Friday, August 12, 2016

४८.(लघुकथा) छवि

(लघुकथा)
     छवि

सरण राई

निकै वर्ष सँगसँगै काम गरेको साथीको मृत्युमा  म पनि मलामि जान्छु ।
चितामा उनको लास राखिन्छ । उनको सुन्दर अनुहार रोग, बुढेसकाल र ढाँट बानीले कुरूप बनाएको छ । त्यसमाथी उनको किच्च निस्किएको दाँतले गर्दा लास घिनलाग्दो देखिएको छ । लास एकै क्षणमा डढेर सकिने छ | उनको किच्च दाँत देख्दा मलाई लाग्छ ङिच्च परेरै उनी पनि गए ।आखिर...
 मान्छेहरुको मनमा कस्तो  छवि परेको  छ , त्यो पो अर्थपूर्ण हुँदो रहेछ |
 धेरै वर्ष पहिले हामी सँगसँगै काम गर्दा हामी मध्येबाट  एकजना माथिल्लो पदमा छानिने अवस्था थियो । मैले उनलाई सोध्दा “म त्यो पद खान्नँ ” भन्दै मेरो खुट्टा नै छोउलाझैँ गरी उनले कसम खाएका थिए । उनले त्यो पद नखाने भए पछि  मैले नै त्यो पद पाउँछु भन्ने लागेको थियो । अनेक तिकडमहरू बीच पछि उनले नै  त्यो पद खाए । म हिस्स परेँ ।
उनको जलिरहेको चिता हेर्दै नसोचौँ भन्दाभन्दै पनि म सोच्न पुग्छु— “ब्यर्थै ! ब्यर्थै मानिसहरू झुठो, धोकाधडी, फरेब, तिकडम, जालझेल, कपट, बेइमानी, षडयन्त्र, भ्रष्टाचार, चोरी अनेक गर्छन् तर अन्तमा जाँदा.... घृणित भएर जान्छन् !”

२०७३ साउन २४, धरान


No comments:

Post a Comment