Tuesday, January 24, 2017

६०. (लघुकथा ) सन्देश


(लघुकथा)
सन्देश

सरण राई

भुँइ युवा थिएँ । सर्वाेच्च पुग्ने कसरी?
व्यक्ति हत्याकाे राजनीति पनि थियाे । समयकाे आवश्यकता थियाे कि ! लागियाे मनकाे आक्राेस असन्ताेष बाेकेर । कैयाैं मारिए, मरे । म भने जेल परेँ ।मलाई थुन्ने व्यवस्था ढल्छ ।
जेलमुक्त हुँदा पढ्ने लेख्ने सिक्ने उमेर बितिसकेकाे हुन्छ ।
मभित्र भएकाे गरिबी अयाेग्यताहिनताकाे बावजुद सर्वाेच्च मात्र देख्न थाल्छु ।
अनुकुल समय ! चुनाव जित्छु ।
महत्वाकाङ्क्षा सवाेच्च हुने-पुग्ने । म भन्दा अगाडिकाे सर्वाेच्चमा पुगेकाेले के के गरे ? मैले पनि अनुसरण गरेँ । एउटा गुन्डा झुन्ड, नक्कली आदर्श सिध्दान्तकाे कुरा सब सब गरेँ । अभाव थियाे पैसाकाे ।
पैसा आयाे अज्ञात स्राेतहरूबाट । पैसाकाे छेलाेखेलाे ! पैसाकाे खाेलाले म डान नेता भइसकेछु । युवा कालमा गरिबीकाे दुख भाेग्दा समान न्यायपूर्ण व्यवस्थाकाे सपना हरेक युवाहरूले झैँ मैले पनि देखेकाे थिएँ । डान नेता ! सबतिर सफलता ...सर्वाेच्च पुगेँ , सर्वाेच्च भएँ । देशकाे लागि केहि गर्न चाहे पनि केही गर्न नसक्ने म, मलाई त विदेशीले गुलाम बनाएर सर्वाेच्च बनाएका रहेछन् । म उनीहरूकै बाेली बाेल्छु, उनीहरुले भुक्न लगाए भुक्छु । आफ्नै देशवासीहरूलाई टाेक्छु ।
म हिराे, सुपरहिराे ! सर्वशक्तिशाली मलाई बनाईएकाे रहेछ देश बेच्न सक्ने ।
पाल्तु म ! देशकाे नक्सा काटेर छिमेकीले आफ्नाे नक्सामा मिसायाे । भुक्नै सकिनँ। बाेल्नै सकिनँ । संसदमै देश बेच्ने प्रस्ताव पास गर्न नसक्ने मेराे अवस्था ...
मुला काेराेना काेविद १९, पहिला जस्तै विदेश गएर उपचार गराउने इच्छा पुगेन । धन्न, पहिलाकाले बनाएकाे अस्पताल मलाई काम लाग्याे ।
देशवासीहरूका लागि कुनै अस्पताल बनाईनँ । असल शिक्षा संस्कार र असल राजनीतिकाे थालनी गरीनँ । गरेकाे भए याे संकटमा सबैलाई काम लाग्थ्याे । म आफैलाई पनि काम लाग्थ्याे ।
धेरै पल्ट अन्तरपुकार मरेर मारेर धेरै पल्ट मरेकाे काेही छ ? भनेर खाेज्ने हाे भने ...
राष्ट्रघात गरेर म मरेँ, सिध्दान्तच्युत भएर म मरे, भ्रष्टाचारी भएर म मरेँ ... कति पटक मरेँ, मरेर सर्वाेच्च बनाईएकाे रहेछु ।
मरेर जति माथि सर्वाेच्च पुगे पनि मेरा काेही रहेनछन् । उनीहरूलाई मुलुक दिलाउन नसकेपछि उनीहरूका लागि पनि म बेकार भएछु । लाशकाे मित्र काे हुन्छ र ? सिनु भई गनाईरहेकाे म ... सर्वाेच्चमा सिनु !
सिनुलाई काेराेना नलागाेस भनेर पिपीइ, चस्मा पन्जा सेनिटाइजर सब सब दिलाएकाे छु । तर मलाई शंका लाग्छ मेरा भराैटेहरूले कमिसनका लागि ल्याएका यी बस्तुहरू पनि नक्कली हुन् कि !
सब सर्वसाधारण मरेभने जति नै माथि सर्वाेच्चमा रहे पनि सिनु म पनि तुरिने सकिने छु । याे दिव्य सन्देश काेराेना काेविद १९ ले सम्प्रेसन गरिरहेछ ।
भुँइमान्छेभन्दा माथि जतिसुकै सर्वाेच्चमा पुगे पनि भुँइमान्छे सर्वसाधारण आममान्छेसँगै मान्छेकाे अस्तित्व जीवन मरण गाँसिएकाे हुन्छ ।
अहिले म थाहा पाइरहेकाे छु ... भुँइमान्छे सर्वसाधारण आममान्छेभन्दा माथि कुनै सुरक्षित उचाइ हुँदैन छैन। भुँइमान्छे सर्वसाधारण आममान्छेकाे लागि जाे बाँच्छ उसले पटक पटक मर्नु पर्दैन ।
🔴
२०७६ वैशाख ४, धरान
🔥☯️🔥





Saturday, January 21, 2017

५९.(लघुकथा ) स्वाङ

(लघुकथा )
स्वाङ
सरण राई
सम्भ्रान्त हुने खानेको समाजले उसलाई र उसको योगदानलाई कदर गर्ने कुरै भएन |
ऊ आफ्नो समाजको लागि काम गर्छु भन्ने सोच्थ्यो | उसले आफु रहेको समाज हेर्यो | सम्भ्रान्त हुने खानेको समाजभन्दा फरक लुलो , लङ्ड़ो , लाटो, लठेब्रो, गठेरो अशिक्षितहरुको पछाडी पारिएको समाज उसको रहेछ |
त्यो समाजले कसैको कदर गर्न जानेकै थिएन | कदर , सम्मान-अभिनन्दनको तृष्णा मेटाउन उसले एकजना अर्ध गठेरोलाई उसको सम्मान कार्यक्रम गर्न लगायो |
लुलो , लङ्ड़ो , लाटो, लठेब्रो, गठेरो अशिक्षितहरु भेला भए | कार्यक्रम अराजक हुने नै भयो | अपाङ्गहरु आफ्नै धुन र सुरमा छन् | फूलमाला पहिराउन आउदै गरेको लङ्गड़ो लडेर घाइते भयो | लठेब्रोले त्यो माला आफुले लगाएर 'ह्या..ह्या..' गर्यो | लाटोले हिहिही हाँसेर थर्कायो | अरु लुलो , लङ्ड़ो , लाटो, लठेब्रो, गठेरो अशिक्षितहरु कोहि हिड्दै,उठ्दै,कराउदै छन् | कोहि हाँस्दै छन् | गठेरो समाज !
के को कार्यक्रम हुनु ? सम्मान थाप्न बसेको उसलाई एउटा लठेब्रो आएर थुकिदिन्छ | ऊ जङ्गिएर अर्ध गठेरोलाई हेर्छ | अर्ध गठेरो 'उउउ' गरिरहेको हुन्छ |
सम्मान खोज्ने ऊ आफ्नो समाज देखेर सोच्छ -- 'उसले त्यो समाजको लागि काम गर्ने हो , सम्मान खोज्ने होइन | सम्मान त सम्भ्रान्त हुने खानेको समाजले देखाउने स्वाङ मात्र हो |'
२०७३ माघ ८ , धरान
https://chhinaamakhu.blogspot.com/



Wednesday, January 18, 2017

५८.(लघुकथा) प्राप्ति

(लघुकथा)
प्राप्ति

सरण राई

ऊ एक्लो ४७ वर्षीय, एम. ए. को परीक्षा दिई रहेको रहेछ | भेट हुँदा सोध्छुँ -- " पढाईमा किन ढिलो हुनुभयो ?"
"पढाई वा राम्रो काममा कहिल्यै ढिलो हुँदैन भन्छन् |"
मुख भरी जवाफ पाएर विषयान्तर गर्न सोध्छुँ -- "किन विवाह गर्नु भएन ?"
"कतिपय कुराहरू गरौँ भन्दा भन्दै समयले साथ नदिँदा अधुरो हुँदा रहेछन् |"
"एक्लो जीवन खल्लो लाग्दैन ?" व्यक्तिगत जीवनमा हस्तक्षेप जस्तो हुने प्रश्न लाजै पचेर सोध्छुँ |
उनी रिसाउलान् भन्ने सोचेको, अट्टहास हाँसो हाँस्दै भन्छन्-- " यसको पनि मसँग 'रेडिमेड जवाफ' छ | सबैलाई दिएकै जवाफ ...सबैले विवाह गर्नै पर्छ र ? विहे गरेर सन्तान पाउनु मात्रै उपलब्धी वा प्राप्ति हो र ?! आफ्नै प्रकारको जीवन गुजार्न पाउनु मानिसको नैसर्गिक अधिकार हो कि होइन ? एकल पुरुष जीवनमा प्राप्ति हुन सक्छ कि सक्दैन ? .... प्रश्नै प्रश्नहरु बोकेर अगाडी बढ्ने कोसिस ठीक हो वा होइन ?"

 २०७३ माघ ६ , धरान
https://chhinaamakhu.blogspot.com/



/
 सरण राई   लक्ष्मी राई                                          \

Monday, January 16, 2017

५७.(लघुकथा ) अव्यक्त क्रन्दन


(लघुकथा )
अव्यक्त क्रन्दन

सरण राई

स्वास्नीले छाडेको मेरो छोरा र नाति मसँग बिदा भएर गैरहेका छन् | छोरा एकापट्टिको काँधमा झोला र अर्को पट्टिको काँधमा नाति बोकेर हिंडिरहेको छ | सानो नानी छोडेर पोइल हिडेकी बुहारीलाई आधुनिक 'माधवी' सम्झेर नाति पाई दिएकोमा म मनमनै धन्यवाद नै दिन्छु |
"खोई , मेरी आमा ?" नातिको सोधाईको उत्तर "पैसा कमाउन गएकी छे " भनेर दिन्छौँ | उसको आमाले जाने बेला "पैसा खोज्न जान्छु " भनेर गएकीले पनि ऊ पत्याउछ |
" आमा कहिले आउछिन् ?" त्यो प्रश्नको पनि तयारी जवाफ दिन्छौँ "पैसा कमाएर |"
तर उसको आमा फर्केर आउदिन भनेर हामीलाई थाहा छ | बिचरा ऊ ! आमाको माया, ,ममता र प्यारो काख सम्झेर अव्यक्त क्रन्दन गरिरहेको छ | अव्यक्त क्रन्दन ...

२०७३ माघ ३ धरान

http://chhinaamakhu.blogspot.com/

Sunday, January 15, 2017

५६.(लघुकथा ) शिष्टता

(लघुकथा )
शिष्टता

सरण राई

कहिल्यै तिनी रिसाएको देखिएन | सधै उज्यालो मुखले आफन्त र पाहुनाहरुको स्वागत सत्कार गर्थिन् | तिनको शिष्टताबाट सबै प्रभावित थिए |
संयोग नै भनौ तिनको परिवारसँग यात्रा गर्ने मौका मिल्यो | यात्राको खर्च आफै बेहोर्ने सहमति अनुसार जसले खर्च गरे पनि बेलुका हिसाब हुन्थ्यो |
एक बेलुकी मैले हिसाब गर्दा गल्ति गरेछु र तिनले दिनु नपर्ने पैसा मागेछु |
आम्मै तिनको रिसको पारो यति धेरै चड्यो कि चिच्याएर भनिन् " बेइमान !"
फेरी हिसाब गरेँ , गल्ति भएको रहेछ | माफी मागेँ तर तिनको रिस मत्थर भएन |
तिनको शिष्टता , नम्र स्वाभाव ?! म अलमल्ल पर्छु |

२०७३ माघ ३ धरान
https://chhinaamakhu.blogspot.com/

५५.(लघुकथा ) निम्छरा


(लघुकथा )
निम्छरा

सरण राई

"ले मेरो ब्याग ? ल्याउछस् कि पिटाई खान्छस् ?"
बोजु हकारी रहन्थिन् आफ्नो सानी नातिनीलाई | बिना प्रतिवाद सानी चुपचाप सुनिरहन्थिन् | आँखा भने रसाउँन खोजे झैं हुन्थ्यो | तर आँसु आँखामै सुकाउथिन् |
"ले मेरो ब्याग ? ल्याउछस् कि पिटाई खान्छस् ?" बोजु सधैं हकारी रहन्थिन्  |ब्याग सानीले नै चोरीं भन्ने सम्झेर कुट्न खोज्थिन् | कुटिन् पनि तर ब्याग भेटिएन |
केहि समयपछि ब्याग बाकसमा भेटिन्छ | निर्दोष नातिनी ! बोजुको आँखा रसाउँछ |

२०७३ माघ ३ ,धरान
https://chhinaamakhu.blogspot.com/






५४.(लघुकथा) राेपेकाे फल

(लघुकथा)
राेपेकाे फल

सरण राई

उसकाे हातमा शक्ति थियाे । उसले चाहेकाे जे पनि गर्न सक्थ्याे ।
पिडितहरू न्याय माग्न आए । हाँसेर झुठाे आश्वासन दियाे । कालाबाजारीया तस्कर अन्याय अत्यााचारकाे संरक्षण गरेर अकुत कमिसन खायाे । मुलुककाे ढिकुटिमा मनपरि गर्याे । कानुन र संबिधानकाे खिल्ली उडायाे । कुर्सीमा बसेकाेले हाय हाय भइरहेकाे थियाे । झिँगा पालेर अरिङ्रगालकाे गफ दिईरहेकाे थियाे ।
लाेकहितकाे एउटै काम नगरेर पत्तुर भयाे ।
अति भाे । कुर्सीबाट उसकै मतियारहरूले खसाले । उसकै विश्वासी मतियारहरूले कुर्सीबाट झारेपछि अन्याय अत्याचार भ्रष्टाचारकाे अनेकाैं मुद्दा लगाए ।
उसैले नियुक्त गरेकाे न्यायधिसहरू ! मुद्दा फासफुस गर्न फाेन गर्छ । फाेन उठाउदैन त । ऊ मतियारहरूलाई बाेलाउछ । के आउँथे । उसलाई फसाएर उनीहरू उम्कि सकेका थिए ।
'धेर नभुक्' भन्दै उसैले जन्माएकाे गुन्डाहरूले उसलाई कुटपिट गर्छ अनि उसका केही धन पनि लुटपाट गरेर लैजान्छन् । 'अन्याय भयाे' भनेर सहारा खाेज्छ । ओरालाे लागेकाेलाई कसले साथ दिन्छ ? फेरि उसले तअन्यायलाई सिरानी बनाएर न्याय र सत्य मारेकाे थियाे । कतै जनताले साथ दिन्छन् कि ! जनतालाइ हारगुहार गर्छ । जनता गलल हाँस्छन्।
अन्यायकाे पीडा कस्ताे हुन्छ ?
जेल पुगेपछि उसलाई महसुस हुन्छ .। आफैले राेपेकाे फल !
🔴
२०७७वैशाख ४, धरान
🔥☯️🔥

Saturday, January 14, 2017

५३.(लघुकथा)भेन्टिलेटर

(लघुकथा)
भेन्टिलेटर

सरण राई

'म राेगी पनि छु । काेराेनाले भेट्याे भने ...'
'आ ~ नेतामन्त्री ज्यु पनि ... तपाईंसित डाक्टरहरूसँग नभएकाे पिपीइ, चस्मा,पञ्चा छ ।'
'ती नक्कली हुन सक्छन् ।'
'अहिले नै महामारीकाे रूपमा आईसकेकाे छैन ।'
'मलाई पाे थाहा छ...'

नभन्दै उनी बिरामी हुन्छन् । भेन्टिलेटरमा राख्नु पर्ला कि ...
भेन्टिलेटर नहुनाले उनकाे मृत्पु हुन सक्छ । थाेरै भएकाे भेन्टिलेटर उनीभन्दा शक्तिशाली नेतामन्त्रीहरूले ओगटि सकेका रहेछन् ।

कमिसन नआउने हुँदा भेन्टिलेटर थप्नेमा कुनै नेतामन्त्रीकाे ध्यान गएकाे थिएन ।

बिचरा कमिसनले बनेका नव धनपति नेतामन्त्री ! भेन्टिलेटर नभएकाे थाहा पाएर काेराेना काेविड १९ ले भन्दा अगाडि हृदयाघातकाे सिकार हुन्छन्।

बेलैमा प्रसस्त भेन्टिलेटर भएकाे अस्पताल बनाउनेतिर ध्यान दिएकाे भए सायद अरू सर्वसाधारणसँगै उनी पनि बाँचिरहेका हुन्थे कि !
🔴
२०७७ बैशाख ५, धरान
🔥☯️🔥