Saturday, January 21, 2017

५९.(लघुकथा ) स्वाङ

(लघुकथा )
स्वाङ
सरण राई
सम्भ्रान्त हुने खानेको समाजले उसलाई र उसको योगदानलाई कदर गर्ने कुरै भएन |
ऊ आफ्नो समाजको लागि काम गर्छु भन्ने सोच्थ्यो | उसले आफु रहेको समाज हेर्यो | सम्भ्रान्त हुने खानेको समाजभन्दा फरक लुलो , लङ्ड़ो , लाटो, लठेब्रो, गठेरो अशिक्षितहरुको पछाडी पारिएको समाज उसको रहेछ |
त्यो समाजले कसैको कदर गर्न जानेकै थिएन | कदर , सम्मान-अभिनन्दनको तृष्णा मेटाउन उसले एकजना अर्ध गठेरोलाई उसको सम्मान कार्यक्रम गर्न लगायो |
लुलो , लङ्ड़ो , लाटो, लठेब्रो, गठेरो अशिक्षितहरु भेला भए | कार्यक्रम अराजक हुने नै भयो | अपाङ्गहरु आफ्नै धुन र सुरमा छन् | फूलमाला पहिराउन आउदै गरेको लङ्गड़ो लडेर घाइते भयो | लठेब्रोले त्यो माला आफुले लगाएर 'ह्या..ह्या..' गर्यो | लाटोले हिहिही हाँसेर थर्कायो | अरु लुलो , लङ्ड़ो , लाटो, लठेब्रो, गठेरो अशिक्षितहरु कोहि हिड्दै,उठ्दै,कराउदै छन् | कोहि हाँस्दै छन् | गठेरो समाज !
के को कार्यक्रम हुनु ? सम्मान थाप्न बसेको उसलाई एउटा लठेब्रो आएर थुकिदिन्छ | ऊ जङ्गिएर अर्ध गठेरोलाई हेर्छ | अर्ध गठेरो 'उउउ' गरिरहेको हुन्छ |
सम्मान खोज्ने ऊ आफ्नो समाज देखेर सोच्छ -- 'उसले त्यो समाजको लागि काम गर्ने हो , सम्मान खोज्ने होइन | सम्मान त सम्भ्रान्त हुने खानेको समाजले देखाउने स्वाङ मात्र हो |'
२०७३ माघ ८ , धरान
https://chhinaamakhu.blogspot.com/



No comments:

Post a Comment