(लघुकथा)
अन्तिम निष्कर्ष
सरण राई
मलामी नपाएर कर्कश झगडालु आईमाइले आफ्नाे मरेकाे लाेग्नेलाई डाेकाेले छाेपेर राखेकाे र साे लास पछि डाेके च्याउ भई उम्रेकाे "किरात लाेक कथा" छ ।
साँच्चै मलामी कति हुन्छन् ? आफू मरेकाे कल्पना गरेर साेच्दा आफ्नाे लाेकप्रियता थाहा पाइन्छ भनेर डेल कार्नीजीले भनेका सत्य हुन् । ता पनि मरेपछि ...
मलाई सम्झना आउँछ एउटा विस्मृतिमा हराई सकेकाे मृत्यु ।मेरी पत्नी आई.सि.यु.मा थिई मर्नु र बाँच्नुकाे दाेसाँधमा । त्यहाँ एकजना ७७ वर्षका वृध्द थिए सिकिस्त । डायलाइसिस गरे बाँच्न सक्छ डाक्टरकाे परामर्श । तर छाेराहरूले गराएनन् ।बरु भेन्टिलेटरमा राखे । भेन्टिलेटरमै वृध्दकाे देहान्त भयाे ।
डायलाइसिस !
हप्ताकाे दुईपटक चार चार घण्टा । साह्राे हुँदै गएमा अझ हप्ताको तीन पटक पनि ! डायलाइसिस गराउन लैजा, ले, बिरामी स्याहार, बिरामी जति दिन बाँच्छ झन्झटै झन्झट ।पैसाका साथै समयकाे वर्वादि !
डायलाइसिस ! उधाराे जिन्दगी ! बिरामी जिउँदाे रहुन्जेल सबै परिवारलाई बाेझ ! डायलाइसिस भन्दा घाट जानू लानु सजिलाे !
जिउँदाेलाई स्याहार्नु, मद्दत गर्नु, सम्मान गर्नु भन्दा सजिलाे काम मलामी जानू । मलामी जानु मृतकप्रतिकाे अन्तिम सम्मान त हुँदै हाे, आफ्ना लागि पनि मलामी जम्मा गर्नु हाे ।
मरेपछि खुरुखुरू लास हिँडेर घाट नजाने भएर नै लास तह नलाए कुहेर गनाएर प्रदुसन बढाउने अझ जिउँदा मान्छेकै इज्जत जाने भएकाेले मलामी चाहिने हुन्छ । त्यसैले भनिएकाे हाेला-- जिउँदाकाे जन्ती मर्दाकाे मलामी !
मन बुढाे हुँदैन भन्थे तर मेराे मन भने बुढाे भएछ कि मृत्यु र मलामीबारे मात्र साेच्न थालेकाे छ। याे शुभ कि अशुभ ? कि समयकाे/जीवनकाे अन्तिम निष्कर्ष !

२०७७ फागुन १९



No comments:
Post a Comment