Wednesday, July 13, 2016

४१.(लघुकथा) समकालिन बचाइ

(लघुकथा)
समकालिन बचाइ

सरण राई

सम्झना त रहेछ जीवन । म अहिले क्याम्पसमा पढाउदाका समकालीन प्राध्यापकहरूलाई सम्झिरहेछु । सम्झदाँ त्याे बितेकाे दिनहरूले मभित्र सजीव संवेग सञ्चार गरिरहेछ । उर्जा रमणिय !
"त्याे प्राध्यापकले जस्ताे घटिया स्तरकाे १८ वटा टेक्स्ट बुक म लेख्तिनँ । एउटै लेख्छु , खदिलाे ओरिजिनल लेख्छु । म्याटरियल जम्मा गर्दै छु ।" भनिरहन्थे उनी ।
अचानक एक बिहान सुन्छु अब ती प्राध्पापक रहेनन् । उनले भनेकाे ओरिजिनल पुस्तक निस्केन । थकथकि लाग्छ मलाई केही दिन बाँचेकाे भए पुस्तक लेख्थे कि !
'नहुनु मामा भन्दा कानाे मामा जाती' भनेझैँ अर्का प्राध्यापकले घटिया स्तरकै भए पनि १८ वटा लेखे, छपाए । त्यही पुस्तक पढेर कैयाै बिध्यार्थीले परीक्षा पास गरे ।
ती प्राध्यापक अहिले कहाँ छन् हाेला ? चालीस वर्ष ! चानचुन समय हाेइन । उनी जस्तै म पनि सुगा भई सकेकाे थिएँ । एउटै कुरा दाेहाेर्याएर पढाउदा पढाउदा ... शिक्षा प्रणाली नै त्यस्ताे थियाे । खासै अहिले पनि व्यवस्था परिवर्तन भएकाे भनिए पनि प्रणालीगत के परिवर्तन भएकाे छ र ?
आ , 'आग्राकाे कुरा गर्दागर्दै गाग्रा'मा पाे कुरा पुगेछ । घटिया र असल के ? घटिया नै भए पनि नेपाली सरल भाषाकाे पुस्तककाे त्यतिबेलाकाे तात्कालिन आवश्यकता थियाे ।
सधै त के र काे रहन्छ र ? न म न अहिले बाँचिरहेका मान्छेहरू । आज म छु । भाेलि नहुन सक्छु वा हुन्नँ । त्यहि भएर तात्कालिन परिवेशकै लागि केही नगर्नु भन्दा केही गर्नु नै आवधिक समकालिन बचाइ हाे कि !

🔴
२०७७ व‌ैशाख २४, लकडाउन

No comments:

Post a Comment