागर्दा थाकेर मधुमेहका बिरामी तिनले गुलियाे चकलेटअति धेरै खाएर मलाई बिरामी स्याहार्ने झन्झटबाट मुक्ति दिन इच्छा मृत्यु राेजिन् र रुँदै बिदा भइन्। मुटु राेगीहरूले घ्यू बाेसाेयुक्त खाने कुरा खाएर इच्छा मृत्यु राेज्छन् । सबैलाइ इच्छा मृत्यु राेज्ने स्वतन्त्रता हुँदाे रहेछ । सहिदहरू देशका लागि इच्छा मृत्यु राेज्छ्न् ।
म पनि इच्छा मृत्यु राेज्न मन पराउछु । मलाई पनि मधुमेह उच्चरक्तचाप आदि राेगहरूले मृत्युवरण गर्न सहज बनाएकाे छ । इच्छा मृत्यु राेज्न पर्याे भने मुख नबार्ने मनपरी खाएर इच्छा मृत्यु राेज्न सक्छु , तर इच्छा जीवन मेराे हातमा छैन । मेरा धेरै समकालिनहरूझैँ जीवनकाे नियम... मैले पनि जानै पर्छ । तर कहिले र कसरी ?
मुख बारीनँ र इच्छा मृत्यु राेज्दा पनि सहज मृत्यु भएन भने ...
'इच्छा मरण', 'मृत्यु अवस्था', 'बाँच्ने मर्ने'. 'जीवन भाेग्ने सर्त' अदना मानिसकाे वशमा हुँदैन कि ... त्यसबारे केकाे चिन्ता !
म प्रसन्न हुन्छु 'जतिसम्म बाँच्छु त्याे मेराे जीवन' हाे । जीवनकाे नाैरङ्गी अनुपम साैन्दर्य देखेर म मुस्कुराउँछु । अझैसम्म म बाँचेकाे छु ...! सबै हामी घरतीका 'राम्राे काम गरेमा महान् पनि बन्न सक्ने' अदना मानिस !
🔴
२०७६ फागुन १४ , धरान
https://chhinaamakhu.blogspot.com/2017/06/blog-post_4.html?fbclid=IwAR0WUHOpAUdP
🌹☯️🌹



नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह
पुस्तक पढ्नुहुन अनुराेध छ ।
🍒🍇🍉

Tian Tan Buddha: Lantau Island, Hong Kong 🇭🇰

Saturday, June 3, 2017

९३.(लघुकथा) व्यावसायिक ज्ञान

(लघुकथा)
व्यावसायिक ज्ञान
सरण राई
नयाँ ठाँउ नयाँ चलन र व्यवसाय | मलाई पहाडबाट मधेस झर्दा सब अनौठो र नयाँ लागेको थियो | माछा पक्रिने हुँदा पहाडमा जस्तै माछालाई डाँडमा पक्रिदा सिङ्गे माछाले हातमा घोचेर रुनु न हाँस्नु बनाएको थियो | पोलेर सहि नसक्नु भएको बेला स्थानीयले आगोमा सेकाउँदा बिशेख हुन्छ भन्ने ज्ञान दिएको थियो |
मधेसमा रहदै बस्दा मैले पनि कैयौ कुरा सिकेँँ | फरुवा खन्नु , गोरु जोत्नु , आली धुर कस्नु , पैनी कुलो थुन्नु वा ल्याउनु आदि खेतीका कामहरु | भर्खरै पहाडबाट झरेको एक जना लाठे पैनी थुनी रहेको छ | फरुवा पनि राम्ररी चलाउन जानेको छैन | बल्लबल्ल एक फरुवा माटो हाल्छ, पानीले बगाएर लगिहाल्छ | ढुङ्गा खोज्छ, मधेसमा कहाँ पाउनु ?
पैनी थुन्न नसकेर खुईय  गर्छ | मलाई दया लाग्छ र भन्छु "भाई, पैनी थुन्न पहिला किला गाढ़, त्यसपछि पराल वा झयास लगाएर माटो लगाऊ |"
उसले त्यसै गर्छ र पैनी थुनेर रोपाई गर्ने खेततिर पानी लान सफल हुन्छ | व्यावहारिक सीप, व्यावसायिक अनुभव र ज्ञान कति महत्वपूर्ण हुन्छ जुन आफैले भोगेर मात्र प्राप्त गर्न सकिन्छ |
🍇🍎🍐

h२०७४ जेठ २० , धरान
https://chhinaamakhu.blogspot.com/

Fairbanks, Alaska