Saturday, July 29, 2017

१०५ ( लघुकथा ) राजनैतिक झोले

( लघुकथा )
राजनैतिक झोले
सरण राई
एउटा धनी मानिसको घरमा दिनहुँ एउटा मेत्तर आएर चर्पी सफा गर्दथ्यो |
"यो चर्पी मेरो डेराभन्दा नि ठुलो छ , सफा छ | यो चर्पी सफा राख्ने मात्र मेरो काम हो |" भन्ने सोचेर कहिल्यै त्यो चर्पीमा दिशा पिसाब गर्दैनथ्यो | एकदिन पेट दुखेकोले चर्पी सफा गरिसके पछि उसले त्यहाँ दिशा गर्यो |
धनी मानिसले त्यो थाहा पाएर उसलाई हकार्यो " आइन्दा त्यहाँ दिशा गरिस् भने म तलाई कामबाट निकालि दिन्छु |"
भोलि पल्ट पनि चर्पी सफा गर्दागर्दै उसलाई दिशा लाग्यो | के गर्ने ? हत्तपत्त दगुरेर गई बगैचामा उसले दिशा गर्यो |
सन्च मानेर फर्किरहेको बेला नोकरहरुसँग मालिक आएर उसलाई फेरि हकार्यो " चर्पी त फोहोर पारिस् पारिस् , अब बगैचा पनि फोहोर पार्न थालिस् |" 
"अब भने मेरो जागिर गयो" भन्ने सोचिरहेको उसलाई फरुवा दिएर उसले गरेको दिशा सोहोरेर भर्खरै रोपेको बिरुवाको फेदमा पुर्न लगाईयो | बिरुवालाई मल चाहिएको थियो रे |
मेत्तरले सोच्यो --" राजनीतिमा सधै काम लगाइने राजनैतिक कार्यकर्ता भन्ने झोलेजस्तै रहेछु म | चर्पी सफा राख्ने तर चर्पीमा दिशा गर्न नपाउने | बगैचाको मेरो दिशा पनि मालिकले खेर जान दिएन | राजनीतिमा पनि झोलेहरुलाई राजनैतिक फोहोर मैला सफा गर्न प्रयोग गरिन्छ तर कुनै आसनमा बसाइन्न | अहिले पनि आफ्नो समुदायको मन्त्री कोहि भएनन् भनेर रुवावासी छ | राजनीतिमा रोएर कसैले दिन्छ ? झोलेहरुलाई कसले पत्याउछ ? खोसेर लिन नसक्नेहरु ...मैजस्ता हुन् | हा..हा ..हा ' ऊ मनमनै हाँस्छ |
🦋🦋🦋
https://likedtoday.blogspot.com/
२०७४ साउन धरान

Friday, July 7, 2017

१०४.(लघुकथा) संवाद




(लघुकथा)
संवाद

सरण राई

''समयमा बाेलिएन भने पछुताे हुन सक्छ ।''
''समयमा के बाेल्नु पर्ने ?''
''ल तपाईँ पत्रपत्रिका, सामाजिक सञ्जाल रेडियाे अनलाइन पत्रिकाले दिइरहेकाे लिम्पियाधुरा कालापानी र लिपुलेक, एम.सि.सि.जस्ता खबरहरूमा ध्यान दिनु हुन्न ?''
''ध्यान दिएर के हुन्छ ?''
''ल, फेरि साेध्नु हुन्छ । तपाईँलाई भावी सन्तानकाे माया छैन ? देशकाे माया छैन ? नाति नातिनीहरू सुखी खुसीले स्वतन्त्र बाँचुन् भन्ने चाहनु हुन्न ?''
''चाहन्छु नि । तर किन यस्ताे प्रश्न गरिरहनु भएकाे छ ?''
''राष्ट्रघातीहरूले राष्ट्रघाती काम गरिरहेका छन् । लिम्पियाधुरा कालापानी र लिपुलेक भएकाे नक्सा अझै निकालेका छैनन् । चुनावमा जितेर सर्वाेच्च पदमा पुगे भन्दैमा राष्ट्रघात गर्ने लाइसेन्स पाइन्छ ?''
''ल फेरि प्रश्न प्रश्न नै तेर्साउनु हुन्छ ?''
''प्रश्न प्रश्न त देशकाे स्वतन्त्रता माथि तेर्सिसकेकाे छ । स्वतन्त्र भएर बाँच्ने कि अरूकाे गुलाम हुने प्रत्येक देशवासीहरूका सामु जीवन मरणकाे प्रश्न भएर तेर्सिएकाे छ ।''
''हामीले चुनावमा जिताएकाे नेताहरूले राम्ररी साेचेर नै काम गरिरहेका हाेलान् नि...''
''ल, फेरी तपाईँ राष्ट्रघाती नेताकाे विश्वास गरेर राष्ट्रघाती कामकाे विराेध नगरी बस्नाेस् । राष्ट्रघातीकाे पछि लाग्ने लाेभिपापी बुध्दिजीवी भनाउदाहरू, सांसदहरूले देश डुबाइसकेपछि थकथकि गर्नु चुकचुकाउनु नपराेस् भनेर अहिले नै सारा देशवासी एकजुट भएर राष्ट्रघात विरूध्द उर्लनु पर्छ । भावी पुस्ताका लागि देश जाेगायाैँ भने हामी बाँचेकाे हाम्राे याे जुनी सार्थक हुन्छ !''
अहिले सम्वृध्दि, प्रगति, उन्नतिकाे सट्टा जताततै सुनिने गरिने समसामयिक संवाद हो यो !
🔴
२०७६ माघ ५ , धरान
🌹🇳🇵🌹

Maugham retouched.jpg
William Somerset Maugham
Maugham photographed by Carl Van Vechtenin 1934
BornWilliam Somerset Maugham
25 January 1874
UK EmbassyParisFrance
Died16 December 1965 (aged 91)
NiceAlpes-Maritimes, France
OccupationPlaywright, novelist, short storywriter
Alma materSt Thomas's Hospital Medical School (now part of King's College London), M.B.B.S., 1897
Notable worksOf Human Bondage
The Moon and Sixpence
Cakes and Ale
The Razor's Edge
SpouseSyrie Wellcome (m. 1917;div. 1929)
ChildrenMary Elizabeth Maugham
(1915–1998)
Alan Searle (adopted, 1962)

१०३.(लघुकथा) किर्ना

(लघुकथा)

किर्ना

सरण राई

'एबीसि बचाउ अभियान'का अध्यक्ष र काेषाध्यक्षले बिरामी एबीसिलाई अस्पतालमा रकम हस्तान्तरण गरेकाे तस्वीरले फेसबुक र पत्रिका रङ्गिन मात्र थालेकाे बेला एबीसिकाे मृत्युले काेषाध्यक्ष शाेकाकुल हुन्छे ।
''आ, च्च च्च.. अब धन्दा बन्द भाे । केही दिन बाँचेकाे भए... भर्खर त आम्दानी हुन थालेकाे थियाे ।''
''के कुरा गर्नु भकाे , काम झन सजिलाे । मूर्ति बनाउने भनेर सरकारबाट समेत रकम लिने पर्यटनवृध्दिका लागि भनेर । मूर्ति कराैडाैंकाे बनाउने भनेर व्यापक...''
पाेथी काेषाध्यक्षले प्रसन्न भएर भाले अध्यक्षलाई च्वाप्प 'किस' दिइ ।
... अनि एबीसिकाे विशाल मूर्ति बनाउने परियाेजना उल्लेख गर्दै शाेक वक्तव्य निकाल्छन् ।

🔴
२०७६ माघ ९, धरान
https://chhinaamakhu.blogspot.com/
 
🌹☯️🌹

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्न अनुराेध छ ।
👩‍👧💔



Tuesday, July 4, 2017

१०२.(लघुकथा) दु:खको मुहान.

(लघुकथा)
दु:खको मुहान.
सरण राई
" दु:ख, दु:खसँग अभ्यस्त भइयो | दु:ख भोग्न सजिलो लाग्न थालेको बेला सुखसित साक्षात्कार भयो भने त्यसलाई चिन्न पनि सक्तिनँ होला !'
" साँच्चै कहिल्यै सुख भोग्नु भएको छैन ?"
"खोई, थाहा छैन |"
" बिहे गर्नु भएको छैन ?
"गरेको छु |"
"सन्तान जन्मेको छैन ?"
"छ "
" साथीभाईहरुको माया प्रेम प्राप्त गर्नु भएको छैन ?"
"छ |"
"तिनीहरु सुख होइनन् र ?"
" त्यहि त .दु:खको मुहान भएको छ | दु:खको मुहान.. बिहे, सन्तान, साथीभाई, मनोआकाङ्क्षा आदि आदि ..."

🏺🏺🥂🏺🏺
https://chhinaamakhu.blogspot.com/
२०७४ असार २१, धरान
Giza Pyramids, Egypt 🇪🇬

Saturday, July 1, 2017

१०१.(लघुकथा) मेडल

(लघुकथा)
मेडल

सरण राई

उनले धेर‌ै तक्मा र पुरस्कार बाडे । उनले पनि धेरै मानार्थ सम्मान र पुरस्कार ग्रहण गरे । तर ती सम्मान र पुरस्कारहरू उनले अघाेषित रूपमा पाएकाे मेडलले सदाका लागि अाेझेलमा पारेकाे छ ।

पहिलाेपल्ट जनस्तरबाट पाएकाे मेडल "राष्ट्रघाती" थियाे । त्याे मेटाएछन् भनेर जन जन खुसी थिए ।

तर अन्तमा राष्ट्रलाई गुलाम बनाउने र राष्ट्र बेच्ने उनकाे अन्तिम प्रयत्नले उनले पाएकाे मेडल कायमै राखे ।

उनकाे मरणाेपरान्त पनि ... त्याे मेडलका कारण उनी थुककाे दहमा पाैडिरहेका हुनेछन् । मृत्यु पछि पनि साथ नछाेड्ने डरलाग्दाे मेडल !
🔴
२०७६ माघ १४, धरान
🌹🇳🇵🌹


नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।

🏇🏇

https://chhinaamakhu.blogspot.com/
२०७४ असार १९ , धरान

Monday, June 26, 2017

१००.(लघुकथा ) कुलो

(लघुकथा )
कुलो
सरण राई
खोलाको पानी पनि सामन्तको एकलौटी थियो | कुलो बन्नु पर्छ भन्ने गरिब किसानहरु मिलेर कुलो बनाउन थाले | सामन्त र किसानहरु बीच चर्को झगडा भयो | सब किसानको एकताले कुलो खनियो |
नयाँ कुलो ! पानीको मूल कुलोमा मिसाउदा जताततै रसाउछ,चुहुन्छ | धेरै ठाउँमा भत्कन्छ | पानी खेतसम्म पुग्दैन | सामन्त भन्न थाल्छ " देख्यो , कुलो काम लाग्दैन, भत्काउनु पर्छ |"
कुलो भत्काउन सके शोषण निरन्तर गर्न सकिन्छ भन्ने सोच सामन्तको हुन्छ | सर्वसाधारणको हितमा रहेको नयाँ कुलो विवादास्पद बन्छ | " भत्काउने कि राख्ने ? "
नयाँ कुलो व्यवस्थित बन्दै गएपछि रसाउन चुहुन बन्द हुन्छ | किसानको खेत बारी सिचाई हुन थाल्छ | बालीनाली हराभरा हुन्छ | प्रसन्नता बिपन्न किसानहरुको जीवनमा फैलिन्छ |

🏇🏇
https://chhinaamakhu.blogspot.com/
२०७४ असार १२, धरान


Monday, June 19, 2017

९९.(लघुकथा ) शंकुचित निषेध

(लघुकथा )
शंकुचित निषेध


सरण राई


चुनाव रणघण लागेको छ मानिसहरुलाई | हुलहुल बाँधेर झण्डा पर्चा बोकेर घरघर भोट माग्न घुम्दै छन् | ( पोस्टर छैन | 'मानव संसार' उपन्यासमा मैले चुनावी तामझामको बिरोध गरेको छु,सायद त्यसको पनि प्रभाव हो कि !)
आफ्नै पार्टीको उम्मेदवार पनि आईपुग्छन् | "भोट माग्न घुमौँ !"
"होइन , पर्दैन | दु;ख नदिऊ उहाँलाई |" अर्को नेताको भनाईले मलाई उन्मुक्ति मिल्छ | उनीहरु गइ सकेपछि म सोच्छुँ | सम्झन्छु चोरहरुको ग्याङको चुट्का |
चोरहरुको ग्याङमा एउटा सानो केटो पनि थियो रे | हरेक चोर्ने कार्यमा त्यसलाई संलग्न गर्थे | तर उसलाई बेश्यालय लादैनथे |
उमेरमा प्रजातन्त्र ल्याउने , गणतन्त्र ल्याउने आन्दोलनमा सक्रिय सहभागि भइयो | यो उन्नत व्यवस्था ल्याउन थोरै भए पनि योगदान दिएकोमा सन्तोष अनुभूत हुन्छ | अर्को नेता मलाई निष्क्रिय देखाएर पार्टीमा एकलौटी हालीमुहाली गर्न चाहन्छन् | शंकुचित निषेधको झ्याली खेल खेलि रहन्छन् | (मलाई फोहोरी राजनीतिको बेश्यालय जानु पनि छैन |)
म मामुली सांसारिकता भन्दा माथि उठी सकेको कुरा ति बिचरा अर्को नेता बुझ्न सक्तैनन् | शंकुचित निषेधले सबैभन्दा पहिला आफैलाई निषेध गर्छ भन्ने पनि बिचरा बुझ्न सक्तैनन् |


🐅🐆🐆
२०७४ असार ५, धरान

Saturday, June 17, 2017

९८.(लघुकथा) सपना र जीवन


(लघु कथा)
सपना र जीवन

सरण राई

....मलाई डरलाग्दो मान्छेले खेदी रहेको छ | ऊ धार्मिक कथाको राक्षस , भुत वा डाका लुटेरा हुनसक्छ | हातमा नाङ्गो खुकुरी छ | म चारैतिर कोहि छ कि भनेर हेर्छु , कोहि मद्दत गर्ने मानिस छैन | म भागिरहेको छु , भागिरहेको छु ...ऊ खेदिरहेको छ , खेदिरहेको छ | भाग्दा भाग्दै भीरको छेउमा पुग्छु | अब भाग्ने ठाँउ छैन | ज्यान जाने नै भयो , म पनि आफूसित भएको खुकुरी दापबाट झिकेर लडन तयार हुन्छु | लड्दालड्दै पछाडी सर्दा भीरबाट झर्छु |
के अचम्म ?
मरेँ होला भनेको म त अग्लो घरको तेस्रो तलामा पो हुन्छु | मेरा प्राध्यापक साथीहरु पनि थुप्रै छन् | सम्मेलनबाट फर्किरहेका रे | तल सडकमा हेरेको... 'बन्द' रे | पुलिस र बन्दकर्ताहरु भिडिरहेका छन् | अलिक शान्त भएपछी ओर्लन्छौँ | रात परि सकेको छ | कोहि कता कोहि कता जान लागे | म चाहीँ अब कता जाऊ | अन्यौलमा थिए | " एक छिन पर्खिदै गर्नुहोस है " भनेर गएका हरि सर आउनु भएको छैन | यो परदेसको ठाँउमा रात कता बिताउने होला ? चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ | हरि सर आउनु हुन्छ | अब कता बस्ने ? रात कता काट्ने ? अझ चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ |
अचानक आँखा खुल्छ |
टेन्सन समाप्त | आनन्द लाग्छ | अघिको मैले भोगिरहेको चर्को तनाव सपनामा पो रहेछ | आँखा खोलिनासाथ सपनाको दु:ख, सुख, रमाइलो ,नरमाइलो तनाव आदि ... सब समाप्त !
आँखा खोल्दा सपना समाप्त भएझैँ जीवनमा पाईने दु:ख -सुख , चिन्ता- पीडा, हर्ष-आनन्द अनि सबथोक सबथोक आँखा चिम्लिनासाथ समाप्त ! जीवनका सब वैभव शान शौकत हर्ष-आनन्द का साथ पीडा दु:ख रिस राग द्वेष क्लेश सब सब सपनाजस्तै आँखा चिम्लिनासाथ समाप्त !
मृत्युमा आँखा चिम्लिनासाथ समाप्त !!!
🔴
२०७१ माघ १६ बिहिबार , धरान
|http://facebooklit.blogspot.com/
🌹☯️🌹

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।
😿😿

Tuesday, June 6, 2017

९५.(लघुकथा) भोको पेट

(लघुकथा)
भोको पेट
सरण राई
मेरो बिध्दार्थी कालको कुरा हो | गाउँमा कक्षा सात पास गरेपछि सदरमुकाम बजारमा पढ्न गइयो | फुफु र म एकजनाको घरमा बसेका थियौँ  | चामल र तरकारी किनेर दिएपछि घरापतिले नै खाना पकाएर दिन्थिन् | घरपतिका मसिना नानीहरु थिए | सबैलाई थोरैथोरै दिएर भएपनि पुराउनु पर्ने तिनको बाध्यता थियो होला | भात थोरै दिन्थिन्, थप्दा पनि थोरै | गाउँको घरमा अघाउजी पुटुक्क भुडी उक्सिन्जेल खाने बानी परेका हामी आधा पेट हुन्थ्यो | जतिबेला पनि भोक लागिरहने हुँदा पढाई र खेलकुदमा ध्यान जादैनथ्यो |
एक महिनापछि तिनको सासुकोमा हामी सर्नुपर्ने भयो | सासु कर्कश बोलीका कडा मिजासका थिईन् | ससुराको खुराक धेरै थियो | बिरालोले नाघ्न नसक्ने भात खान्थे | हामीलाई पनि सासुले थुप्रै भात खान दिन्थिन् | अघाउन्जेल खान पाएकोमा हामी मक्ख परेका थियौँ  | जति नै आदर्शका कुरा गरे पनि पेटभरी खान पाइएन भने ति आदर्शका कुरा फोस्रा हुन्छन् | पेटभरी खान दिने हुनाले सासुको कर्कश बोली र कडा मिजास पनि हामीलाई राम्रो नै लाग्थ्यो |
भोको पेटले कोही  पुस्तक पढ्न सक्तैन | त्यो हाम्रो जीवनको पहिलो शिक्षा थियो |
🍒🍇🍉

https://chhinaamakhu.blogspot.com/
२०७४ जेठ २४ , धरान
Blooming Flowers Below Mountains, Alaska, USA

Sunday, June 4, 2017

९४.(लघुकथा) अदना मानिस

(लघुकथा)
अदना मानिस

सरण राई

इच्छा मरण सबैकाे चाहना हुन्छ पाैराणिक कथाका पात्रहरूकाे झैँ ।
के याे सम्भव छ ? प्रश्न मनकाे आयतन ढाकेर फैलन्छ । सम्भव छ । जीवनले यसरी थकाउछ कि मानिसहरू मर्ने इच्छा गर्न पुग्छन् ।
मैले धेरै राेगी बिरामीहरू भेटेकाे देखेकाे छु । मेराे आफ्नै स्व. पत्नी पनि । डायलाइसिस गर्दागर्दा थाकेर मधुमेहका बिरामी तिनले गुलियाे चकलेटअति धेरै खाएर मलाई बिरामी स्याहार्ने झन्झटबाट मुक्ति दिन इच्छा मृत्यु राेजिन् र रुँदै बिदा भइन्। मुटु राेगीहरूले घ्यू बाेसाेयुक्त खाने कुरा खाएर इच्छा मृत्यु राेज्छन् । सबैलाइ इच्छा मृत्यु राेज्ने स्वतन्त्रता हुँदाे रहेछ । सहिदहरू देशका लागि इच्छा मृत्यु राेज्छ्न् ।
म पनि इच्छा मृत्यु राेज्न मन पराउछु । मलाई पनि मधुमेह उच्चरक्तचाप आदि राेगहरूले मृत्युवरण गर्न सहज बनाएकाे छ । इच्छा मृत्यु राेज्न पर्याे भने मुख नबार्ने मनपरी खाएर इच्छा मृत्यु राेज्न सक्छु , तर इच्छा जीवन मेराे हातमा छैन । मेरा धेरै समकालिनहरूझैँ जीवनकाे नियम... मैले पनि जानै पर्छ । तर कहिले र कसरी ?
मुख बारीनँ र इच्छा मृत्यु राेज्दा पनि सहज मृत्यु भएन भने ...
'इच्छा मरण', 'मृत्यु अवस्था', 'बाँच्ने मर्ने'. 'जीवन भाेग्ने सर्त' अदना मानिसकाे वशमा हुँदैन कि ... त्यसबारे केकाे चिन्ता !
म प्रसन्न हुन्छु 'जतिसम्म बाँच्छु त्याे मेराे जीवन' हाे । जीवनकाे नाैरङ्गी अनुपम साैन्दर्य देखेर म मुस्कुराउँछु । अझैसम्म म बाँचेकाे छु ...! सबै हामी घरतीका 'राम्राे काम गरेमा महान् पनि बन्न सक्ने' अदना मानिस !
🔴
२०७६ फागुन १४ , धरान
https://chhinaamakhu.blogspot.com/2017/06/blog-post_4.html?fbclid=IwAR0WUHOpAUdP
🌹☯️🌹



नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह
पुस्तक पढ्नुहुन अनुराेध छ ।
🍒🍇🍉

Tian Tan Buddha: Lantau Island, Hong Kong 🇭🇰

Saturday, June 3, 2017

९३.(लघुकथा) व्यावसायिक ज्ञान

(लघुकथा)
व्यावसायिक ज्ञान
सरण राई
नयाँ ठाँउ नयाँ चलन र व्यवसाय | मलाई पहाडबाट मधेस झर्दा सब अनौठो र नयाँ लागेको थियो | माछा पक्रिने हुँदा पहाडमा जस्तै माछालाई डाँडमा पक्रिदा सिङ्गे माछाले हातमा घोचेर रुनु न हाँस्नु बनाएको थियो | पोलेर सहि नसक्नु भएको बेला स्थानीयले आगोमा सेकाउँदा बिशेख हुन्छ भन्ने ज्ञान दिएको थियो |
मधेसमा रहदै बस्दा मैले पनि कैयौ कुरा सिकेँँ | फरुवा खन्नु , गोरु जोत्नु , आली धुर कस्नु , पैनी कुलो थुन्नु वा ल्याउनु आदि खेतीका कामहरु | भर्खरै पहाडबाट झरेको एक जना लाठे पैनी थुनी रहेको छ | फरुवा पनि राम्ररी चलाउन जानेको छैन | बल्लबल्ल एक फरुवा माटो हाल्छ, पानीले बगाएर लगिहाल्छ | ढुङ्गा खोज्छ, मधेसमा कहाँ पाउनु ?
पैनी थुन्न नसकेर खुईय  गर्छ | मलाई दया लाग्छ र भन्छु "भाई, पैनी थुन्न पहिला किला गाढ़, त्यसपछि पराल वा झयास लगाएर माटो लगाऊ |"
उसले त्यसै गर्छ र पैनी थुनेर रोपाई गर्ने खेततिर पानी लान सफल हुन्छ | व्यावहारिक सीप, व्यावसायिक अनुभव र ज्ञान कति महत्वपूर्ण हुन्छ जुन आफैले भोगेर मात्र प्राप्त गर्न सकिन्छ |
🍇🍎🍐

h२०७४ जेठ २० , धरान
https://chhinaamakhu.blogspot.com/

Fairbanks, Alaska

Saturday, May 27, 2017

९०.(लघुकथा) शिष्ट सम्बन्ध

(लघुकथा)
शिष्ट सम्बन्ध

सरण राई

तिनको मिठो बोलीबचन, शिष्ट व्यवहार र सुमधुर आचरणले तिनलाई चिन्नेहरू सबै प्रभावित भएका छन् | सबैले प्रसंशा गर्छन् |
आधुनिक जुग जमाना | पतिको प्रगतिमा पत्नीको ठुलो भूमिका हुन्छ नै | राजनीतिको सून्य स्थितिबाट सुरु गरेर आज तिनका पति संसद भएका छन् | संसदको चुनावमा पतिलाई जिताउन पनि तिनको उल्लेख्य भूमिका थियो |
चुनावको बेला मकहाँ पनि आएर तिनले भनेकी थिइन् ," चुनाव हार्दाहार्दा दिक्क भइसकियो | यसपालिको चुनावमा जिताउन मदत गर्छौ कि !"
"हुन्छ | हाम्रो नातासम्बन्ध पनि छ | म उहाँको बिरोध नगरी मदत गरौलाँ |" आश्वासन मात्र होइन त्यसै अनुरुप मैले भूमिका निर्वाह गरेँ |
तिनका पतिले चुनाव जितेर सांसद भए | सधैं राजधानी बस्न थाले | तिनीहरुसित तीन वर्ष भेट भएन | फोन गर्दा पनि सम्बन्ध हुन सकेन | टेलिफोन, इन्टरनेटका निशुल्क इमो, भाइबर आदि अनेकौ संचारले जेलिएको आधुनिक युग , उनीहरुले एकपटक पनि मलाई सम्झेनन् | उनीहरुले म अकिन्चन जाबोलाई के सम्झन्थे ? उनीहरुले यसो सोधखोज गरेर टेलिफोनमै हालचाल सोधेको भए उनीहरुको के बिग्रन्थ्यो र ? आफ्नो मानो खाएर बस्नु छ , मैले पनि शिष्ट सम्बन्ध राख्न छाडेँ |
यहाँ नयाँ शिष्ट सम्बन्ध विकास हुँदैछ | आफूभन्दा ठुला शक्तिशालीको चाकडी गर्ने | आफूभन्दा तलका सानाहरुलाई मान्छे नै नगन्ने | हो पनि सानाहरुसित सम्बन्ध राखेर के काम ? चुनावमा भोट किन्न पाई हालिन्छ | गरिब र भीखमङ्गाहरु जति धेरै, उति फोहोरी राजनीति फस्टाउँछ | फोहोरी राजनीतिका फोहोरीहरुबाट राम्रो आश गर्नु ढुङ्गा टुसाउँछ भन्नु जस्तै हो |
सानाहरुलाई नगन्ने शिष्ट सम्बन्धले ठुलाहरू गिर्दा उठाउने कोहि हुँदैन | संकटमा साथ दिने ठुला भन्दा सानाहरू नै धेरै हुन्छन् | सानाहरूले नै दुनिया भरिएको छ | देश ,समाज र व्यवहार सानाहरुले नै चलाएका छन् | सानाहरू बीच शिष्ट सम्बन्ध को कुनै अर्थ छैन रहदैन | म सानाहरू बीच सर्वसाधारण भएर रमाउन बाँच्न सक्नु जीवनकै महत्वपूर्ण उपलब्धि मान्छु | ठुला तिनीहरुले सम्बन्ध नराख्दा मलाई कुनै गुनासो छैन हुँदैन |
२०७४ जेठ १४ , धरान
https://chhinaamakhu.blogspot.com/

Image result for picture of nepal

८९.(लघुकथा) माटाेकाे प्रश्न


(लघुकथा)
माटाेकाे प्रश्न

सरण राई

ध्वनी वायु प्रदुषणबाट बच्न पनि र प्रभातकालिन व्यायाम गर्न म एकान्त शान्त स्वास्थप्रद बिजयपुरकाे उकालाे चढ्छु तर बिहानै डाँडा नै थर्काउने हिन्दी भजन ! बजारकाे भन्दा चर्काे ध्वनी प्रदुषण ! हिन्दी भजनसँगै रुँदैहाेला बिचरा लिपुलेक कालापानी र लिम्पियाधुरा ...
थकित म चिया पिउन चिया दाेकान पस्छु । अङ्ग्रेजी पप गीत कानकाे जाली नै फुटाउने गरी बजिरहेकाे ! MCC ...
अनेक प्रकारकाे प्रदुषण झेलेर घर पुग्छु । परिवारका सबै माेबाइलमा व्यस्त..
लिपुलेक कालापानी र लिम्पियाधुरा , MCC कसैलाइ चासाे छैन । म मात्र किन चिन्तित हुने ?
टेलिभिजन हेर्छु नेता भाषण छाटिरहेछन् कुनै सन्धी सम्झाैता सबै जनतालाई साेधेर पास गरिन्छ ? नेता र विशेषज्ञले विचार गर्ने हाे...
यस्ताे परिवेशमा राष्ट्रप्रेम देशप्रेमकाे भावना कसरी रहला र ...
म आफ्नाे एक्लाे चिन्तनबाट मुक्ति खाेज्न सधै माेबाइलमा भुलिएजस्ता देखिने वयस्क केटा र केटिहरूलाइ साेध्छु-- लिपुलेक कालापानी र लिम्पियाधुरा , MCC बारे थाहा छ ?
सबैकाे जवाफ हुन्छ-- माटाेसँग जाेेडिएकाे प्रश्न... ज्यान दिएरै भए पनि देश जाेगाउनु पर्छ !
🔴
२०७६ फागुन २२, धरान
🌹☯️🇳🇵🌹

Sunday, May 21, 2017

८८.(लघुकथा) माहौल

(लघुकथा)
माहौल
सरण राई
सबै ताली बजाउदै भजन गाईरहेका थिए | उसले पनि गाउन सिक्यो | गाउन सिक्नु नयाँ र आनन्दप्रद थियो | जेहोस् सङ्गीतसित त्यो पहिलो साक्षात्कार भएपनि ऊ अन्धभक्त भजने भएन |
नेता कराई कराई भाषण गरिरहेको थियो | भाषण रमाईलो थियो | सुनेर सुनेर भाषण व्याख्या गर्न सिक्यो | भाषण मान्छे झुक्क्याउने र झुकाउने नाटक |
ब्यापार उसले नियालेर हेर्यो | सिक्न चाह्यो , अपार रहेछ |
खेती पसिनाले सिंचित हुँदोरहेछ | पसिनाको मोल नपाईने पेसा...सित्तै पसिना किन बगाउने ?
उध्दोगको आधारै  खडा भएको छैन | के कुरा गर्नु ?... मानिसहरुको सोच !
परिश्रमै नगरी मनमौजी जीवन सबैको ध्येय | ब्यापार, खेती, उध्दोगले श्रम खोज्छ | कडा श्रम किन गर्ने ? परिश्रम गरे मोती फल्छ ! माहौल कहाँ त्यस्तो छ ?
माहौल मान्छे झुक्क्याउने र झुकाउने फोहोरी राजनीतिको छ |
यस्तो माहौल नबदलिएसम्म देश र दु:खिहरुको जीवन सुखद हुन सक्तैन भन्ने चेत पलाएका देशभक्त युवाहरु पवित्र, कन्चन र जनपक्षीय राजनैतिक माहौल निर्माण गर्न लागिरहेका छन् | ऊ पनि ति युवाहरूसँग मिसिन्छ |
२०७४ जेठ ७ ,धरान
https://chhinaamakhu.blogspot.com/

Lempuyang Temple, Bali

Saturday, May 13, 2017

८६.(लघुकथा) सुन्दर शान्त विशाल

(लघुकथा)
सुन्दर शान्त विशाल

सरण राई

सबै मानिसहरु जागिसकेका छन् | उनीहरु कसैको अन्ध्रसमर्थक, अन्धभक्त र अविवेकी पिछलग्गु छैनन् | आफ्नो अन्तरमनको पुकार अनुसार स्वविवेकले निर्णय गर्छन् | आफ्नो दायित्व निर्वाह गर्छन् |
केहि समय अगाडी त्यस्तो थिएन | मानिसहरुलाई लोभलालचमा फसाएर फटाहाहरुले राज गरिरहदाँ मुलुक गरिबी , भ्रष्टाचार , अराजकता र प्रतिगमनको दलदलमा फसेको थियो | सबैतिर निराशा व्याप्त थियो |
समय गतिशील हुन्छ | समयले आफ्नो अनूकुल वातावरण बनाउँछ | युवाहरुले दल र नेताहरुको पछी लाग्दालाग्दा थाहा पाए-- 'दल र नेताहरुले आफूभित्र रहेको सकारात्मक भन्दा नकारात्मक कुराहरुलाई बढावा दिईरहेका छन् |'  युवाहरु ति दल र नेताहरुको सकारात्मक कुराहरुको अनुशरण गर्छन् | मानिसहरुलाई पनि सकारात्मक कुराहरुको अनुशरण गर्न प्रेरित गर्छन् | बिस्तारै सकारात्मक कुराहरु समाज र देशमा चारैतिर व्याप्त हुन्छ | नकारात्मक प्रतिगामी दल र नेताहरु स्वत: विस्तापित हुन्छन् |
मानिसहरु सकारात्मक कुराहरुको प्रभावले परिश्रमी, इमानदार, लगनशील , प्रसन्न र आशावादी हुन्छन् | फटाहाको पछी कोहि हुँदैनन् | सबै मानिसहरु सकारात्मक भएपछी मुलुक विकासको गतिमा तीव्र गतिले अघि बढ्छ | सबै शिक्षित,सभ्य, सम्पन्न, शिष्ट र सक्रिय हुन्छन् | सकारात्मक प्रतिफल प्राप्त हुन थाल्छ |
मुलुक सुन्दर, शान्त, विशाल, समृध्द र विकसित बन्छ |

२०७४ वैसाक ३१, धरान
https;//chhinaamakhu.blogspot.com/
Image may contain: 2 people, people sitting

Tuesday, May 9, 2017

८५.(लघुकथा) शङ्काको पहरा

(लघुकथा)
शङ्काको पहरा

सरण राई

म अस्पतालको जनरल वार्डमा कुरुवा बसेको छु | छेउको पल्लो बेडको बिरामीलाई उसको कुरुवाले टोइलेट लिएर गएको छ |
बेडमा वेवारिसेझैँ निकै महँगो मोबाइल सेट लडिरहेको छ | कामदार आएर तन्ना फेर्छिन् | मोबाइल सेट यताउता सार्छिन् | आफ्नो काम सकेर उनी जान्छिन् | म मोबाइल सेट देख्तिनँ | मेरो मनमा शङ्काको पहरा बन्छ | मोबाइल सेट पक्कै पनि कामदारले लागेको हुनुपर्छ |
बिरामी र कुरुवा फर्किन्छन् | मोबाइल सेट नपाउँदा हल्लीखल्ली मच्चाउँलान् भन्ने म सोचिरहेको हुन्छु |
तर उनीहरुले त्यस्तो केहि गरेनन् | म उनीहरुको गतिविधि ध्यानपूर्वक हेरिरहेको हुन्छु | सिरानी मुनिबाट बिरामीले मोबाइल सेट झिकेर हातमा लिन्छ |
मेरो छट्पटिएको मन शान्त हुन्छ | तर मेरो पापी मन ...कसरी गरिब कामदारमाथि शङ्का गर्न पुग्यो ? म आफैलाई धिक्कार्छु --'गरिब भएकैले ऊ काम गरेर पेट पालिरहेको छ | इमानदार भएकैले गरिब छ | किन मेरो मन गरिब इमानदार कामदारप्रति शङ्कालु भयो ?'

२०७१ चैत ३० , मेडिकेयर अस्पताल
https://chhinaamakhu.blogspot.com/