Friday, October 26, 2018

१२०.दृष्टि

(लघुकथा)
दृष्टि

सरण राई

किच्च दाँतले लाशलाई हदैसम्म कुरूप बनाएकाे छ । दुनियालाई रुवायाे, शाेषण अत्याचार अनेकौं कुकर्म गर्याे । खै के लिएर जाँदै छ ? थुक्क नाथेकाे घृणित जिन्दगी !
ऊ लाशलाई थुक्न चाहन्थ्याे तर शिष्टताका कारण थुकेन।
किच्च दाँत लास कति दयनिय देखिएकाे छ । डर धाक र स्वार्थका कारण उसले जीवनभर सम्मान देखाएको मानिस निरीह लास भएकाे छ ।अब मान सम्मान केही गर्दिनँ । मुला अाडम्बरीलाई...!
अाडम्बरका लागि त्याे लाशलाई उसले ढाेगेकाे देखाउनु पर्थ्याे तर ऊ पनि लाशलाई ढाेग्दैन ।

***
२०७५ असाेज २८.सुमेरु अस्पताल

 
Beautiful birds



११९.कब्जा

(लघुकथा)
कब्जा

सरण राई

सर्वसाधारण म ! व्यवस्था फेरिँदा, प्रत्येक पल्ट मेरो जीवनमा सुखद कायापलट होला भनेर उत्साहित भएँ । जनयुध्दकाे बेला कसैकाे धरजग्गामा झण्डा गाढेर कब्जा भनेपछि कब्जा भयाे । कसैकाे केही लाग्दैनथ्याे ।
द्वन्ध्वात्मक भाैतिकवाद, प्रजातन्त्र, लाेकतन्त्र, मानव अधिकार, स्वातन्त्रता अादि सैध्दान्तिक कुराहरूका प्राप्तिका लागि सर्वसाधारण अाम मान्छेहरू अान्दाेलनमा सरिक भए । सडक कब्जा,नाराजुलुश र अान्दाेलनकाे बलमा बहुदल आयो । दलहरु सर्वैसर्वा भए । तर दलहरू पुराना सामन्त फटाहाहरूले कब्जा गरे ।
फेरि सर्वसाधारण अाम मान्छेहरू आफ्नो जीवनमा सुखद कायापलटका लागि अान्दाेलनमा उत्रिए । १९दिने अान्दाेलनले गणतन्त्र अायाे । फेरि दलहरु सर्वैसर्वा भए । फेरि दलहरू पुराना सामन्त फटाहाहरूले नै कब्जा गरे । दलहरू गतिछाडा,सिध्दान्तच्युत,अवसरवादि, विदेशि दलाल र शंकुचित जातिवादिहरूले कब्जा गरे । दलहरू कब्जा गरिसकेपछि सरकार कब्जा गरे । सर्वसाधारण अाम मान्छेहरूका जीवनका सुखद कायापलट कब्जा गरेर उज्यालाे कब्जा गर्ने प्रयत्नमा फटाहाहरू लागेका छन् ।
सर्वसाधारण अाम मान्छेहरूले ती फटाहाहरू चिन्न थालेका छन् । तिनीहरूलाई पूर्णतया विस्थापित गर्ने र सर्वसाधारण अाम मान्छेहरूका जीवनका सुखद कायापलट गर्ने अर्काे अन्तिम अान्दाेलनकाे तयारीमा सर्वसाधारण अाम मान्छेहरू लागेका छन् ।
त्याे अन्तिम अान्दाेलनले सर्वसाधारण अाम मान्छेहरू सुखी र सम्पन्न हुनेछन् । गतिछाडा,सिध्दान्तच्युत,अवसरवादि, विदेशि दलाल र शंकुचित जातिवादिहरूअन्त भई देश सम्पन्न हुनेछ ।

***

 २०७४ कार्तिक १० ,बिशालचाैक




Thursday, August 9, 2018

११८ .फाेहाेरको डङ्गुर !


(लघुकथा)
फाेहाेरको डङ्गुर !

सरण राई

अल्पज्ञ, ज्ञानी र उजेली तीनजना एउटै स्कुलमा पढेका थिए । तीनैजनाकाे उत्प्रेरणाको श्राेत एउटै थियाे-- गरिबी। उनीहरू गरिबीबाट उन्मुक्ति चाहन्थे ।
उनीहरूले शिक्षालाई उन्मुक्तिकाे साधन सम्झेका थिए ।अल्पज्ञ नाै कक्षाबाटै पढाइ छाेडेर राजनीतिमा नेताकाे धुपाैरे भयाे । नेताकाे सङ्गत र कृपाले ऊ कालान्तरमा राजनैतिक खेलाडि भयाे ।
ज्ञानीले उच्च शिक्षा पूरा गरेर ज्ञानी भयाे । क्षणभङ्गुर जीवनकाे ज्ञान प्राप्त भएकाेले लाेभ -पापबाट टाढा रह्याे । उजेलीले ज्ञानीसित विवाह गरीन् । उनीहरूकाे जीवन ज्ञानले आलाेकित हुँदा सुखसित बित्याे । दुवैजनाले परिश्रम गरेर गरिबीबाट उन्मुक्ति पाए । उनीहरूका सन्तान पनि सद्गुणी भए ।
अल्पज्ञले राजनीतिमा लागेर अनेक तिकडम, जालझेल सिक्याे । गरिबीबाट उन्मुक्ति पाउन राजनीतिलाई उसले साधन बनायाे । नेता भयाे। चुनाव जितेर मन्त्री भयाे । देश, समाजलाई धाेका दिँदै अनैतिक तरीकाबाट धनराषी कमाएर गरिबीबाट उन्मुक्ति पायाे । विवाह गर्याे, एउटा छाेरी र एउटा छाेराकाे बाबु भयाे । ऊ अझ धेरै सम्पत्ति कमाउने लालसाले फाेहाेरी राजनीतिमा चुर्लुम्म डुब्याे ।
कालान्तरमा उसले हुर्केका छाेरालाई बिराेधी तह लगाउन राजनैतिक गुण्डा 'डान' बनायाे । छाेरीलाई पनि आफू सत्तामा टिकिरहनका लागि नेताहरूकाे सेवामा हाजिर गरायाे । छाेरी गतिछाडा हुँदै गइ । सम्पत्ति त उसले अकुत कमायाे तर बदनामी पनि त्यत्तिकै । त्यसैले ऊ सत्ताच्युत भयाे ।
गुण्डा छाेरा र गतिछाडा छाेरीले धम्काएर अल्पज्ञका सारा सम्पत्ति बाढेर लिए । सम्पत्ति लिइसकेपछि फाेहाेरी राजनीतिको उत्पादन उसका अविवेकि छाेराछाेरीले उसलाई घरबाट निकालेर घरच्युत बनाए ।
फाेहाेर राजनीति ...चरित्रहीन खराब सन्तान ,फाेहाेरी समाज र घृणित परिवेश ! फोहोरी राजनीतिको फल ... फाेहाेरमा फाेहाेर ! फाेहाेरको डङ्गुरमा बिचरा अल्पज्ञ पुरियाे !
🔴
https://chhinaamakhu.blogspot.com/
२०७६ मंसिर २०, धरान


११७.बाँचेकै छु

बाँचेकै छु

सरण राई

नचलि सुतिरहेकाे काेपा(बाजे)लाई नातिनी निकै बेर हेरेर पनि टुङ्गो गर्न नसकि चिच्याएर बाेलाउछे -"काेपा, काेपा।"
काेपा भन्छ- "जिउँदै छु ।"
त्यस्तै जिउँदाहरूले भनिरहनु पर्ने...

"बाँचेकै छु ।"


२०७५/१/३० काठमाडौं

११६ . (माेबाइल लघुकथा) शिक्षित नरपशु

(माेबाइल लघुकथा)
शिक्षित नरपशु
सरण राई
अाफ्नै खर्चमा पुस्तक छाप्ने मूर्ख लेखक म भएकाे छु ।साथी भाईहरूले किनि पढि दिउन् भनेर किताब बाेकेर भेटिरहेकाे छु ।
कति त तिरष्कार भाव झल्काउदै भाग्छन् । कति पुस्तक हातमा लिएर अाेल्टाइ पल्टाइ गर्छन् तर फ्याट्ट पुस्तक फालेर पुस्तकप्रति गहिराे वितृष्णा देखाउछन् ।
पुस्तक थुप्रै उपहार बाढेर साहित्यकार बन्ने धुनमा मैले बटुलेकाे अनुभव-- त्यसरी सित्तै बाढ्दा पुस्तककाे निकृष्ट अवमूल्यन हुँदाे रहेछ । कसैले पढ्दैनन् । पुस्तक पढनका लागि हाे । नपढिने पुस्तकहरू खाेलामा फाले सरह हुँदाे रहेछ । ज्ञानकाे नाश !
म सित्तै बाढेर पुस्तककाे बेइज्जत गर्न चाहन्नँ । तर लागेकाे छपाइ खर्च उठाउन सकिन्छ कि !
पुस्तक मेरा शिक्षित साथी भाइहरूले किनि दिन्छन् कि ! अाशामुखी बन्छु म । उनीहरू किन्दैनन् । मलाई अार्थिक सहयाेग हुँदैन । त्याे त बेहोरी रहेकै छु ।
तर ती शिक्षित साथीहरू पुस्तकले दिने ज्ञानबाट विमुख भइरहेका हुन्छन् ।
साहित्यले दिने रसमय भाव, सम्वेग र अतुलनिय अानन्दकाे अनुभवबाट वञ्चित हुँदैछन् ।
पुस्तकप्रति वितृष्णा ! सुरुचिपूर्ण जीवन मार्गबाटै पलायन, सुखी जीवनकाे अाशाकाे अन्तकाे थालनी ।
पुस्तक किन्न र पढ्न भनेपछि परपर भाग्ने शिक्षित मानिस शिक्षित नरपशु हाेइन र?
मैले लेखेकाे पुस्तक नपढे पनि अरु पढ्छन् हाेला नि । अरु पनि वा पुस्तकै पढ्दैनन् भने ती महामुर्ख शिक्षित नरपशु नै हुन् ।
हा..हा..हा.. म अाफ्नै खर्चमा पुस्तक छाप्ने मूर्ख तिनीहरू महामुर्ख । मनमनै हाँस्छु ।
🔴
https://chhinaamakhu.blogspot.com/2018/08/blog-post_9.html
२०७६/२/२७,धरान।

Wednesday, August 8, 2018

११५ .अाशकाे त्यान्द्राे

अाशकाे त्यान्द्राे

सरण राई

भजन किर्तन उसलाई रमाइलो लाग्थ्यो । ईश्वर सर्वशक्तिमान र सर्वकृपाल भएकाेले कुनै दिन उसको प्रार्थना सुनेर सुख दिनेछ भन्ने अाशकाे त्यान्द्राेमा झुन्डिएर अाफूलाई भक्तिमा लिन गराईरहेकाे थियाे ।
चुनाव अायाे । नबाेल्ने् भगवानभन्दा प्रभावशाली नेताकाे भाषण, अाश्वासन र पार्टीको घाेषणा सुनेर ऊ पार्टी र नेताकाे समर्थक र पार्टीको सदस्य भयाे ।नेताले चुनाव जिते । पार्टीको बहुमत अाएर सरकार बनायाे
।नेता मन्त्री भए।
त्यस दिनपछि त उसले नेताले दिएकाे अाश्वासन एकै क्षण पनि बिर्सन सकेन ।पार्टीप्रति वफादार भए मात्र केही पाइन्छ भन्ने अाशकाे त्यान्द्राे उसका लागि बाँच्ने अाधार भयाे । ऊ अाजभाेलि भगवानकाे भजन किर्तन छाडेर नेता र पार्टीकै गुणगान गाउन व्यस्त र अभ्यस्त छ ।
उसकाे साेच बन्दी भएको छ । निर्णय शक्ति, विवेक र चेतना बन्धक भएको उसलाई थाहा हुन समेत छाडेकाे छ ।
 *
 २०७५असार २७.काठमाडौं
***





Tuesday, January 30, 2018

११३. अरब रूपियाकाे कात्राे

(लघुकथा)
अरब रूपियाकाे कात्राे

सरण राई

सनककै भरमा राजनीति गरेर सरकारकाे प्रमुख पदमा पुगेकाे उसलाई मृत्यु नजिक आउदै गरेकाे अहसास हुँदा अरब रूपियाकाे कात्राे आफ्ना लागि बनाउने सनक चढ्छ ।
भ्रष्टाचार गरेर खरबाै कुम्लाएकै थिए गरिब जनताकाे सपना र सुख लुटेर । उनका सबैभन्दा विश्वासी पिछलग्गुलाई एक अरब दिएर कात्राे बनाउन लगाउछन् ।
''हुन्छ, यत्राे महँगाे कात्राे सुटुक्क विदेशमा सुन चादि हिरा माेती मणि माणिक्य राखेर बनाउनु पर्छ । महान् अलेकजेण्डरले युध्दमा मारिएका प्रिय साथीकाे चितामा खरबाै खरबाैकाे मणि, हिरा माेती आदि जलाएर साथीकाे सम्मान गरेका थिए । त्यस्तै हजुरजस्ताे महान् मानवकाे कात्राेमा सबै सम्पत्ति अट्ने मनचिन्ते गाेजि पनि राखिने छ ।'' विश्वासी पिछलग्गु खुसी हुँदै भन्छन् ।
''सबै सम्पत्ति अट्ने मनचिन्ते गाेजि....! '' चाकडिबाज पिछलग्गु र स्वार्थीहरूकाे घेराबन्दिले प्रमुख पूरा सन्कि भइसकेकाे हुन्छ । सनक पागलपनमा अवतरित हुन थालेकाे छ । साेच्छ-- ''सबै सम्पत्ति मनचिन्ते गाेजिमा राखेर स्वर्गमा लाने र डबल स्वर्गकाे आनन्द लिने म नै यस्ताे पहिलाे परमपुरूष हुनेछु ।''
सन्की साेचका साथ असम्भव उरन्ठेउला बाेली र भाषणले सर्वाेच्च स्थानमा पुराए पछि त प्रमुख पूरै सन्कि भएछन् भन्ने उनका आसेपासेहरू र जनता जनार्दनले पनि बुझ्छन् । पदकाे दुरूपयाेग भ्रष्टाचार माफियासँगकाे मिलाेमताे यहाँसम्म कि विदेशी एजेन्ट बनेर राष्ट्रघात गरेर कुम्ल्याएकाे सम्पत्ति आफ्ना विश्वासी पिछलग्गुहरूकाे नाममा राखेर गरिब रहेकाे सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्छन् ।
कात्राेमा सबै सम्पत्ति अट्ने मनचिन्ते गाेजि हुने कुरा सुनेपछि प्रमुख पिछलग्गुहरूकाे नाममा रहेकाे चल सम्पत्ति बुझाउन ताकेता गर्न थाल्छन् ।
पिछलग्गुहरूकाे गाेप्य बैठक प्रमुखका सबैभन्दा विश्वासी पिछलग्गुकाे पहलमा सम्पन्न हुन्छ र निष्कर्श हुन्छ -- 'अब प्रमुख नाङ्गेझार भइसके, उनीसँगै हामी सति जान हुँदैन । उनी पदमा रहिरहे उनीसँगै हामी भडखालाेमा पर्छाै । आफ्नो आफ्नाे नाममा रहेकाे चल सम्पत्ति पचाउन पनि उनलाई अपदस्त गर्नु पर्दछ ।'
सजिलै पार्टीमा निर्णय गराए-- 'राजिनामा दिन लगाउने नमाने अविश्वासकाे प्रस्तावद्वारा हटाउने ।' प्रमुखले जाेड नचले पछि राजिनामा गर्छन् । पद र शक्ति गएपछि बिरामी हुन्छन् । हेर्न भेट्न चराे मुसाे काेही आउदैनन् । सबैभन्दा विश्वासी पिछलग्गुभने चियाेचर्चाकाे लागि रातदिन उनीसँगै रहन्छन् ।पुर्व प्रमुख बारम्बार साेधिरहन्छन् -- ''अरब रूपियाकाे कात्राे आयाे ?''
''बन्दै छ । बनेपछि आउँछ''-- सबैभन्दा विश्वासी पिछलग्गुकाे जवाफ हुन्छ ।
प्रमुखले ज्यादै कर गरेपछि ''भाेलि म ल्याउँछु'' सबैभन्दा विश्वासी पिछलग्गु भन्छ।
पद र शक्ति नभएकाे पुर्व प्रमुखले केही गर्न सक्तैनन् भन्ने भएपछि जसजसकाे नाममा पैसा लुकाइएकाे थियाे उनीहरूले सबै पचाए ।
''खाेइ कात्राे ल्यायाै ?''
''ल्याएकाे छु '' भनेर 'एकअरब रूपियाकाे कात्राे' लेखिएकाे तुल ब्यानरजस्ताे डेढ मिटरकाे कात्राे सबैभन्दा विश्वासी पिछलग्गुले देखाउँछ । सबैभन्दा विश्वासी पिछलग्गुले पनि कात्राे किन्ने अरब रूपिया यसरी पचाउँछ ।
त्याे कात्राे देखेर पुर्व प्रमुखकाे वाक्य बस्छ, डङ्ग्रङ्ग पछारिन्छ । कराउन चाहदाे हाे, सक्तैन । चाेर औलाे ठडाइकाे ठडाएकै ...
🔴
२०७६ पाैष २४, धरान

नाैरङ्गी्

एक लघुकथा सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।🔥🔥🔥

Saturday, January 13, 2018

११२.राजनैतिक सम्बन्ध


राजनैतिक सम्बन्ध

सरण राई

फेसबुकमा गतिलो मान्छेसँग बसेको फोटो राख्न नपाएर मनमा औडाहा लागिरहेको थियो । बल्ल नवनिर्वाचित सांसदसँग बधाई कार्यक्रममा फोटो खिच्ने मौका पर्यो ।
चुनावमा सघाएको पनि हो । अघिपछि लागेर खुब हिँडिएको पनि हो । उनको जितमा सायद उनलाई भन्दा बढि मलाई खुसि लागेको थियो । म आफै सांसद भएजस्तो लागेको थियो । खुब तन्मयतासाथ बधाई कार्यक्रममा पनि खटिएँ । परिणामस्वारुप उनको छेउमा टाँसिएर फोटो खिच्ने मौका पाएँ ।
हर्षले गदगद हुँदै त्यहि फोटो फेसबुकमा पोस्ट गरेँँ ।सांसदलाई पनि ट्याग गरेँ ।
लाइकको वर्षा वर्षियो । टिप्पणी मा पनि बधाई वार्सियो । 'बधाई' शव्दलाई फेसबुकले पनि फुरुरु बेलुन र फूलहरु उडाएर रातो रङ्गले रङ्गायो । 'बधाई' आफैले पाएजस्तो लाग्यो । यति धेरै टिप्पणी र लाइक हेरेर दङ्ग परेर फुरुक्कै हुँदै गरेको बेला एउटा टिप्पणीमा आँखा पुग्यो ।
''चिन्नु न जान्नुको मान्छेहरुले फोटो राखेर अनेक नानाथरी टिप्पणी गरेर दिक्क पारी सके ... ।'' टिप्पणी सांसदले नै गरेका थिए ।
जाडोमा दर्के पानीमा भिजेजस्तो भयो । आफुलाई र राजनैतिक जगत चिन्ने नयाँ अनुभूति मिल्यो ।
https://chhinaamakhu.blogspot.com/
२०७४ पौष २९ शनिबार,धरान




Friday, October 27, 2017

११०. नक्कली बचाइ

(लघुकथा)
नक्कली बचाइ

सरण राई

प्राेढावस्थाकाे आगमनसँगै असली चिजहरूले छाेड्दाे रहेछ ।
आँखा कम देखिने भएपछि चस्मा, कान कम सुनिने भएपछि नचाहँदा नचाहँदै पनि इयर फाेन , असली दाँतले छाडेपछि नक्कली दाँत आदि आदि ... बाँच्नका लागि नक्कलीहरूकाे सहारा बुढेसकालकाे बाध्यता रहेछ ।
साच्चैकाे सक्कली जीवन त पत्नीकाे देहावसान पछि नै सकिएकाे हाे । एकल जीवन ! साथ दिने,सँगै हाँस्ने रूने बाँच्ने काेही छैन । एक्लैएक्लै बाँच्नुपर्ने ! हाँस्न त सकिदैन नै , एक्लै रुनुपर्ने ।
भएतापनि जीवनकाे 'फिनीसिङ टच' बिट मार्नका लागि बाँच्नु पर्ने ।
बाँच्ने क्रममा साथीभाइसँग मिसिनै पर्याे । एक्लै बाँच्ने कुरा भएन ।
हाँस्न बिर्सिसकेकाे उसले साथीकाे छाडा जाेक ''कहिल्यै हात्ती नदेखेकाे मान्छेले हात्ती पहिलाे पल्ट देखेर चारवटा खुट्टा, पुच्छर , सुढ र मत्ता हात्तीकाे लिङ्ग समेत गनेर 'हात्तीकाे सातवटा खुट्टा हुँदाेरहेछ' भनेछ ।''
सबै हाँस्छन् । ऊ पनि हाँस्छ थाहै नपाई । हाँसे पछि साेच्छ 'यसरी त मेरी पत्नीसँग पाे हाँस्थे' । स्वर्गीय पत्नीकाे सम्झनाले आँसु चुहुन्छ ।
अरूहरू साेच्छन् उसको हाँसाेकाे आँसु ।
'पत्नी नभए पछि हाँस्न पनि बिर्सेकाे रहेछु ।' ऊ सोच्छ - याे कस्ताे फोकटिया नक्कली बचाइ !
निमेषमै फोकटिया नक्कली हँसाइ राेदनमा परिणत हुन्छ । हिक्का छाेडेर ऊ रुन थाल्छ !
🔴
२०७६ पौष २८ , धरान
🌹🌹

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।
🔥🌺🔥

Saturday, October 7, 2017

१०९.(लघुकथा) शिष्टता


(लघुकथा )
शिष्टता

सरण राई

कहिल्यै तिनी रिसाएको देखिएन | सधै उज्यालो मुखले आफन्त र पाहुनाहरुको स्वागत सत्कार गर्थिन् | तिनको शिष्टताबाट सबै प्रभावित थिए |
संयोग नै भनौ तिनको परिवारसँग यात्रा गर्ने मौका मिल्यो | यात्राको खर्च आफै बेहोर्ने सहमति अनुसार जसले खर्च गरे पनि बेलुका हिसाब हुन्थ्यो |
एक बेलुकी मैले हिसाब गर्दा गल्ति गरेछु र तिनले दिनु नपर्ने पैसा मागेछु |
आम्मै तिनको रिसको पारो यति धेरै चड्यो कि चिच्याएर भनिन् " बेइमान !"
फेरी हिसाब गरेँ , गल्ति भएको रहेछ | माफी मागेँ तर तिनको रिस मत्थर भएन |
तिनको शिष्टता , नम्र स्वाभाव ?! म अलमल्ल पर्छु |
२०७३ माघ ३ धरान
https://chhinaamakhu.blogspot.com/

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।🔥
२०७४ असोज २२ , धरान
https://chhinaamakhu.blogspot.com/
तेम्केको फेदीमा  बाबु छोरा 

Monday, September 4, 2017

१०८ .(लघुकथा ) मन्त्रीविकर्षण

(लघुकथा )
मन्त्रीविकर्षण

सरण राई

सरकारी आ.स. प्राप्त कार्यक्रम 'देश सबैको साझा- कार्यशाला गोष्ठी ' उद्घाटन कार्यक्रम भई रहेको छ | सभापतिको आसनग्रहण पछी आसनग्रहण सुरु -- प्रमुख अथिति प्रघानमन्त्री फलानो ..
स्रोताहरुले औपचारिकता निर्वाहका लागि उत्साहविहीन ताली बजाए |
अथिति मन्त्री फलानो ..
स्रोताहरुले उत्साहविहीन कम ताली बजाए |
अथिति मन्त्री फलानो ..
स्रोताहरुले उत्साहविहीन ताली बजाएजस्तो गरे |
अथिति मन्त्री फलानो ..
स्रोताहरुले ताली बजाएनन् |
अथिति मन्त्री फलानो ..
ताली बजाउनु छाडेर केहि स्रोता उठे |
अथिति मन्त्री फलानो ..
उठेका मानिसहरु हल छाडेर हिडे |
अथिति मन्त्री फलानो ..
सबै मानिसहरु जुरुक्क उठेर हिड्न लागेका देखेर उद्घोषक माइक नै फुट्ने गरि कराउछ - "उपस्थित स्रोताहरुका लागि भत्ता र खानपिनको पनि व्यवस्था छ |"
भत्ता र खानपिनको व्यवस्थाको घोषणा सुनेर पनि मानिसहरु रोकिएनन् |
"यस्ता चोर देशभाडा मन्त्रीहरुका बगम्फुसे भाषण भत्ता र खानपिनको लोभमा सुन्न सहन सकिन्न " भन्दै मानिसहरु हलबाट बाहिरीए |
😍
https://chhinaamakhu.blogspot.com/
२०७४ भदौ २० सोमबार , धरान

Saturday, July 29, 2017

१०५ ( लघुकथा ) राजनैतिक झोले

( लघुकथा )
राजनैतिक झोले
सरण राई
एउटा धनी मानिसको घरमा दिनहुँ एउटा मेत्तर आएर चर्पी सफा गर्दथ्यो |
"यो चर्पी मेरो डेराभन्दा नि ठुलो छ , सफा छ | यो चर्पी सफा राख्ने मात्र मेरो काम हो |" भन्ने सोचेर कहिल्यै त्यो चर्पीमा दिशा पिसाब गर्दैनथ्यो | एकदिन पेट दुखेकोले चर्पी सफा गरिसके पछि उसले त्यहाँ दिशा गर्यो |
धनी मानिसले त्यो थाहा पाएर उसलाई हकार्यो " आइन्दा त्यहाँ दिशा गरिस् भने म तलाई कामबाट निकालि दिन्छु |"
भोलि पल्ट पनि चर्पी सफा गर्दागर्दै उसलाई दिशा लाग्यो | के गर्ने ? हत्तपत्त दगुरेर गई बगैचामा उसले दिशा गर्यो |
सन्च मानेर फर्किरहेको बेला नोकरहरुसँग मालिक आएर उसलाई फेरि हकार्यो " चर्पी त फोहोर पारिस् पारिस् , अब बगैचा पनि फोहोर पार्न थालिस् |" 
"अब भने मेरो जागिर गयो" भन्ने सोचिरहेको उसलाई फरुवा दिएर उसले गरेको दिशा सोहोरेर भर्खरै रोपेको बिरुवाको फेदमा पुर्न लगाईयो | बिरुवालाई मल चाहिएको थियो रे |
मेत्तरले सोच्यो --" राजनीतिमा सधै काम लगाइने राजनैतिक कार्यकर्ता भन्ने झोलेजस्तै रहेछु म | चर्पी सफा राख्ने तर चर्पीमा दिशा गर्न नपाउने | बगैचाको मेरो दिशा पनि मालिकले खेर जान दिएन | राजनीतिमा पनि झोलेहरुलाई राजनैतिक फोहोर मैला सफा गर्न प्रयोग गरिन्छ तर कुनै आसनमा बसाइन्न | अहिले पनि आफ्नो समुदायको मन्त्री कोहि भएनन् भनेर रुवावासी छ | राजनीतिमा रोएर कसैले दिन्छ ? झोलेहरुलाई कसले पत्याउछ ? खोसेर लिन नसक्नेहरु ...मैजस्ता हुन् | हा..हा ..हा ' ऊ मनमनै हाँस्छ |
🦋🦋🦋
https://likedtoday.blogspot.com/
२०७४ साउन धरान

Friday, July 7, 2017

१०४.(लघुकथा) संवाद




(लघुकथा)
संवाद

सरण राई

''समयमा बाेलिएन भने पछुताे हुन सक्छ ।''
''समयमा के बाेल्नु पर्ने ?''
''ल तपाईँ पत्रपत्रिका, सामाजिक सञ्जाल रेडियाे अनलाइन पत्रिकाले दिइरहेकाे लिम्पियाधुरा कालापानी र लिपुलेक, एम.सि.सि.जस्ता खबरहरूमा ध्यान दिनु हुन्न ?''
''ध्यान दिएर के हुन्छ ?''
''ल, फेरि साेध्नु हुन्छ । तपाईँलाई भावी सन्तानकाे माया छैन ? देशकाे माया छैन ? नाति नातिनीहरू सुखी खुसीले स्वतन्त्र बाँचुन् भन्ने चाहनु हुन्न ?''
''चाहन्छु नि । तर किन यस्ताे प्रश्न गरिरहनु भएकाे छ ?''
''राष्ट्रघातीहरूले राष्ट्रघाती काम गरिरहेका छन् । लिम्पियाधुरा कालापानी र लिपुलेक भएकाे नक्सा अझै निकालेका छैनन् । चुनावमा जितेर सर्वाेच्च पदमा पुगे भन्दैमा राष्ट्रघात गर्ने लाइसेन्स पाइन्छ ?''
''ल फेरि प्रश्न प्रश्न नै तेर्साउनु हुन्छ ?''
''प्रश्न प्रश्न त देशकाे स्वतन्त्रता माथि तेर्सिसकेकाे छ । स्वतन्त्र भएर बाँच्ने कि अरूकाे गुलाम हुने प्रत्येक देशवासीहरूका सामु जीवन मरणकाे प्रश्न भएर तेर्सिएकाे छ ।''
''हामीले चुनावमा जिताएकाे नेताहरूले राम्ररी साेचेर नै काम गरिरहेका हाेलान् नि...''
''ल, फेरी तपाईँ राष्ट्रघाती नेताकाे विश्वास गरेर राष्ट्रघाती कामकाे विराेध नगरी बस्नाेस् । राष्ट्रघातीकाे पछि लाग्ने लाेभिपापी बुध्दिजीवी भनाउदाहरू, सांसदहरूले देश डुबाइसकेपछि थकथकि गर्नु चुकचुकाउनु नपराेस् भनेर अहिले नै सारा देशवासी एकजुट भएर राष्ट्रघात विरूध्द उर्लनु पर्छ । भावी पुस्ताका लागि देश जाेगायाैँ भने हामी बाँचेकाे हाम्राे याे जुनी सार्थक हुन्छ !''
अहिले सम्वृध्दि, प्रगति, उन्नतिकाे सट्टा जताततै सुनिने गरिने समसामयिक संवाद हो यो !
🔴
२०७६ माघ ५ , धरान
🌹🇳🇵🌹

Maugham retouched.jpg
William Somerset Maugham
Maugham photographed by Carl Van Vechtenin 1934
BornWilliam Somerset Maugham
25 January 1874
UK EmbassyParisFrance
Died16 December 1965 (aged 91)
NiceAlpes-Maritimes, France
OccupationPlaywright, novelist, short storywriter
Alma materSt Thomas's Hospital Medical School (now part of King's College London), M.B.B.S., 1897
Notable worksOf Human Bondage
The Moon and Sixpence
Cakes and Ale
The Razor's Edge
SpouseSyrie Wellcome (m. 1917;div. 1929)
ChildrenMary Elizabeth Maugham
(1915–1998)
Alan Searle (adopted, 1962)

१०३.(लघुकथा) किर्ना

(लघुकथा)

किर्ना

सरण राई

'एबीसि बचाउ अभियान'का अध्यक्ष र काेषाध्यक्षले बिरामी एबीसिलाई अस्पतालमा रकम हस्तान्तरण गरेकाे तस्वीरले फेसबुक र पत्रिका रङ्गिन मात्र थालेकाे बेला एबीसिकाे मृत्युले काेषाध्यक्ष शाेकाकुल हुन्छे ।
''आ, च्च च्च.. अब धन्दा बन्द भाे । केही दिन बाँचेकाे भए... भर्खर त आम्दानी हुन थालेकाे थियाे ।''
''के कुरा गर्नु भकाे , काम झन सजिलाे । मूर्ति बनाउने भनेर सरकारबाट समेत रकम लिने पर्यटनवृध्दिका लागि भनेर । मूर्ति कराैडाैंकाे बनाउने भनेर व्यापक...''
पाेथी काेषाध्यक्षले प्रसन्न भएर भाले अध्यक्षलाई च्वाप्प 'किस' दिइ ।
... अनि एबीसिकाे विशाल मूर्ति बनाउने परियाेजना उल्लेख गर्दै शाेक वक्तव्य निकाल्छन् ।

🔴
२०७६ माघ ९, धरान
https://chhinaamakhu.blogspot.com/
 
🌹☯️🌹

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्न अनुराेध छ ।
👩‍👧💔



Tuesday, July 4, 2017

१०२.(लघुकथा) दु:खको मुहान.

(लघुकथा)
दु:खको मुहान.
सरण राई
" दु:ख, दु:खसँग अभ्यस्त भइयो | दु:ख भोग्न सजिलो लाग्न थालेको बेला सुखसित साक्षात्कार भयो भने त्यसलाई चिन्न पनि सक्तिनँ होला !'
" साँच्चै कहिल्यै सुख भोग्नु भएको छैन ?"
"खोई, थाहा छैन |"
" बिहे गर्नु भएको छैन ?
"गरेको छु |"
"सन्तान जन्मेको छैन ?"
"छ "
" साथीभाईहरुको माया प्रेम प्राप्त गर्नु भएको छैन ?"
"छ |"
"तिनीहरु सुख होइनन् र ?"
" त्यहि त .दु:खको मुहान भएको छ | दु:खको मुहान.. बिहे, सन्तान, साथीभाई, मनोआकाङ्क्षा आदि आदि ..."

🏺🏺🥂🏺🏺
https://chhinaamakhu.blogspot.com/
२०७४ असार २१, धरान
Giza Pyramids, Egypt 🇪🇬

Saturday, July 1, 2017

१०१.(लघुकथा) मेडल

(लघुकथा)
मेडल

सरण राई

उनले धेर‌ै तक्मा र पुरस्कार बाडे । उनले पनि धेरै मानार्थ सम्मान र पुरस्कार ग्रहण गरे । तर ती सम्मान र पुरस्कारहरू उनले अघाेषित रूपमा पाएकाे मेडलले सदाका लागि अाेझेलमा पारेकाे छ ।

पहिलाेपल्ट जनस्तरबाट पाएकाे मेडल "राष्ट्रघाती" थियाे । त्याे मेटाएछन् भनेर जन जन खुसी थिए ।

तर अन्तमा राष्ट्रलाई गुलाम बनाउने र राष्ट्र बेच्ने उनकाे अन्तिम प्रयत्नले उनले पाएकाे मेडल कायमै राखे ।

उनकाे मरणाेपरान्त पनि ... त्याे मेडलका कारण उनी थुककाे दहमा पाैडिरहेका हुनेछन् । मृत्यु पछि पनि साथ नछाेड्ने डरलाग्दाे मेडल !
🔴
२०७६ माघ १४, धरान
🌹🇳🇵🌹


नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।

🏇🏇

https://chhinaamakhu.blogspot.com/
२०७४ असार १९ , धरान

Monday, June 26, 2017

१००.(लघुकथा ) कुलो

(लघुकथा )
कुलो
सरण राई
खोलाको पानी पनि सामन्तको एकलौटी थियो | कुलो बन्नु पर्छ भन्ने गरिब किसानहरु मिलेर कुलो बनाउन थाले | सामन्त र किसानहरु बीच चर्को झगडा भयो | सब किसानको एकताले कुलो खनियो |
नयाँ कुलो ! पानीको मूल कुलोमा मिसाउदा जताततै रसाउछ,चुहुन्छ | धेरै ठाउँमा भत्कन्छ | पानी खेतसम्म पुग्दैन | सामन्त भन्न थाल्छ " देख्यो , कुलो काम लाग्दैन, भत्काउनु पर्छ |"
कुलो भत्काउन सके शोषण निरन्तर गर्न सकिन्छ भन्ने सोच सामन्तको हुन्छ | सर्वसाधारणको हितमा रहेको नयाँ कुलो विवादास्पद बन्छ | " भत्काउने कि राख्ने ? "
नयाँ कुलो व्यवस्थित बन्दै गएपछि रसाउन चुहुन बन्द हुन्छ | किसानको खेत बारी सिचाई हुन थाल्छ | बालीनाली हराभरा हुन्छ | प्रसन्नता बिपन्न किसानहरुको जीवनमा फैलिन्छ |

🏇🏇
https://chhinaamakhu.blogspot.com/
२०७४ असार १२, धरान


Monday, June 19, 2017

९९.(लघुकथा ) शंकुचित निषेध

(लघुकथा )
शंकुचित निषेध


सरण राई


चुनाव रणघण लागेको छ मानिसहरुलाई | हुलहुल बाँधेर झण्डा पर्चा बोकेर घरघर भोट माग्न घुम्दै छन् | ( पोस्टर छैन | 'मानव संसार' उपन्यासमा मैले चुनावी तामझामको बिरोध गरेको छु,सायद त्यसको पनि प्रभाव हो कि !)
आफ्नै पार्टीको उम्मेदवार पनि आईपुग्छन् | "भोट माग्न घुमौँ !"
"होइन , पर्दैन | दु;ख नदिऊ उहाँलाई |" अर्को नेताको भनाईले मलाई उन्मुक्ति मिल्छ | उनीहरु गइ सकेपछि म सोच्छुँ | सम्झन्छु चोरहरुको ग्याङको चुट्का |
चोरहरुको ग्याङमा एउटा सानो केटो पनि थियो रे | हरेक चोर्ने कार्यमा त्यसलाई संलग्न गर्थे | तर उसलाई बेश्यालय लादैनथे |
उमेरमा प्रजातन्त्र ल्याउने , गणतन्त्र ल्याउने आन्दोलनमा सक्रिय सहभागि भइयो | यो उन्नत व्यवस्था ल्याउन थोरै भए पनि योगदान दिएकोमा सन्तोष अनुभूत हुन्छ | अर्को नेता मलाई निष्क्रिय देखाएर पार्टीमा एकलौटी हालीमुहाली गर्न चाहन्छन् | शंकुचित निषेधको झ्याली खेल खेलि रहन्छन् | (मलाई फोहोरी राजनीतिको बेश्यालय जानु पनि छैन |)
म मामुली सांसारिकता भन्दा माथि उठी सकेको कुरा ति बिचरा अर्को नेता बुझ्न सक्तैनन् | शंकुचित निषेधले सबैभन्दा पहिला आफैलाई निषेध गर्छ भन्ने पनि बिचरा बुझ्न सक्तैनन् |


🐅🐆🐆
२०७४ असार ५, धरान

Saturday, June 17, 2017

९८.(लघुकथा) सपना र जीवन


(लघु कथा)
सपना र जीवन

सरण राई

....मलाई डरलाग्दो मान्छेले खेदी रहेको छ | ऊ धार्मिक कथाको राक्षस , भुत वा डाका लुटेरा हुनसक्छ | हातमा नाङ्गो खुकुरी छ | म चारैतिर कोहि छ कि भनेर हेर्छु , कोहि मद्दत गर्ने मानिस छैन | म भागिरहेको छु , भागिरहेको छु ...ऊ खेदिरहेको छ , खेदिरहेको छ | भाग्दा भाग्दै भीरको छेउमा पुग्छु | अब भाग्ने ठाँउ छैन | ज्यान जाने नै भयो , म पनि आफूसित भएको खुकुरी दापबाट झिकेर लडन तयार हुन्छु | लड्दालड्दै पछाडी सर्दा भीरबाट झर्छु |
के अचम्म ?
मरेँ होला भनेको म त अग्लो घरको तेस्रो तलामा पो हुन्छु | मेरा प्राध्यापक साथीहरु पनि थुप्रै छन् | सम्मेलनबाट फर्किरहेका रे | तल सडकमा हेरेको... 'बन्द' रे | पुलिस र बन्दकर्ताहरु भिडिरहेका छन् | अलिक शान्त भएपछी ओर्लन्छौँ | रात परि सकेको छ | कोहि कता कोहि कता जान लागे | म चाहीँ अब कता जाऊ | अन्यौलमा थिए | " एक छिन पर्खिदै गर्नुहोस है " भनेर गएका हरि सर आउनु भएको छैन | यो परदेसको ठाँउमा रात कता बिताउने होला ? चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ | हरि सर आउनु हुन्छ | अब कता बस्ने ? रात कता काट्ने ? अझ चर्को तनाव( टेन्सन ) भैरहेको हुन्छ |
अचानक आँखा खुल्छ |
टेन्सन समाप्त | आनन्द लाग्छ | अघिको मैले भोगिरहेको चर्को तनाव सपनामा पो रहेछ | आँखा खोलिनासाथ सपनाको दु:ख, सुख, रमाइलो ,नरमाइलो तनाव आदि ... सब समाप्त !
आँखा खोल्दा सपना समाप्त भएझैँ जीवनमा पाईने दु:ख -सुख , चिन्ता- पीडा, हर्ष-आनन्द अनि सबथोक सबथोक आँखा चिम्लिनासाथ समाप्त ! जीवनका सब वैभव शान शौकत हर्ष-आनन्द का साथ पीडा दु:ख रिस राग द्वेष क्लेश सब सब सपनाजस्तै आँखा चिम्लिनासाथ समाप्त !
मृत्युमा आँखा चिम्लिनासाथ समाप्त !!!
🔴
२०७१ माघ १६ बिहिबार , धरान
|http://facebooklit.blogspot.com/
🌹☯️🌹

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।
😿😿