Wednesday, April 26, 2017

८०.(लघुकथा) एक छाक

(लघुकथा)
एक छाक
सरण राई
निर्वाचन परिचालन समितिको संयोजकको  हैसियतले निर्वाचन खर्च हेर्ने जिम्मेवारी पनि मेरै हुन्थ्यो | खर्च कम बनाउने हिसाबले उम्मेदवारसँग घरदैलो कार्यक्रममा १५ जना मात्र घुम्ने निर्णय गरेँ |
तर त्यो निर्णय लागु भएन | उम्मेदवारसँग घरदैलो कार्यक्रममा घुम्ने कार्यकर्ता जहिले पनि ५० भन्दा बढी नाघेकै हुन्थ्यो | ,खाना खाने बेला ५० भन्दा बढी नाघेकै हुन्थ्यो | चुनाव भनेपछि विकासोन्मुख देशको चुनाव -- मासु भात खाने भईहाले | साँझमा त कसै कसैले रक्सि पनि खाई हाल्थे |
किन सङ्ख्या घट्दैन ? प्रश्न मनमनै गरे | एकछाके आर्थिक अवस्था रहेछ हाम्रो | एक छाक खान पाए एक दिन बाँच्ने ? जीवन यसरी नै एक एक छाकको जोहो गर्दागर्दै बित्दो रहेछ | उम्मेदवारसँग घरदैलो कार्यक्रममा घुम्ने कोहि बिध्दार्थी थिए, धेरै बेरोजगारहरु थिए | आफै खाना पकाउनु पर्ने , खाना पकाए पनि मासु कहाँ हुने नि ! घुम्दा मासुभात खान पाईने | झण्डा बोक्यो , हिड्यो , हिड्यो | एक छाकको समस्या टर्यो |
फोहोरी राजनीति -- जति धेरै गरिब, लाटागोँङा . निमुखा , भिखमङ्गा, अशिक्षित , अबुझ अथवा एकछाके मतदाता रहिरहन्छ , सस्तैमा भोट किनेर मोजभोज गर्न पाईने | फोहोरी राजनैतिक दलहरुको ध्येय सदैव जनता 'एक छाके' रहिरहुन् र त्यसै अनुरुपको क्रियाकलाप |
एकछाके सर्वसाधारण, एकछाके मतदाता, एकछाके राजनीति ( एकछाक खुवाएर मत किन्ने पध्दत्ति) रहेसम्म के होला र ! मुलुक र राजनीति एकछाके राजनीति , एकछाके अर्थ व्यवस्था र एकछाके समाजभन्दा माथि कहिले उठ्ला ?!
दिक्क लाग्छ एक छाक खान पाए एक दिन बाँचिने यो एक छाके जीवनदेखि , एकछाके प्रवित्तिदेखि ...
२०७४ वैशाक १४, धरान
https://chhinaamakhu.blogspot.com/

 Yak + mountains + golden hour = photo wizardry
Photo courtesy of Steve Wroe

s.wroe_2757

Sunday, April 23, 2017

७९.(लघुकथा) नाम

(लघुकथा)
नाम
सरण राई
पदोन्नतिमा, उम्मेदवारमा, राजनैतिक नियुक्तिमा, समितिहरुमा र अन्य राम्रा कामहरुमा सँगसँगै काम गरेका थुप्रै साथीहरुको नाम लिइयो, भनियो | मैले नाम लिँदा उनीहरुको प्रगति हुन्छ भने किन नाम नलिनु ? म सोच्थे | 'म हुन्छु' भनेर आफैलेआफ्नो नाम  लिनु भएन | र, जस जसको नाम मैले लिएँ, उनीहरुलेप्रगति गरे तर  उनीहरुले झुक्किएर पनि पदोन्नतिमा, उम्मेदवारमा, राजनैतिक नियुक्तिमा, समितिहरुमा र अन्य राम्रा कामहरुमा मेरो नाम लिएनन् | दुखेसो के गर्ने ? म नै योग्य थिइनँ होला |
***
"दु:ख पाएर छिट्टै मर्नेमा आफ्नो वा अरु कोहि एक जनाको नाम दिनुहोस् |" यमराजले सोध्दा सबै साथीहरुले दु:ख पाएर छिट्टै मर्नेमा मेरै नाम लिईरहेका थिए |
ए बास्सै ! साथीहरुले मलाई सम्झेकै रहेछन |
म वास्तविकता मात्रै मान्ने मान्छे भएपनि सपना चाहीँ कस्तो कस्तो देख्छु | बाल्यकालमा परेको अन्धविश्वासको प्रभावले होला सपनामा पनि यमराज , देउता , राक्षस आदि धार्मिक आख्यानका पात्रहरु देख्छु |
जेहोस सपनामै भए पनि साथीहरुले मेरो नाम लिए |
२०७४ वैशाक ११, धरान
https://chhinaamakhu.blogspot.com/
The sign to Everest Base Camp 
Photo courtesy of Leigh Barnes

Leigh Barnes - Everest BC

Saturday, April 22, 2017

७८.(लघुकथा) उम्मेदवारको ताँती

(लघुकथा)
उम्मेदवारको ताँती
सरण राई
चुनाव हुनु कहाँ छ कहाँ ! उम्मेदवारको ताँती लागेको छ |
उम्मेदवारहरुको ताँतीमा रहेका उनीहरुको अनुहार सरसर्ती हेर्छु | प्रायजसो सबैलाई पहिला नै देखेको हुँ |
उम्मेदवार नं १-- गाउँघरमा कुखरा चोरेर छिमेकीहरुको कुटाई खाई स्वघोषित गाउँ निकाला भएका व्यक्ति रहेछन् |
उम्मेदवार नं २-- चोरी, गुण्डागर्दी, बलात्कार, हत्या जस्ता जघन्य अपराधको मुद्दा लागेका ऊ सजायबाट बच्न ठुलो पार्टीमा प्रवेश गरेर नेता कहलाईएको व्यक्ति रहेछन् |
उम्मेदवार नं ३ -- लोकसेवाको परीक्षामा फेल भएका तर वैदेशिक रोजगारको धन्धा चलाएर दुनिया झुक्याई पैसा कमाउन सफल भएका व्यक्ति रहेछन् |
उम्मेदवार नं ४ -- प्रशासन, पुलिश र कालाबाजारियाहरुको दलालको भित्रि काम गर्ने तर बाहिर देखाउदा भने पार्टीको पूर्णकालीन कार्यकर्ता भनाउदो व्यक्ति रहेछन् |
उम्मेदवार नं ५,६,७,...थुप्रै तर सबैको एउटा मिल्दो जुल्दो उद्देश्य चाहि 'कुम्ल्याउने , रास्ट्रिय सम्पत्ति कुम्ल्याउने' | हुन पनि उनीहरुका आदर्श पुरुष वा नारी (मानव) नेता, मन्त्री र चल्ताफिर्ता कार्यकर्ता सबैले कुम्ल्याई रहेकै छन् |  कोरिया जानेहरुको ताँतीजस्तै कुम्ल्याउनाकै लागि उम्मेदवारको ताँती लागेको छ |
सबै उस्तै छन् | राज्यले असल राजनीति पाएकै छैन | फोहोरी राजनीतिमा यस्तै उम्मेदवारहरुको ताँती लाग्ने हो र लागेको छ |
चुनाव भईहाल्यो भने पनि भोट के दिनु ? भोटकै बेईज्जत !

२०७४ वैशाक १० , धरान
https;//chhinaamakhu.blogspot.com/

Friday, April 21, 2017

७७.(लघुकथा) मतियार

(लघुकथा)
मतियार

सरण राई

सङ्गत काेसित गर्ने ? साथ कसलाई दिने ? कसरी समाजलाई सकारात्मक याेगदान गर्न सकिएला ? ऊ साेच्न थाल्छ ।
उसले कुनै नराम्राे काम गरेकाे छैन । तर पनि उ राष्ट्रघात भ्रष्टाचारजस्ता कामहरूकाे मतियार भएकाे छ ।
''नचाहिँदाे कुरा ? म कसरी मतियार हुन सक्छु ? म सर्वसाधारण आम मान्छे ! म कुनै राष्ट्रघात भ्रष्टाचार माफियातन्त्रसित प्रत्यक्ष संलग्न छैन, तसर्थ मतियार हैन ।''
''भाेट कसलाइ दिनुभयाे ? कसकाे र कुन पार्टिकाे समर्थन प्रचार गर्नु भाे ? पार्टिका नेताहरूका राष्ट्रघात भ्रष्टाचारजस्ता गलत कामकाे विराेध गर्नु भयाे ? माैन बस्नु समर्थन होइन ? पार्टिभित्र सकारात्मक कामका लागि छालफल वा कुरा उठाउनु भाे ? पार्टिलाइ सहि बाटाेमा हिडाउने काेसिस गर्नु भयाे ?''
''हरेक ठाउँमा निरीह सर्वसाधारण म ! पार्टिभित्र पनि नगन्य म ! निरीह म !
म के गर्न सक्छु र ?''
''तर तपाईँ जस्ताहरूलाई राजनीतिमा समाजमा व्यवस्थामा निरीह बनाएर तपाईँहरूकै समर्थन मत शक्तिकाे दुरूपयाेग गरेर राष्ट्रघात भ्रष्टाचार फटाहा नेताहरूले गरिरहेका छन् । त्यसकाे स्वतः भागिदार र मतियार तपाईँ हुनुहुन्छ । मतियार !''
''अहाे कत्राे गल्ती हामी सर्वसाधारणहरूले गरिरहेका रहेछाैँ अन्धसमर्थक भएर । अन्जानमै फटाहाहरूका मतियार भइरहेका रहेछाैँ आफूलाई निरीह सम्झेर । सर्वसाधारणहरूले आफूलाई बलियाे बनाएर आफ्नाे शक्ति आफ्नै लागि सदुपयाेग गरेमा मात्र सर्वसाधारणहरू शक्तिसाली भई सर्वसाधारणहरूकाे भलाे र उन्नती हुने रहेछ । यति बुझेमा देश र समाज राष्ट्रघाति भ्रष्टाचारी धाेकेबाजहरूकाे पञ्जाबाट मुक्त हुने रहेछ ।''
नाेवेल काेराेना काेविद १९ भाइरसबाट जाेगिए जस्तै फटाहाहरूले राजनीतिमा फैलाइरहेका राष्ट्रघात भ्रष्टाचार आदिका भाइरससँग बचेर भावी सन्ततिका लागि देश जाेगाउन सक्छाैँ ।
त्यसका लागि राजनीतिमा पनि लगडाउन आवश्यक हुन सक्छ !

🔴
२०७६ चैत १४, धरान
🔥☯️🔥

Wednesday, April 19, 2017

७६.(लघुकथा) झोले

(लघुकथा)
झोले
सरण राई
सँगै पढेको र पार्टीमा पनि सँगसँगै काम गरेको साथीले राजनैतिक नियुक्ति पाएको देखेर उसलाई पनि लागिपर्दा पार्टीले मुल्याङ्कन गर्दो रहेछ भन्ने भ्रम पर्यो | साथीको मावली,ज्वाई र सशुराली खलक पार्टीको प्रभावशाली नेताहरु थिए भन्ने उसलाई थाहा भएन | र, भ्रम कायम रहिरह्यो | जोडतोडले पार्टी काममा खटियो | सारा समय पार्टीलाई दियो | नदिएर पनि के गर्ने ? नोकरी पाइने होइन | उसले लिएको शिक्षा व्यावसायमुलक जीवनमुखी थिएन | उध्दोग, ब्यापार व्यवसाय केहि जानेको थिएन | ऊ पार्टीको पूर्णकालिन सदस्य भयो |
चुनाव आयो | टिकटको आशार्थी भयो | 'उसले टिकट पाउँछ' भन्नेहरु त्यतिबेला जिल्ल परे जब हिजोको खुँखार पञ्चले टिकट पायो | पञ्चले टिकट पाएको रहस्य पंचायत कालमा कुम्ल्याएको रकमको केहि लाख पार्टीलाई र केहि लाख गोप्य तवरले नेतालाई समर्पण थियो | ऊ निराश भएर शोचमग्न भयो -- 'पार्टीमा यत्रो लामो समय खटेको उसको हैसियत के ?'
गणतन्त्र धनिमानी, सामन्त , बेइमान , भ्रष्ट र विदेशी दलालहरुका लागि आएको रहेछ | पार्टीलाई समय र चन्दा दिँदादिँदा आर्थिक दुरावस्थामा पुगेको उसले आफ्नो हैसियत थाहा पायो | मातापिताभन्दा ठुलो र  प्राणभन्दा प्यारो ठानेको गणतान्त्रिक  पार्टीको वास्तविक हैसियत पनि थाहा भयो |
(यो गणतान्त्रिक व्यवस्थाले उजस्ता युवाहरुलाई अरब ,कोरिया अथवा विदेशमा गुलाम बनाई देशबाट पलायन गराउने राजनैतिक व्यवस्था निर्माण गरेर सामन्तलाई बेरोकटोक शासन गर्ने र शोषण गर्ने स्वर्ण वातावरण निर्माण गरेको रहेछ | असल राजनीति गरेर देश बनाउन चाहने उजस्ता युवाहरुको पार्टीभित्र कुनै हैसियत नहुनाले देश दिनोदिन कुव्यवस्थामा फस्दैछ |)मनमनै ऊ सोच्न विवस छ, विचरा झोले ऊ ... जीवनभर झोले !
२०७४ वैशाख ७ , धरान
https://chhinaamakhu.blogspot.com/

Tuesday, April 18, 2017

७५.(लघुकथा) हार


(लघुकथा)
हार

सरण राई

त्यो धनमानेले मलाई जिन्दगीमा यति धेरै दुःख दियो कि मेरो जिन्दगी नै नरक भयो । जेल बस्नु पर्याे, स्वास्नी छोराछोरीहरूसँग छुट्टिनु पर्यो । कुकुरले समेत नपाउने दुःख पाइयो, भनि साध्य छैन । त्यसलाई कुटपिट गर्दै अन्तमा त्यसको ज्यान लिने उद्देश्यका साथ खुकुरी, पेस्तोल र विष बोकेर रातको अन्धकारमा म त्यसको घरभित्र सुटुक्क छिरेको छु ।
‘मलाई चिनिस् ? ए बजिया, धन्माने । म आज तलाई मारेर बदला लिन आएको छु, हा..हा..हा..।’ म डरलाग्दो अट्टहास हाँसो हाँस्दै त्यसको कठालो समात्छु ।
‘अँ..अँ..तँ.. ह् ह..ज्जुर.. काले ..।’
‘अँ, काले होइन तेरो काल , कति दुःख दिइस्, त्यसको बदला लिन आएको..।’
उसको चालढाल र अनुहार नियाल्छु, त्यहाँ कहाँ पहिलाको धनमानको फूर्तीफार्ती र रूपरङ्ग थियो । म जस्ता धेरैलाई अन्याय र अत्याचार गरेर कमाएको बैभवले उसलाई सुख दिएको रहेनछ | भिजेको मुसो जस्तो, प्यारालाइसिस भएर राम्ररी उभिन पनि नसक्ने, दुब्लो अहिले नै मरिहाल्छ कि जस्तो । म सन्तोष मान्छु |
उसको त्यस्तो हालत देखेर मैले खुकुरी, पेस्तोल र विष केही पनि निकाल्न परेन । मैले सोचेको थिएँ — विष कि खुकुरी वा पेस्तोल ? कुनै एक रोज्न लगाएर त्यसैद्वारा मार्ने । उसको त्यस्तो अवस्था देखेर म उसको कठालो छाड्छु ।
ऊ डङ्ग्रङ्ग लड्छ, केही हलचल गर्दैन । छाम्छु ऊ त मरिसकेछ ।
बदला लिनका लागि जीवनभर तड्पे । सबै तयारी पूरा गरेर पनि म हारेँ । अन्तिममा पनि उसैले जित्यो !
🔴
२०७०चैत १२, बुधबार, धरान
🔥☯️🔥

(सरण राई , लक्ष्मी राई , पवित्रा राई र मुलुक्राज राई )मनकामनामा२०७२को महाभूकम्पपछी२०७३ )


Sunday, April 16, 2017

७४.(लघुकथा) अन्तिम थाेपा

(लघुकथा)
अन्तिम थाेपा

सरण राई

मृत्यु शय्यामा छ ऊ ।
अजम्बरी साेचेर उसले धनमाथि धन थुपार्याे । सम्पत्तिकाे थुप्राे !
पैसाकाे बल ,छल, कपट,बेइमानी, धाेकाधडी के मात्र गरेन उसले !
पार्टीकाे सर्वाेच्च पद, सरकारकाे सर्वाेच्च पद विदेशीहरूकाे गाेटि भएर प्राप्त गर्याे । राष्ट्रधात, भ्रष्टाचार, अन्याय, अत्याचार के चाहीँ गरेन ? देशद्राेहभन्दा ठूलाे अपराध के हाेला ?
राष्ट्रधाती मेडल जनताले दिए । छलि भ्रष्ट दलाल सबै विशेषण पायाे ।
अन्तमा अन्तिम कालमा आफूले गरेका यी निकृष्ट कामहरूले उसकाे आँखामा प्रायश्चितकाे आँसु जम्न खाेज्याे ।
तर अन्तिम अवस्था ! आँखाबाटआँसु खसाउनु त के... अन्तिम थाेपा आँखामा जम्न समेत सकेन ।
....
दर्दनाक मरण !

🔥
२०७६ चैत १५,शनिबार , धरान
🔥☯️🔥


Sunday, April 2, 2017

७३.(लघुकथा) अवस्था


(लघुकथा)
अवस्था

सरण राई

नौ वर्षकै उमेरमा विदेश लगेको छोरालाई लिएर ९वर्षपछि उनीहरू स्वदेश फर्किएका छन् ।
सबै आफन्त इष्टमित्रहरूलाई भेटिरहेका छन् । मलाई पनि भेट्छन् । उनीहरूकै अनुरोधमा केही रमाइला स्थानहरू भ्रमण गर्छाैँ । उनीहरू विदेश फर्किने दिन नजिक आइरहेको हुन्छ ।
म ९ वर्षकै उमेरमा  विदेश गएर ९ वर्षपछि स्वदेश फर्किएको १८ वर्षिय भदैलाई सोध्छु “हाम्रो देश सानैमा छोड्यौ, अहिले आउँदा हाम्रो देश कस्तो लाग्यो ?”
“राम्रो लाग्यो ।”
“उसो भए यतै फर्केर बस्छौ त ?”
“यतै बस्न त सक्दिनँ ।” स्पष्ट जवाफ ।
उसको जवाफ सुनेर  मलाई देशको अवस्था  बुझेझैँ लाग्छ ।


२०७३ फगुन १४, सुमेरु अस्पताल
Yak train.



७२.(लघुकथा) अंशभाग

(लघुकथा)
अंशभाग

सरण राई

  दार्जिलिङको प्रशिद्ध साहित्यकार ८५वर्षिय पति र ८१ वर्षिय पत्नीको प्रेमिल युगल जोडिलाई देख्दा हामी दम्पति पनि त्यो उमेरसम्म बाँच्न पाए हुन्थ्यो भनेर कल्पिएका थियौँ ।
नभन्दै समयक्रममा ६९ वर्षिय म हेमोडायलाइसिस गरिरहनु पर्ने ६४ वर्षिय पत्नीलाई बारम्बार अस्पताल लगेर कुरुवा भई स्याहारीरहेको छु । यस्तो आफ्नो अंशभागमा परेको जीवन भोगाइदेखि असन्तुष्ट  भएको म मेरो छेउको ३० वर्षिय पति हेमोडायलाइसिस गरिरहनु पर्ने २४ वर्षिय पत्नीलाई स्याहारी रहेको देख्छु । यो देखेर  चित्त बुझाउँछु, सोच्छु— “मेरो अंशभागमा परेको जिन्दगी उसकोभन्दा त राम्रो रहेछ ।”
आफ्नो आफ्नो अंशभागमा परेको जिन्दगी... .!

२०७३ फगुन १२, सुमेरु अस्पताल