Saturday, May 27, 2017

९०.(लघुकथा) शिष्ट सम्बन्ध

(लघुकथा)
शिष्ट सम्बन्ध

सरण राई

तिनको मिठो बोलीबचन, शिष्ट व्यवहार र सुमधुर आचरणले तिनलाई चिन्नेहरू सबै प्रभावित भएका छन् | सबैले प्रसंशा गर्छन् |
आधुनिक जुग जमाना | पतिको प्रगतिमा पत्नीको ठुलो भूमिका हुन्छ नै | राजनीतिको सून्य स्थितिबाट सुरु गरेर आज तिनका पति संसद भएका छन् | संसदको चुनावमा पतिलाई जिताउन पनि तिनको उल्लेख्य भूमिका थियो |
चुनावको बेला मकहाँ पनि आएर तिनले भनेकी थिइन् ," चुनाव हार्दाहार्दा दिक्क भइसकियो | यसपालिको चुनावमा जिताउन मदत गर्छौ कि !"
"हुन्छ | हाम्रो नातासम्बन्ध पनि छ | म उहाँको बिरोध नगरी मदत गरौलाँ |" आश्वासन मात्र होइन त्यसै अनुरुप मैले भूमिका निर्वाह गरेँ |
तिनका पतिले चुनाव जितेर सांसद भए | सधैं राजधानी बस्न थाले | तिनीहरुसित तीन वर्ष भेट भएन | फोन गर्दा पनि सम्बन्ध हुन सकेन | टेलिफोन, इन्टरनेटका निशुल्क इमो, भाइबर आदि अनेकौ संचारले जेलिएको आधुनिक युग , उनीहरुले एकपटक पनि मलाई सम्झेनन् | उनीहरुले म अकिन्चन जाबोलाई के सम्झन्थे ? उनीहरुले यसो सोधखोज गरेर टेलिफोनमै हालचाल सोधेको भए उनीहरुको के बिग्रन्थ्यो र ? आफ्नो मानो खाएर बस्नु छ , मैले पनि शिष्ट सम्बन्ध राख्न छाडेँ |
यहाँ नयाँ शिष्ट सम्बन्ध विकास हुँदैछ | आफूभन्दा ठुला शक्तिशालीको चाकडी गर्ने | आफूभन्दा तलका सानाहरुलाई मान्छे नै नगन्ने | हो पनि सानाहरुसित सम्बन्ध राखेर के काम ? चुनावमा भोट किन्न पाई हालिन्छ | गरिब र भीखमङ्गाहरु जति धेरै, उति फोहोरी राजनीति फस्टाउँछ | फोहोरी राजनीतिका फोहोरीहरुबाट राम्रो आश गर्नु ढुङ्गा टुसाउँछ भन्नु जस्तै हो |
सानाहरुलाई नगन्ने शिष्ट सम्बन्धले ठुलाहरू गिर्दा उठाउने कोहि हुँदैन | संकटमा साथ दिने ठुला भन्दा सानाहरू नै धेरै हुन्छन् | सानाहरूले नै दुनिया भरिएको छ | देश ,समाज र व्यवहार सानाहरुले नै चलाएका छन् | सानाहरू बीच शिष्ट सम्बन्ध को कुनै अर्थ छैन रहदैन | म सानाहरू बीच सर्वसाधारण भएर रमाउन बाँच्न सक्नु जीवनकै महत्वपूर्ण उपलब्धि मान्छु | ठुला तिनीहरुले सम्बन्ध नराख्दा मलाई कुनै गुनासो छैन हुँदैन |
२०७४ जेठ १४ , धरान
https://chhinaamakhu.blogspot.com/

Image result for picture of nepal

८९.(लघुकथा) माटाेकाे प्रश्न


(लघुकथा)
माटाेकाे प्रश्न

सरण राई

ध्वनी वायु प्रदुषणबाट बच्न पनि र प्रभातकालिन व्यायाम गर्न म एकान्त शान्त स्वास्थप्रद बिजयपुरकाे उकालाे चढ्छु तर बिहानै डाँडा नै थर्काउने हिन्दी भजन ! बजारकाे भन्दा चर्काे ध्वनी प्रदुषण ! हिन्दी भजनसँगै रुँदैहाेला बिचरा लिपुलेक कालापानी र लिम्पियाधुरा ...
थकित म चिया पिउन चिया दाेकान पस्छु । अङ्ग्रेजी पप गीत कानकाे जाली नै फुटाउने गरी बजिरहेकाे ! MCC ...
अनेक प्रकारकाे प्रदुषण झेलेर घर पुग्छु । परिवारका सबै माेबाइलमा व्यस्त..
लिपुलेक कालापानी र लिम्पियाधुरा , MCC कसैलाइ चासाे छैन । म मात्र किन चिन्तित हुने ?
टेलिभिजन हेर्छु नेता भाषण छाटिरहेछन् कुनै सन्धी सम्झाैता सबै जनतालाई साेधेर पास गरिन्छ ? नेता र विशेषज्ञले विचार गर्ने हाे...
यस्ताे परिवेशमा राष्ट्रप्रेम देशप्रेमकाे भावना कसरी रहला र ...
म आफ्नाे एक्लाे चिन्तनबाट मुक्ति खाेज्न सधै माेबाइलमा भुलिएजस्ता देखिने वयस्क केटा र केटिहरूलाइ साेध्छु-- लिपुलेक कालापानी र लिम्पियाधुरा , MCC बारे थाहा छ ?
सबैकाे जवाफ हुन्छ-- माटाेसँग जाेेडिएकाे प्रश्न... ज्यान दिएरै भए पनि देश जाेगाउनु पर्छ !
🔴
२०७६ फागुन २२, धरान
🌹☯️🇳🇵🌹

Sunday, May 21, 2017

८८.(लघुकथा) माहौल

(लघुकथा)
माहौल
सरण राई
सबै ताली बजाउदै भजन गाईरहेका थिए | उसले पनि गाउन सिक्यो | गाउन सिक्नु नयाँ र आनन्दप्रद थियो | जेहोस् सङ्गीतसित त्यो पहिलो साक्षात्कार भएपनि ऊ अन्धभक्त भजने भएन |
नेता कराई कराई भाषण गरिरहेको थियो | भाषण रमाईलो थियो | सुनेर सुनेर भाषण व्याख्या गर्न सिक्यो | भाषण मान्छे झुक्क्याउने र झुकाउने नाटक |
ब्यापार उसले नियालेर हेर्यो | सिक्न चाह्यो , अपार रहेछ |
खेती पसिनाले सिंचित हुँदोरहेछ | पसिनाको मोल नपाईने पेसा...सित्तै पसिना किन बगाउने ?
उध्दोगको आधारै  खडा भएको छैन | के कुरा गर्नु ?... मानिसहरुको सोच !
परिश्रमै नगरी मनमौजी जीवन सबैको ध्येय | ब्यापार, खेती, उध्दोगले श्रम खोज्छ | कडा श्रम किन गर्ने ? परिश्रम गरे मोती फल्छ ! माहौल कहाँ त्यस्तो छ ?
माहौल मान्छे झुक्क्याउने र झुकाउने फोहोरी राजनीतिको छ |
यस्तो माहौल नबदलिएसम्म देश र दु:खिहरुको जीवन सुखद हुन सक्तैन भन्ने चेत पलाएका देशभक्त युवाहरु पवित्र, कन्चन र जनपक्षीय राजनैतिक माहौल निर्माण गर्न लागिरहेका छन् | ऊ पनि ति युवाहरूसँग मिसिन्छ |
२०७४ जेठ ७ ,धरान
https://chhinaamakhu.blogspot.com/

Lempuyang Temple, Bali

Saturday, May 13, 2017

८६.(लघुकथा) सुन्दर शान्त विशाल

(लघुकथा)
सुन्दर शान्त विशाल

सरण राई

सबै मानिसहरु जागिसकेका छन् | उनीहरु कसैको अन्ध्रसमर्थक, अन्धभक्त र अविवेकी पिछलग्गु छैनन् | आफ्नो अन्तरमनको पुकार अनुसार स्वविवेकले निर्णय गर्छन् | आफ्नो दायित्व निर्वाह गर्छन् |
केहि समय अगाडी त्यस्तो थिएन | मानिसहरुलाई लोभलालचमा फसाएर फटाहाहरुले राज गरिरहदाँ मुलुक गरिबी , भ्रष्टाचार , अराजकता र प्रतिगमनको दलदलमा फसेको थियो | सबैतिर निराशा व्याप्त थियो |
समय गतिशील हुन्छ | समयले आफ्नो अनूकुल वातावरण बनाउँछ | युवाहरुले दल र नेताहरुको पछी लाग्दालाग्दा थाहा पाए-- 'दल र नेताहरुले आफूभित्र रहेको सकारात्मक भन्दा नकारात्मक कुराहरुलाई बढावा दिईरहेका छन् |'  युवाहरु ति दल र नेताहरुको सकारात्मक कुराहरुको अनुशरण गर्छन् | मानिसहरुलाई पनि सकारात्मक कुराहरुको अनुशरण गर्न प्रेरित गर्छन् | बिस्तारै सकारात्मक कुराहरु समाज र देशमा चारैतिर व्याप्त हुन्छ | नकारात्मक प्रतिगामी दल र नेताहरु स्वत: विस्तापित हुन्छन् |
मानिसहरु सकारात्मक कुराहरुको प्रभावले परिश्रमी, इमानदार, लगनशील , प्रसन्न र आशावादी हुन्छन् | फटाहाको पछी कोहि हुँदैनन् | सबै मानिसहरु सकारात्मक भएपछी मुलुक विकासको गतिमा तीव्र गतिले अघि बढ्छ | सबै शिक्षित,सभ्य, सम्पन्न, शिष्ट र सक्रिय हुन्छन् | सकारात्मक प्रतिफल प्राप्त हुन थाल्छ |
मुलुक सुन्दर, शान्त, विशाल, समृध्द र विकसित बन्छ |

२०७४ वैसाक ३१, धरान
https;//chhinaamakhu.blogspot.com/
Image may contain: 2 people, people sitting

Tuesday, May 9, 2017

८५.(लघुकथा) शङ्काको पहरा

(लघुकथा)
शङ्काको पहरा

सरण राई

म अस्पतालको जनरल वार्डमा कुरुवा बसेको छु | छेउको पल्लो बेडको बिरामीलाई उसको कुरुवाले टोइलेट लिएर गएको छ |
बेडमा वेवारिसेझैँ निकै महँगो मोबाइल सेट लडिरहेको छ | कामदार आएर तन्ना फेर्छिन् | मोबाइल सेट यताउता सार्छिन् | आफ्नो काम सकेर उनी जान्छिन् | म मोबाइल सेट देख्तिनँ | मेरो मनमा शङ्काको पहरा बन्छ | मोबाइल सेट पक्कै पनि कामदारले लागेको हुनुपर्छ |
बिरामी र कुरुवा फर्किन्छन् | मोबाइल सेट नपाउँदा हल्लीखल्ली मच्चाउँलान् भन्ने म सोचिरहेको हुन्छु |
तर उनीहरुले त्यस्तो केहि गरेनन् | म उनीहरुको गतिविधि ध्यानपूर्वक हेरिरहेको हुन्छु | सिरानी मुनिबाट बिरामीले मोबाइल सेट झिकेर हातमा लिन्छ |
मेरो छट्पटिएको मन शान्त हुन्छ | तर मेरो पापी मन ...कसरी गरिब कामदारमाथि शङ्का गर्न पुग्यो ? म आफैलाई धिक्कार्छु --'गरिब भएकैले ऊ काम गरेर पेट पालिरहेको छ | इमानदार भएकैले गरिब छ | किन मेरो मन गरिब इमानदार कामदारप्रति शङ्कालु भयो ?'

२०७१ चैत ३० , मेडिकेयर अस्पताल
https://chhinaamakhu.blogspot.com/




Thursday, May 4, 2017

८३.(लघुकथा) ठेली

(लघुकथा)
ठेली
सरण राई
सैदान्तिक ठेलीका ठेली पढेर उनीहरु राजनैतिक विश्लेषक र नेता भए  | मान्छेलाई कन्भिन्स गर्न र पिछलग्गु बनाउन खप्पिस उनीहरुले अनेकौ सपना बाँढेर पुरानो व्यवस्थाको चिहानमा नयाँ व्यवस्था ल्याए | मान्छेहरु आफुलाई देखाइएका सपनाहरु पुरा होलान् भनेर हर्षित भए |
नयाँ व्यवस्था भनिए पनि त्यहाँ पुरानै कुराहरुको हालीमुहाली भइरहेको छ |सैध्दातिक ठेलीमा लेखिएका केहि लागु भएको छैन | ठेलीमा लेखिएका सैदान्तिक विचार, र आस्था धुलिसात भईसकेकोले नेता ठग भैसके भन्ने मतदाताको विचार बन्दै गएको छ | उनीहरु चुनावमा मतदाता भुलाउन सकस भैरहेको महसुस गर्छन् |
उनीहरुलाई फेरि मतदाता भुलाउन सैदान्तिक ठेलीको आवश्यकता महसुस हुन्छ | बिर्सिसकेको ठेलीहरु खोजेर निकाल्छन्  | ठेलीहरु मुसाले काटेर , धमिराले खाएर,माउ लागेर  प्वालै प्वाल परेको-फाटेको कामै नलाग्ने जीर्ण भइसकेका  रहेछन्  |
२०७४ वैशाक २१, धरान
https://chhinaamakhu.blogspot.com/

Giant Water Lilies in Brazil

Tuesday, May 2, 2017

८२.(लघुकथा) भल-बाढी

(लघुकथा)
भल-बाढी
सरण राई
खेत खोलाको छेउमा भएर पनि खेती गर्न जहिले पनि पानीको अभाव | सम्पत्तिको नाममा भएको एउटा खेत | कति पटक उसले कुलो खन्यो , केही दिनमै भल-बाढीले बगाएर उस्ताको उस्तै | अन्न फलाएर सम्पन्न बन्ने उसको सपना | हराभरा लहलह बाली कल्पना मात्र | भदौरे भल-बाढीले बगाएर खेतको नामो निसान केही रहेन | जिलो सकियो ! लन्ठै साफ ...
जीवन हो ! कसको पो चिताऊ पुगेको छ र !
+ + + + + +
जे गरेर पनि पैसा कमाउने उसको उद्देश्य | अनेक परिश्रम , दु:ख अनेक काम गर्दा पनि पैसा कमाउन सकेन | ढल्कदो उमेर भैसक्यो, के गरौँ ? भ्रष्टाचारी गिरोहसँग साँठगाँठ गरेपछि पैसा बर्सन थाल्यो | पैसा , पैसा थुप्रियो | पैसामा बस्यो, पैसामा सुत्यो | पैसाको भल-बाढी ! अहा ! अब भने उसले चिताको पुग्छ होला ...! हाँकेको ताकेको पुग्छ होला ! जीवन रमाइलै रमाइलो होला !
तर पैसाको भल-बाढीले बगाएर भ्रष्टाचारी गिरोहसँगै उसलाई पनि जेल पुरायो |
छ्या पैसा ! असल जीवन गुजार्न कहाँ काम लाग्यो र !
२०७४ वैसाक १९ , धरान
https://chhinaamakhu.blogspot.com/

Mira Rai - Trail Running Nepal
Trail Running Nepal249 × 332Search by image
mira rai nepal running chamonix france

Image result for picture of nepal