Sunday, July 31, 2016

४४.(लघुकथा) पाेखरी -२

(लघुकथा)
पाेखरी -२

सरण राई

पाेखरी कि समुद्र ?
संसारभरि नै यस्ता फाेहाेरी राजनीतिकाे पाेखरीहरू छन् । संसारकाे कुराभन्दा आफ्नै देशकाे आफ्नै स्थानीय स्थानकाे कुरा गराैँ कि ...
के गर्नु र ? कुराकै दु:ख...
तपाईं पनि पाेखरीभित्र डुबेर निस्कनु भएकाे रहेछ । यथास्थिति समर्थक...
हा हा हा ... कस्ताे पाेखरी?
पाेखरी पवित्र हुन्छ । पाेखरी हाेइन आहाल... फाेहाेरी राजनीतिकाे आहालमा जहाँ नडुबी राजनैतिक नियुक्ति , दलकाे सदस्यता, कर्मचारीले बढुवा पाउदैनन् । आहालमा डुबेर निस्कनेहरूले सबै कब्जा गरेका छन् । सत्य र न्यायकाे कुरा ओझेलमा पार्ने भएभरकाे शक्ति लगाउन उद्दत छन् ती मैलिएका फाेहाेरीहरू ...
कुटाइ खानुहाेला, सेना प्रहरी प्रशासन सब त उनीहरूकै पकडमा छ ...
कुटाइ, बुठलाठी जेलनेल भिजिलान्ते अनेक प्रयाेग गरेर पनि तानासाहहरू टिक्ने बल गर्छन् नि । तर तीनीहरू सकिन्छन् नै ...
ती सकिए पछि पनि त्यस्तै त आउछन् नि ...
हाे, ठीक विश्लेषण ! त्यसैले फाेहाेरी राजनीतिकाे आहालै पुर्नु पर्छ । त्याे आहाल पुरिए पछि भ्रष्टाचार , राष्ट्रघात, बेइमानी , झुट छलकपटकाे फाेहाेरी राजनीतिकाे अन्त हुन्छ ।
पवित्र प्रिय सर्वजनहितायकाे कञ्चन राजनीतिले सबैकाे मुहारमा मुस्कान ल्याउँछ ... ल्याउँछ !
*** *** ***
फाेहाेरी राजनीतिकाे आहालभित्र डुबेर निस्केपछि मान्छे मान्छे रहदैन । मान्छेमा हुने मान्छेप्रतिकाे दायित्त्व र देशप्रतिकाे दायित्त्व प्रेम कर्तव्य विवेक अन्तरआत्माकाे पुकार सब असल गुणहरूकाे अन्त हुन्छ ।
फाेहाेरी राजनीतिकाे आहालभित्र डुबेर निस्केपछि भ्रष्टाचार राष्ट्रघात बेइमानी झुट छलकपट स्वार्थ निचता धाेका षडयन्त्रकाे याैगिक भएर निस्कन्छ । राजनीति गर्छ स्वार्थकाे ! देश बेच्न पनि तयार हुन्छन् । साेच उनीहरूका-- पि. आर. पाइहालिन्छ, देश किन चाहियाे ? उरूङ सम्पत्ति कमाउने र पि. आर. लिने दाउले देश तहस नहस बनाउदै छन् ।
यस्ताे अवस्थाकाे अन्त गर्न फाेहाेरी राजनीतिकाे आहालै पुर्नु पर्छ ।
सम्भव छ ?
सम्भव छ ? भन्दै बस्ने हाे भने देश हराएकाे प्यालेष्टाइनझैँ हुनु पर्ला ।
के गर्ने ? साेध्ने हाेइन देश जाेगाउन जे जे गर्न सकिन्छ गर्ने बेला हाे याे ।
सर्वसाधारण आम मान्छेहरू सर्वशक्तिसाली हुन् । देश र समाज बदल्न असिमीत शक्तिका साथ राजनीतिमा उर्लन्छन् ।
फाेहाेरीहरू आँधिहुरीले उडाएकाे तिन्काझैँ उडेर नष्ट भएपछि मुलुक स्वर्गतुल्य बन्छ...बन्छ !

🔴
२०७७ वैशाख १९ , लकडाउन
https://chhinaamakhu.blogspot.com/
🔥☯️🔥




/ 🔥☯️🔥 सरण राई, पत्नी स्व. लक्ष्मी राई, छाेराहरू शैलेश राई, सायन राई र सृजनसरण राई

४३.(लघुकथा) क्षणिक रमझम


(लघुकथा)
क्षणिक रमझम

सरण राई

महामानव देखिने सपना !
ऊ आफूलाई महामानव देखाउन भनाउन अनेक नाटक हावभाउ गर्थ्याे र गरिरहेछ । तर वास्तविकता उसैलाई थाहा थियाे र छ ।
तीव्र गतिले उकालाे चढ्यो , चढ्दै छ । सर्वाेच्च टाकुरा पुग्याे, सर्वशक्तिमान भयाे, भएकाे छ । तर वास्तविकता उसैलाई थाहा थियाे र छ ।
उसले हिरा माेती सुनकाे उरुङ थुपार्याे र थुपार्दै छ ।
तर वास्तविकता ...ऊ कुण्ठा र हीनताग्रस्त मात्र नभएर इर्ष्यालु विषालु भई रातदिन जलिरहनुभन्दा सुपर बाेसका लागि आफू बिकेर, भिजिलान्टे ग्याङ तयार पारेर,आफै आफ्नाे बखान गर्दै बिग बाेस भएजस्ताे देखिएकाे थियाे । सुपरले उसलाई माथि पुराएकाे थियाे । बिक्ने बिकेकाे बेचिने वा किनिएकाले कही कतै देश र देशवासीकाे हित गर्छ वा गर्न सक्छ ? किनिएकाे मुला केकाे बिग बाेस ?
बिकेकाे मान्छे ! पाेल खाेलिए पछि तीव्र गतिले खाडलमा खस्न थाल्दा उरुङ सम्पत्ति, भिजिलान्टे र नाटक हाउभाउ केही काम नलाग्ने रहेछ । बिकाउ मान्छे केकाे मान्छे ?
फाेहाेरी राजन‌ीति-- चुत्थाे पात्र , चुत्थाे अभिनय, चुत्थाे पटकथा ! चुत्थाे नाटक- फुस्सा ! काम नलाग्ने क्षणिक रमझम !!
🔴
२०७७ वैशाख २१, लकडाउन
🔥☯️🔥



🔥सृजना राई, दुर्गा  राई , सायन राई,सरण राई, लाेकराज राई, शैलेश राई, सप्तलछि राई, काैसीला राई, साञ्जिना राई(काखमा), सामना राई, लक्ष्मी राई, सच्चेन्द्र राई (काखमा) र सृजनसरण राई

Friday, July 29, 2016

४२.(लघुकथा) रकम निकासा

(लघुकथा)
रकम  निकासा

सरण राई

  बाढीपहिरो र भूकम्पपीडितका लागि करोडौं रकम  निकासाको खबरले  मन्त्री, कर्मचारी र राजनैतिक कार्यकर्ताहरूभित्र उत्साहको अभूतपूर्व सञ्चार हुन्छ ।
मन्त्रीले बाढीपहिरो र भूकम्पपीडित क्षेत्रमा हेलिकेप्टरमा चढेर गरिने भ्रमण योजना बनाउन आदेश दिन्छन् । भ्रमणमा जाँदा पाइने स्वागत सम्मान त एकातिर छदैछ त्यो भन्दा गतिलो कुरा पहिला पहिलाजस्तै राम्रै रकम कुम्ल्याउने कल्पनामा उनी मुस्कुराउँछन् ।
कर्मचारीहरू पनि पहिला पहिलाजस्तै बाढीपहिरो र भूकम्पपीडित क्षेत्रमा ‘योे यो वा त्यो त्यो आदि’ विविध कामहरूमा खर्च भएको नक्कली फायल तयार गरेर कति कुम्ल्याउन सकिएला भन्ने कल्पना गरेर मुस्कुराउँछन् ।
राजनैतिक कार्यकर्ताहरू पनि उत्साहका साथ पहिला पहिलाजस्तै बाढिपहिरो र भूकम्पपीडित क्षेत्रमा स्वयंसेवक भएर जान तँछाडमछाड गर्न थाल्छन् । पहिला पहिलाजस्तै सरकारी रकम  निकासाको  कति प्रतिशत  रकम आफ्ना कार्यकर्ताहरूलाई बाड्ने हुन् ? कार्यकर्ताहरू त्यो सित्तै पाइने रकमको कल्पना गरेर मुस्कुराउँछन् ।
अब नेताहरू त यस्ता पुनित कार्यमा पछि पर्ने कुरै हुँदैन । साना नेताले ठूला नेतालाई र ठूला नेताले शक्तिशाली नेतासँग रकम बाँडफाडमा सहयोगी हुन सक्रियता देखाउन थाल्छन् ।
बाढीपहिरो र भूकम्पपीडितहरूका  लागि करोडौं रकम  निकासाको खबरले मन्त्री, कर्मचारी र राजनैतिक कार्यकर्ताहरू बीच उत्साहको जस्तोसुकै लहर उत्पन्न गरे पनि बाढीपहिरो र भूकम्पपीडितहरू बीच त्योे खबरले  कुनै उत्साह उत्पन्न गरेको छैन । किनकि उनीहरूलाई राम्ररी थाहा भइसकेको छ कि सरकार जनताको लागि होइन, कुम्ल्याउनका लागि मात्र हो । यस्ता रकमहरू सरकारमा रहेकाहरूले  सित्तै आफूले खान र सित्तै आफ्ना भिजिलान्तेहरूलाई खुवाउन निकासा गर्छन् भन्ने सर्वत्र जगजाहेर भइसकेकोले उनीहरू सरकारी सहयोगको आशा गर्दैनन् ।

२०७३ साउन १४ ,धरान

Wednesday, July 13, 2016

४१.(लघुकथा) समकालिन बचाइ

(लघुकथा)
समकालिन बचाइ

सरण राई

सम्झना त रहेछ जीवन । म अहिले क्याम्पसमा पढाउदाका समकालीन प्राध्यापकहरूलाई सम्झिरहेछु । सम्झदाँ त्याे बितेकाे दिनहरूले मभित्र सजीव संवेग सञ्चार गरिरहेछ । उर्जा रमणिय !
"त्याे प्राध्यापकले जस्ताे घटिया स्तरकाे १८ वटा टेक्स्ट बुक म लेख्तिनँ । एउटै लेख्छु , खदिलाे ओरिजिनल लेख्छु । म्याटरियल जम्मा गर्दै छु ।" भनिरहन्थे उनी ।
अचानक एक बिहान सुन्छु अब ती प्राध्पापक रहेनन् । उनले भनेकाे ओरिजिनल पुस्तक निस्केन । थकथकि लाग्छ मलाई केही दिन बाँचेकाे भए पुस्तक लेख्थे कि !
'नहुनु मामा भन्दा कानाे मामा जाती' भनेझैँ अर्का प्राध्यापकले घटिया स्तरकै भए पनि १८ वटा लेखे, छपाए । त्यही पुस्तक पढेर कैयाै बिध्यार्थीले परीक्षा पास गरे ।
ती प्राध्यापक अहिले कहाँ छन् हाेला ? चालीस वर्ष ! चानचुन समय हाेइन । उनी जस्तै म पनि सुगा भई सकेकाे थिएँ । एउटै कुरा दाेहाेर्याएर पढाउदा पढाउदा ... शिक्षा प्रणाली नै त्यस्ताे थियाे । खासै अहिले पनि व्यवस्था परिवर्तन भएकाे भनिए पनि प्रणालीगत के परिवर्तन भएकाे छ र ?
आ , 'आग्राकाे कुरा गर्दागर्दै गाग्रा'मा पाे कुरा पुगेछ । घटिया र असल के ? घटिया नै भए पनि नेपाली सरल भाषाकाे पुस्तककाे त्यतिबेलाकाे तात्कालिन आवश्यकता थियाे ।
सधै त के र काे रहन्छ र ? न म न अहिले बाँचिरहेका मान्छेहरू । आज म छु । भाेलि नहुन सक्छु वा हुन्नँ । त्यहि भएर तात्कालिन परिवेशकै लागि केही नगर्नु भन्दा केही गर्नु नै आवधिक समकालिन बचाइ हाे कि !

🔴
२०७७ व‌ैशाख २४, लकडाउन

Friday, July 8, 2016

४०.(लघुकथा) सफा धरती

(लघुकथा)
सफा धरती


सरण राई

शैशवकाल -जीवनकाे सुनाैला अवधि ! २ कक्षामा पढ्ने हामी फुच्चे केटाकेटीहरू पाठशाला नजिक रहेकाे धर्मशालामा रमिते भएर जान्थ्याे ।
जे देखिन्छ नयाँ ! धर्मशालामा नयाँ किसिम किसिमका मान्छेहरू आउथे जान्थे । किसिम किसिमका खाना पकाउथे , खान्थे, जान्थे । ती सब हाम्रा लागि उत्सुकता र नयाँ जानकारीकाे विषय हुन्थ्याे ।
एकजना साधु जाेगी आए । रायाे सागकाे मुठ्ठा निकालेर बडाे जतनसाथ चक्कुले मसिना गरि काटे । काटिसके पछि माडे माडे र निचाेरे । हरियाे रस फालेर पकाए । उभेर रमिता हेरिरहेका हामीलाई फुच्चे ठानेर हाेला धर्मशालामा बस्नेहरूले खासै ध्यान दिँदैन थिए । तर दुरदुर्गम कुनाकाे गाउँ ... त्यतिबेला कहाँ माेबाइल, रेडियाे, टेलिभिजन कम्प्युटर सिनेमा हुनु । ती अनेक यात्रीहरूका क्रियाकलाप नै चाख मानेर सिनेमाजस्तै रमाइलाे मानिमानी हेर्ने गर्थ्याे हामी अबाेध केटाकेटीहरू ।
एक बेलुकि एउटा यात्री परिवारसहित त्याे धर्मशालामा बास बस्न आएकाे थियाे । त्याे धर्मशालाकाे चित्र अझै मेराे मनमष्तिस्कमा सजीव भएर बसेकाे छ । एउटा मात्र फराकिलाे काेठा भएकाे तीनतिर भित्ता र एकापट्टी पूरा ह्वाङ्गै खुल्ला भएकाे झिँगटिले छाएकाे सानाे घर । त्याे यात्री फाेहाेर धर्मशालाकाे छेउकुना सबै सफा गरिरहेकाे थियाे । उसलाई परिवारले पनि सघाइरहेका थिए ।
भाेलि बिहान हामी पुग्दा त्याे यात्री र परिवार आफ्नाे मालताल सामान बाँधेर हिड्न तयार थिए । हिँड्नु भन्दा अगाडि तिनीहरूले पाटी धर्मशालाकाे छेउकुना सबै सफा गरिरहेका थिए ।
हामी मध्ये पाँचमा पढ्ने चामेले साेधिहाल्याे- 'किन सफा गर्दै हुनुहुन्छ ? तपाईँहरू त गइहाल्नु हुन्छ ।'
'हाे । हामी बस्दैनाैँ, गइहाल्छाै । याे पाटी पराेपकारका लागि बनाइएकाे हो । हामी गए पनि यहाँ बास बस्न आउने काेही हुन्छन् नै । उनीहरूकै लागि याे सफा गर्दै छाेँ । हामी हिजाे आउँदा याे फाेहाेर थियाे । अगाडि बस्नेले सफा गरेर गएकाे भए हामी थाकेका यात्री कति खुशी हुने थियाैँ । याे पाटीप्रति हामी नतमस्तक छाैँ। नतमस्तक यसकारण कि यसले हाम्राे अमूल्य जीवनकाे एक रात हामीलाई रमाइलाे बास दिएकाे छ । याे परिवारसँगकाे याे बास हाम्राे जीवनकाे अत्यन्त महत्वपूर्ण रात हाे ।' यात्रीले भनेकाे थियाे ।
त्यतिबेला त सानासाना केटाकेटी हामीले के बुझ्नु र !
अहिले पाे बुझ्दै छु । जाेगीले सागकाे रस निचाेरेर फालेकाे त्याे बेमाैसमकाे सागकाे तीताेपन फालेकाे रहेछ । फेरि जाेगीका लागि तागत आवश्यक पनि थिएन कि ! त्याे यात्रीकाे भनाइ 'मानिसका जीवनका हर दिन हर रात हर पल हर क्षण महत्त्वपूर्ण हुन्छ र ती पलहरूमा आफूलाई आस्रय दिने या जीवन गुजार्न सहयाेग दिनेहरूप्रति कृतज्ञ हुनु पर्छ । आफूले उपयाेग गरिसकेपछि कालान्तरमा अरूका लागि बस्तुहरू वा सुन्दर जगत राम्राे अवस्थामा नै छाेड्नु पर्छ ।'
पुर्खाहरूले छाडेका रमणिय धरती याे पुस्ताले जताभावी दुरूपयाेग गरेकाेले 'सावधान सचेत गराउन' प्रकृतिले 'काेराेना काेविद १९'काे वार्निङ सम्पूर्ण मानव समुदायलाइ दिइरहेकाे छ । 'आफू बाँचेर र अरूलाई पनि बचाएर' / 'सचेत सावधान भएर' / 'प्रकृतिलाई पनि स्वाभाविक प्राकृतिक अवस्थामा रहन दिएर' भावी पुस्तालाइ 'सफा धरती' हस्तान्तरण गर्ने दायित्त्व याे पुस्ताकाे भएकाे छ !
🔴
२०७७ वैशाख २५, लकडाउन
🔥☯️🔥

Saturday, July 2, 2016

३९.(लघुकथा ) सही बाटाे

(लघुकथा)
सही बाटाे

सरण राई

''हामी सर्वकालिक बिजेता बन्न हिँडिरहेका थियाैँ र छाैँ । हामीभन्दा बलियाे सिंह बाघ भालु हात्ती जस्ता जानवरहरूलाई जित्याैँ र सखाप पार्याैँ । प्रकृतिकाे रहस्य खाेज्ने र प्रकृतिलाई परास्त गरेर दिग्विजयकाे दुन्दुभि बजाउन निरन्तर युध्दमा हिँडिरहेका छाैँ ।''
''तपाईँकाे छायावादी कुरा ... बुझ्नै नसकिने ...।''
''पूरा भनिसकेपछि बुझिन्छ ।''
''अँ, उसाेभए पूरा भन्नुहाेस् ।''
''गुफा जङ्गली युगमा सबै जानवरहरू जितेर कृषि औध्धाेगिक र याे वर्तमान युगमा आइपुगेका हामी सर्वशक्तिमान, सर्वज्ञ र सर्वबिजेता भएकाे भ्रममा रहेकाे तथ्य याे काेराेना काेविद १९ ले पाँच महिनाकाे छाेटाे अवधिमा नै पुष्टि गरेकाे छ । हामीसित पृथ्वी सैयाैपल्ट ध्वस्त पार्ने आणविक हतियार क्षेप्यास्र छन् तर याे भाइरससँग लड्ने कुनै साधन छैन । गलत उन्नति, गलत प्रगति ! गलत बाटाेकाे अवलम्बन ! मिठ्या अहङ्कार मानव जातिकाे ।
हामीले हाम्राे विवेक बुध्दि तागत वर्कत गलत कार्यमा केन्द्रित गरेकाे तथ्य अहिले पुष्टि भइरहेछ । नेतृत्व गलत नेतालाई सुम्पेकाले गलत बाटाेमा हिँडाएछन् । पूर्व उज्यालाेतर्फ लाग्नुपर्नेमा पश्चिम अँध्याराेतर्फ लागेकाे थाहा पाउदा पनि नेतृत्व अझै सजग नहुँनाले सर्वसाधारण आम मान्छे जाग्ने बेला आएकाे सन्देश काेराेनाले दिइरहेछ ।
बाटाे बिराएका मानव जातिले बाटाे बदलिएन भने सम्पूर्ण मानव संहार हुन सक्ने सन्देश काेराेनाले दिइरहेछ ।
गलत राजनीति- गलत बाटाे !
उन्मत्त सन्की नेता र नेतृत्व युध्दउन्मादि हुन नदिन, सर्वजनहिताय नयाँ दर्शन सिध्दान्त विचार आचार साधा जीवन पध्दति अनुशरण गर्न, असल मानिसकाे नेतृत्वमा असल राजनीति आरम्भ गर्न र गलत बाटाेबाट फनक्कै फर्केर नयाँ विश्व भाइचाराकाे नयाँ बाटाेमा लाग्न, प्रकृतिलाई स्वाभाविक प्राकृतिक अवस्थामा रहन दिन (सावधानीस्वरूप) अनमाेल सन्देश काेराेनाले दिइरहेछ ।
यी कुराहरू अन्धसमर्थक विवेकहीन पिछलग्गुहरूबाट सम्भव हुँदैन । सबै सर्वसाधारण आमान्छेहरूकाे एकता सक्रियताले मात्र याे सम्भव छ ।
सही बाटाेतर्फ युगलाई फर्काउनका लागि युगसापेक्ष सन्देश काेराेनाले दिइरहेछ ।''
🔴
२०७७ वैशाख २६ , लकडाउन


🔥☯️🔥

🔥☯️🔥शैलेश राई , सृजनसरण राई ,सरण राई , लक्ष्मी राई , सायन राई  ,  पिता मछिन्द्रबहादुर  राई   एवं आमा  शिवमाया राई