(लघुकथा)
मायाकाे राप
सरण राई
सधैंझैं लाेग्ने बिहानै प्रभाति हिँडाइमा गएकाे थियाे । फर्कदा झरि सिमसिमाउन थाल्याे । सिमसिमे झरिमा अलिअलि रुझ्दै ऊ हिँडिरह्याे । झरि झन् बढि दर्किन थाल्याे। ऊ अलिक बढि भिज्याे । झरि राेकिनकाे सट्टा झन बढि पर्न थाल्याे। भिजि त गइयाे, दगुरेर गए भने दस मिनटमा धर पुगिहाल्छु भनेर ऊ दगुर्नु थालेकाे थियाे । असिना पाे बर्सिन थाल्याे। अब भने ओत नलागि धर पाएन। असिना करीब पाँच मिनट पर्याे । असिना थामिए पछि दर्के झरिमा सर्वाङ्ग भिजेर घर पुग्याे ।
स्वास्नी छाता बाेकेर पर्खिरहेकी थिई । भनि -- " छाता लिएर लिन आउन लागेकी तर कता आउनु ? अल्मलिएर ... सब भिजेका लुगा जुत्ता माेजा बाहिरै खाेलेर मात्र काेठामा पस्नू । कार्पेट मैलिन्छ ।"
"लाेग्नेभन्दा कार्पेट प्याराे !" उसलाई झडङ्ग रीस उठ्याे ।
हिँउद याम , बेमाैसमकाे झरिमा रुझेर ऊ जाडाेले लगलग काम्दै नाङ्गै भएर काेठामा पस्याे । काम्दै साेफामा बस्याे। चिसाेजाडाेले दाँत कट्कटि बज्न थालेकाे थियाे। स्वास्नीले कम्बल उसकाे पूरा शरीर ढाक्ने गरी ओढाई । अलिक न्यानाे भयाे । उसलाई अधवैशे जिउँ निमाेनिया हुन्ङ कि डर लागि रहेकाे थियाे ।
यस्ताे बेला एक कप ताताे चियाखान पाए भन्ने ऊ साेचिरहेकाे बेला गिलास, थर्मस र ह्विस्किकाे बाेतल लिएर पत्नी आई ।
उसले रक्सि नखाओस् भनेर ह्विस्किकाे बाेटल पत्नीले लुकाई दिएकी थिई । उसले पनि रक्सि छाेड्न थालेकाे थियाे । टि टेबलमा गिलासमा ह्विस्कि राखेर थर्मसकाे ताताे पानी थाेरै मिसाएर " लु खानुहाेस् ! " भन्दै दिई ।
उसले लगलग काम्द गरेकाे हातले गिलास उठायाे । एक चुस्कि खायाे ।
यति ठूलाे संसारमा मलाई माया गर्ने काेही एक जना त रहेछ ... उसकाे मन रापिएर आयाे । आँखा रसायाे , टलपल भयाे ।