Tuesday, January 24, 2017

६०. (लघुकथा ) सन्देश


(लघुकथा)
सन्देश

सरण राई

भुँइ युवा थिएँ । सर्वाेच्च पुग्ने कसरी?
व्यक्ति हत्याकाे राजनीति पनि थियाे । समयकाे आवश्यकता थियाे कि ! लागियाे मनकाे आक्राेस असन्ताेष बाेकेर । कैयाैं मारिए, मरे । म भने जेल परेँ ।मलाई थुन्ने व्यवस्था ढल्छ ।
जेलमुक्त हुँदा पढ्ने लेख्ने सिक्ने उमेर बितिसकेकाे हुन्छ ।
मभित्र भएकाे गरिबी अयाेग्यताहिनताकाे बावजुद सर्वाेच्च मात्र देख्न थाल्छु ।
अनुकुल समय ! चुनाव जित्छु ।
महत्वाकाङ्क्षा सवाेच्च हुने-पुग्ने । म भन्दा अगाडिकाे सर्वाेच्चमा पुगेकाेले के के गरे ? मैले पनि अनुसरण गरेँ । एउटा गुन्डा झुन्ड, नक्कली आदर्श सिध्दान्तकाे कुरा सब सब गरेँ । अभाव थियाे पैसाकाे ।
पैसा आयाे अज्ञात स्राेतहरूबाट । पैसाकाे छेलाेखेलाे ! पैसाकाे खाेलाले म डान नेता भइसकेछु । युवा कालमा गरिबीकाे दुख भाेग्दा समान न्यायपूर्ण व्यवस्थाकाे सपना हरेक युवाहरूले झैँ मैले पनि देखेकाे थिएँ । डान नेता ! सबतिर सफलता ...सर्वाेच्च पुगेँ , सर्वाेच्च भएँ । देशकाे लागि केहि गर्न चाहे पनि केही गर्न नसक्ने म, मलाई त विदेशीले गुलाम बनाएर सर्वाेच्च बनाएका रहेछन् । म उनीहरूकै बाेली बाेल्छु, उनीहरुले भुक्न लगाए भुक्छु । आफ्नै देशवासीहरूलाई टाेक्छु ।
म हिराे, सुपरहिराे ! सर्वशक्तिशाली मलाई बनाईएकाे रहेछ देश बेच्न सक्ने ।
पाल्तु म ! देशकाे नक्सा काटेर छिमेकीले आफ्नाे नक्सामा मिसायाे । भुक्नै सकिनँ। बाेल्नै सकिनँ । संसदमै देश बेच्ने प्रस्ताव पास गर्न नसक्ने मेराे अवस्था ...
मुला काेराेना काेविद १९, पहिला जस्तै विदेश गएर उपचार गराउने इच्छा पुगेन । धन्न, पहिलाकाले बनाएकाे अस्पताल मलाई काम लाग्याे ।
देशवासीहरूका लागि कुनै अस्पताल बनाईनँ । असल शिक्षा संस्कार र असल राजनीतिकाे थालनी गरीनँ । गरेकाे भए याे संकटमा सबैलाई काम लाग्थ्याे । म आफैलाई पनि काम लाग्थ्याे ।
धेरै पल्ट अन्तरपुकार मरेर मारेर धेरै पल्ट मरेकाे काेही छ ? भनेर खाेज्ने हाे भने ...
राष्ट्रघात गरेर म मरेँ, सिध्दान्तच्युत भएर म मरे, भ्रष्टाचारी भएर म मरेँ ... कति पटक मरेँ, मरेर सर्वाेच्च बनाईएकाे रहेछु ।
मरेर जति माथि सर्वाेच्च पुगे पनि मेरा काेही रहेनछन् । उनीहरूलाई मुलुक दिलाउन नसकेपछि उनीहरूका लागि पनि म बेकार भएछु । लाशकाे मित्र काे हुन्छ र ? सिनु भई गनाईरहेकाे म ... सर्वाेच्चमा सिनु !
सिनुलाई काेराेना नलागाेस भनेर पिपीइ, चस्मा पन्जा सेनिटाइजर सब सब दिलाएकाे छु । तर मलाई शंका लाग्छ मेरा भराैटेहरूले कमिसनका लागि ल्याएका यी बस्तुहरू पनि नक्कली हुन् कि !
सब सर्वसाधारण मरेभने जति नै माथि सर्वाेच्चमा रहे पनि सिनु म पनि तुरिने सकिने छु । याे दिव्य सन्देश काेराेना काेविद १९ ले सम्प्रेसन गरिरहेछ ।
भुँइमान्छेभन्दा माथि जतिसुकै सर्वाेच्चमा पुगे पनि भुँइमान्छे सर्वसाधारण आममान्छेसँगै मान्छेकाे अस्तित्व जीवन मरण गाँसिएकाे हुन्छ ।
अहिले म थाहा पाइरहेकाे छु ... भुँइमान्छे सर्वसाधारण आममान्छेभन्दा माथि कुनै सुरक्षित उचाइ हुँदैन छैन। भुँइमान्छे सर्वसाधारण आममान्छेकाे लागि जाे बाँच्छ उसले पटक पटक मर्नु पर्दैन ।
🔴
२०७६ वैशाख ४, धरान
🔥☯️🔥





No comments:

Post a Comment