Tuesday, April 18, 2017

७५.(लघुकथा) हार


(लघुकथा)
हार

सरण राई

त्यो धनमानेले मलाई जिन्दगीमा यति धेरै दुःख दियो कि मेरो जिन्दगी नै नरक भयो । जेल बस्नु पर्याे, स्वास्नी छोराछोरीहरूसँग छुट्टिनु पर्यो । कुकुरले समेत नपाउने दुःख पाइयो, भनि साध्य छैन । त्यसलाई कुटपिट गर्दै अन्तमा त्यसको ज्यान लिने उद्देश्यका साथ खुकुरी, पेस्तोल र विष बोकेर रातको अन्धकारमा म त्यसको घरभित्र सुटुक्क छिरेको छु ।
‘मलाई चिनिस् ? ए बजिया, धन्माने । म आज तलाई मारेर बदला लिन आएको छु, हा..हा..हा..।’ म डरलाग्दो अट्टहास हाँसो हाँस्दै त्यसको कठालो समात्छु ।
‘अँ..अँ..तँ.. ह् ह..ज्जुर.. काले ..।’
‘अँ, काले होइन तेरो काल , कति दुःख दिइस्, त्यसको बदला लिन आएको..।’
उसको चालढाल र अनुहार नियाल्छु, त्यहाँ कहाँ पहिलाको धनमानको फूर्तीफार्ती र रूपरङ्ग थियो । म जस्ता धेरैलाई अन्याय र अत्याचार गरेर कमाएको बैभवले उसलाई सुख दिएको रहेनछ | भिजेको मुसो जस्तो, प्यारालाइसिस भएर राम्ररी उभिन पनि नसक्ने, दुब्लो अहिले नै मरिहाल्छ कि जस्तो । म सन्तोष मान्छु |
उसको त्यस्तो हालत देखेर मैले खुकुरी, पेस्तोल र विष केही पनि निकाल्न परेन । मैले सोचेको थिएँ — विष कि खुकुरी वा पेस्तोल ? कुनै एक रोज्न लगाएर त्यसैद्वारा मार्ने । उसको त्यस्तो अवस्था देखेर म उसको कठालो छाड्छु ।
ऊ डङ्ग्रङ्ग लड्छ, केही हलचल गर्दैन । छाम्छु ऊ त मरिसकेछ ।
बदला लिनका लागि जीवनभर तड्पे । सबै तयारी पूरा गरेर पनि म हारेँ । अन्तिममा पनि उसैले जित्यो !
🔴
२०७०चैत १२, बुधबार, धरान
🔥☯️🔥

(सरण राई , लक्ष्मी राई , पवित्रा राई र मुलुक्राज राई )मनकामनामा२०७२को महाभूकम्पपछी२०७३ )


No comments:

Post a Comment