Thursday, February 25, 2021

धाेकाे

 

(लघुकथा)
धाेकाे
 
सरण राई
 
रगत परिक्षण गर्ने लाइनमा उभिएकाे छु । माेबाइल फाेनकाे घण्टी बज्छ । बुहारीकाे रहेछ ।
"बिहानै बस आईहालेकाेले घरका कसैलाई नउठाई हिँडिहाले । सबैलाई भनिदिनु हाेला ।"
" हुन्छ । कहाँ पुग्याे?"
"लाहान...।"
छाेरा, बुहारी र पाँच वर्षकी नातिनी छाेराकाे जागिर काठमाडौंमा भएकाेले उतै बस्छन् । स्व.पिताका स्मृतिमा फलैचा बनाईसकेपछि हस्तान्तरण कार्यक्रममा आएका थिए। छुट्टी छैन भनेर छाेरा भाेलिपल्ट नै फर्की हाल्याे । दुई हप्ता बसेर आज बुहारी र नातिनी पनि फर्कदै छन् ।
याे दुई हप्तामा नातिनी मसित भर्खर झ्यामिन थालेकी हुन्छे
र म काेपा(बाजे) र नातिनी बालशुलभ खेल खेल्दा रमाउन थालेका हुन्छाैँ ।
अरू नातिनातिनीहरू त हुर्कि हाले । सानी नातिनीसँग धित मरुन्जेल खेल्ने धाेकाे पनि पुग्ला त ? आफैलाई साेध्छु ।
रक्तपरिक्षणले के देखाउला? मधुमेह-- क्रिटेनाइन, युरिया, पाेटासियम, साेडियम, ब्लडसुगर फास्टिङ पिपि इसिजी आदि अनेक अनेक । कैयाै कामहरू अधुरा छन् ,पूरा गर्न सकिएला ? कैयाै इच्छाहरू अधुरा रहेकै अवस्थामा ... झन् नयाँ पनि पलाईरहेका छन् ।
अब याे जीवनकाे के भराेसा ?
साना साना मनका धाेकाे पनि मनमै रहने भाे !
सबै इच्छा कसकाे पाे पुगेकाे हाेला र ...
किङ्ग मिडास सुनकाे सब चिज चाहन्थे र सुनकै पहाड र्थुपार्ने उनकाे धाेकाे जे छाेए पनि सुन बन्ने बरदान पाएर पूरा भयाे त ? बरदान पाएपछि दिनभर सबैचिज छाेए, सुन भयाे ।भाेकाएका उनले स्याउ लगायत खाना खान खाेज्दा ती पनि सुन भयाे । हतास निरास भाेकाे उनले सबैभन्दा बढि माया गरेकी आफ्नाे छाेरी अङ्गाल्दा छाेरी पनि सुन भई रे । खै कहाँ बरदान पाएर पनि मान्छेकाे धाेकाे पूरा हुँदाे रहेछ र ...
अधुराे इच्छा , अधुराे जीवन ! अधुराे धाेकाे !

Sunday, February 21, 2021

बहकिने पापी मन

 

(लघुकथा)
बहकिने पापी मन
 
सरण राई
 
उमेरले डाँडा काट्न थालेपछि चाहिदाेभन्दा नचाहिदाे नै मनभित्र बढि तुलबुल हुन्छ कि ...
भविष्य सकिन लागेकाे हुन्छ र अवसान जजिक हुन थालेकाे अनुभूति चर्काे भएपछि आफ्नै मृत्युको कल्पना आउँन थाल्दाे रहेछ कि ...
म मर्दा काे बढि राेला ?
सबैभन्दा बढि रुन सक्ने बुढि त मास छर्न गई सकि ।
छाेराहरू ?
बुहारीहरू ?
दाजु भाइ पनि आफ्नाे त छैन । भएपनि दाजुभाइकाे खाेक्राे रुवाइ हुँदाे हाे ।
दिदी बहिनीहरू -- केही हदसम्म रुन्छन् हाेला ।
नातिनातिनीहरू -- अरू राेएभने रुन साथ देलान् ।
इष्टमित्र नरनाताहरूले रुनै किन पराे र !
यसरी हेर्दा त साँच्चै रुनेहरू त म काेही देख्दिनँ ।
म मरेपछि मेरा सन्तानजस्त‌ा मैले लेखेका किताबहरू राेलान् ।ती त अहिले म जिउँदै हुँदा पनि कुनामा थन्किएर पाठककाे हातमा पुग्न नपाएर राेईरहेकै छन् नि ! कसैले नपढ्ने हुँदा राेईरहेकै छन् नि !
हाेइन, मेराे गाेप्य प्रियसी राेलिन् । के रुन्थी नि ? म मरेकै पनि उसले थाहा पाउदिन । थाहा पाउँदा धेरै समय बितीसकेकाे हुनाले "राेउँ कि हाँसु" हुने छिन् ।
म आफै फेरि आफैलाई साेध्छु-- मरेपछि रुनेहरू किन चाहियाे ? अहिले बाँचेकाे बेला मलाई थाेरै हसाउनेहरू, मसँग थाेरै हाँस्नेहरू म मरेपछि धेरै रुनेहरूभन्दा असल छन् । तीनीहरूबारे पाे मैले साेच्नु पर्छ ! म मरेपछि धेरै रुनेहरू काे के काम ? अनि किन चाहियाे ?
... बेला न कुबेला बहकिने पापी मन !
🏵️
२०७७ फागुन ९
🏵️

🏵️

Thursday, February 18, 2021

अवस्थिति

 

(लघुकथा)
अवस्थिति 
 
 
सरण राई
 
 
झण्डै मरेकाे !
दिउँसाे बुहारीले चिया दिएर आफ्नाे काेठातिर गईहाली । चिया खाँदै माेबाईल हेर्न थालेँ । चिसाे हुन थालेकाे चिया स्वाट्ट पारेकाे । सासै फेर्न नसक्ने गरि सर्किएँ । जाेड जाेडले खाेक्दा घाेप्टिएर टेबुलमा ठाेक्किदा तीनचार चम्ची चिया मुखबाट चुहिए पछि अलिक सास फेर्न सकेँ तर अझै घ्यारघ्यार उउउ आवाज आउन थाल्याे । जाेड जाेडले खाेकी चलेकाे चलेकै छ । राम्ररी सास फेर्न सकेकाे छैन । सास राेकिएर मरिन्छ जस्ताे भईसक्याे । खाेकी चलिरहेकैकै थियाे । बल गरेर जाेडजाेडले खाेकेँ पछि केही बेरमा ठीक भएँ । ठीक नभएकाे भए त कसैले थाहा नपाई गईसक्थे !
झण्डै मरेकाे, मान्छे त यसरी पाे एक्लाे हुँदा मद्दत नपाई मर्दाे रहेछ ।
एउटा पाठ सिकेँ खाँदा अर्थाेक केही नगर्नु नसाेच्नु । मरेकाे भए पनि के भएर मरेँ अरुलाई थाहै हुँदैनथ्याे । जीवन कति अनिश्चित !
ठीक भएपछि कसैलाई भनिनँ । भन्नै पनि किन पर्याे र । बजारतिर ओखति किन्द‌ै एक फन्का मारेर फर्केँ ।
ठुलाे नातिनी र सानाे नाति मेराे काेठामा माेबाइलमा के के हेरिरहेका हुन्छन् । म आईपुग्नासाथ दुवैजना काेठा छाेडेर जान्छन् ।
जेनरेसन ग्याप । रुचि र हाम्राे अवस्थिति मिल्दैन ।
काेठामा प्रायजस्ताे म एक्लै हुन्छु । मलाई लाग्न थालेकाे छ परिवारमा मेराे प्रयाेजन र भूमिका के ? फाल्तु हुन थाले कि ! एक्लै भईरहने म कतिबेला खुसुक्कै जान सक्छु । दु:ख नपाई जान पाउँ - चाहन्छु । तर आफ्नाे वशमा छैन ।
म गईसके पछि भने मैले ओगटेर छाेडेकाे खाली काेठामा मेरा नातिनातिनाहरू भेला भएर माेबाइल हेर्ने ,गफ गर्ने गरिरहेका दृश्यहरू मेराे कल्पनामा झल्कन्छ । तर त्याे म कहाँ देख्न पाउछु र !
🌻
२०७७ फागुन ७
🌻🌻

 

 

Tuesday, February 16, 2021

खाट बाकस

 

(लघुकथा)
खाट बाकस
 
सरण राई
 
मुटु चहर्यायाे, थुक निल्दा घुटुक्क भयाे ।
अहिले म भारती गाैतमकाे "अमेरिकामा आमा" पढ्दै छु , त्सस किताबकाे वाक्यांश हाे याे । क्नुत ह्याम्सन(Knut Hamsun)काे भनाई मुताबिक शब्दकाे गुप्त शक्ति यहाँ देखा परेकाे छ ।
पढ्दै जाँदा अर्को शब्द आउँछ - खाट बाकस !
याे एउटा शब्द मात्र हाे तर मलाई भावुक गहनतामा डुबाउन पर्याप्त हुन्छ ।
अहिले कहाँ खाट बाकस देख्न पाइन्छ र ! याे शब्दले मलाई तेह्र वर्षको उमेरकाे छिनामखु गाउँ पुर्याएकाेले पुस्तक पढ्न बन्द गर्छु । सम्झन थाल्छु त्यतिबेलाकाे मभन्दा नि पुरानाे खाट बाकस !
म जन्मेकाे गाउँमा तेह्र वर्षको उमेरसम्म मात्र बसेकाे हुँ । घरमा एउटा खाट बाकस थियाे । ध्वासाेले कालाे, बुट्टाहरू भएकाे । आधा ढकनि हटाए पछि बाकस । पुराना लुगा मालमत्ता राखेर ढकनी बन्द गरेपछि मान्छे सुत्ने खाट। त्यसैकाे आधुनिक अवतार हाेला आजभाेलि मालसामान राख्न मिल्ने पलङ ।
एउटा शब्द खाट बाकस-- आफैमा चित्र, चलचित्र भएर मेराे आँखा अगाडि देखा पर्छ । आजभाेलि विरल‌ै प्रयाेग हुने शब्द "खाट बाकस"ले मलाई बाल्य र केटाकेटी कालमा पुराउछ,
रमाइलाे सुमधुर !
🌸
२०७७ फागुन २
🌸🌸


Wednesday, January 20, 2021

पराेपकार

 

(लघुकथा)
पराेपकार
 
सरण राई
 
"पराेपकार भन्नाले दु:खि, दरीद्रलाई दान, राेगीलाई सेवा, भाेकाेलाई भाेजनआदि बुझिन्थ्याेभने अहिले यसकाे परिधि र परिभाषा व्यापक भएकाे छ ।"
"कसरी ?"
" अहिले ...
राजनीतिमा- असल मान्छे छान्नु
समाजमा- नैतिकताकाे जगेर्ना गर्नु
विकासमा- सबैले समान हिस्सेदार बन्न सक्ने विकास हुनु
संस्कृतिमा- विश्व भाईचारा, समान व्यवहार, समानताकाे आचरण हुनु
सभ्यतामा- स
मान हैसियत र समान अवसरकाे अवस्था हुनु
मानवियताकाे क्षेत्रमा - विश्व भाईचारा र विश्व शान्ति कायम राख्नु
... आधुनिक विकसित उत्कृष्ट पराेपकारका सुन्दर रूपहरू हुन् । यसता पराेपकारहरूले मानिसहरू सदैव लाभावम्भित भईरहेका हुन्छन् । हाेइन र ?"
"हाे नि तर..."
" तर-सर हाेइन । यस्ताे पराेपकार आजकाे आवश्यकता हाे...!"
...
"जब विश्वकाे उन्नत्ति प्रगति विकास सबैकाे हितमा (कुनै एउटा झुण्ड ,समूह वा वर्गकाे लागि नभई) हुन थाल्छ ,सबैकाे समान उपकार हुन्छ । त्यस्ताे पराेपकारी व्यवस्था हर क्षेत्रमा आवश्यक छ । सबै मिलेर त्यस्ताे व्यवस्था बनाउनु पर्छ ।"
...
सबैकाे साेच उन्नत हुँदैछ, र ...
छलफल अझै जारी छ ।
🌺
२०७७ माघ ६
🌺🌺
🌸

Tuesday, December 29, 2020

साहित्यकाे गरिमा

 

(लघुकथा)
साहित्यकाे गरिमा
 
सरण राई
 
मैले पनि मेरा समकालीन राजनैतिक खलनायकहरूलाई नायक बनाएर थुप्रै साहित्यिक रचनाहरू रचेँ ।
"हात्तीकाे गरिमा" भन्ने आध्यात्मिक कथामा हात्तीलाई भुक्दै कुकुरले पछ्याईरहदा पनि उसले कुनै प्रतिक्रिया नदेखाएकाेले कुकुर थाकेर चुप भयाे । यदि हात्तीले पनि कुकुरले जस्तै प्रतिउत्तर दिएकाे भए हात्ती र कुकरमा के फरक रहन्थ्याे र ?
हात्तीकाे गरिमा कहाँ रहन्थ्याे र !
मैले पनि खलनायकहरू त समयकाे उर्लदाे भेलमा केही बेर नायकजस्ता झुक्किएर देखा पर्ने क्षणिक कुपात्रहरू भएकाे रचनाले साहित्यकाे गरिमा बाेक्न नसक्ने हुँदा त्यस्ता रचनाहरू नष्ट गर्न उचित सम्झेँ ।
र, अब त्यस्ता रचना नगर्ने नलेख्ने निधाे गरेँ ।
 
🏵️
२०७७पुस१४, मङ्गलबार
🏵️
🌺

🏵️
 
 
 
 
 
 
🏵️
🌺

🏵️

Sunday, November 15, 2020

को ?

 

(लघुकथा)

को ?

सरण राई

 

नियमित हिँडाइमा हुन्छु । अघिअघि को  हिडिरहेको देख्छु ।पछाडिबाट शारीरिक बनोट अत्यन्त सुन्दर छरितो र आकर्षक  देखिन्छ ।त्यस्तो शरीरधारीको अनुहार कस्तो होला ! हेर्ने लालायित  मनले मलाई पछिपछि छिटो– छिटो हिँडाउँछ ।उसको हिँडाइको गति त्यति तीव्र नभए पनि सतत अविरल हुन्छ ।

उछिनेर अगाडि पुग्दै सिङ्गो रूप हेर्ने लालसाले म पनि छिटोछिटो हिडिरहेछु । त्यो अपरिचित र मेरो दूरी क्रमशः कम हुँदै गइरहेकाले  म उत्साहित भएर अझ पूरा सामर्थ्य साथ पछयाइरहेको हुन्छु ।

अब भेटें– भेटें । भेट्नै लागेको बेला एउटा कार आएर  उसको छेउ रोकिन्छ । ऊ कार चढ्छे  । कार हुइँकिन्छ ।म हेरेकोहेरेकै हुन्छु ।

गई त हाल्यो । को होला !

अब कहिल्यै फेरि   देखिएला ! देखिए– भेटिए पनि कसरी चिन्न सकिएला !

क्षणभर मात्र समयले साथ दिएको भए । एउटा बितेर गएको क्षण । यस्तै क्षणहरूको सङ्गम रहेछ समयको अविरल प्रवाह उफ !

प्रकाशित:

२८ कार्तिक २०७७ १०:२९ शुक्रबार

Sunday, July 19, 2020

प्रशव वेदना

(कथा)
 प्रशव वेदना

सरण राई

 म अहिलेकाे नेपालमा बाँचिरहेकाे अदना अकिञ्चन पात्र ।  फाेहारी राजनीतिले बनाइएकाे बबुराे । मजस्तै नागरिक बन्न नपाएका जनताहरूकाे नेपाल !

लिम्पियाधुरा, लिपुलेक र कालापानीमा भारतले बाटो  बनाएर सेना तैनाथ गरेकाे छ  । बाटाे बनेकाे पनि सरकारले थाहै पाएन रे ।
एमसिसि संसदमा पास गरेर देश अमेरिकालाई बुझाउन नेताहरूले बैना खाई सकेका छन् रे ।
काेविद १९ भाईरसले हाहाकार मच्चिरहेकाे बेला जननिर्वाचित  सरकार कुर्सी खेलमा मस्त भइ हानाहान तानातान गरि  नाटक देखाईरहेका छन् । निर्देशन बिदेशीले गरिरहेका छन् रे !
भिजिलान्टेहरू जिन्दावाद मुर्दावादमा उत्रिएका छन् । गतिलै रकम त्यसमा विनियाेजन  भएकाे छ रे ।
क्वारेन्टाईनमा बसेकाहरू  धेरैले अात्महत्या गरेका छन् , मरेका छन् । काेविद १९ पनि कमाउने धन्दा भएकाे छ  रे । सत्तावालहरूले थुप्रै कमाए रे !
पत्रपत्रिका, स्कुल क्याम्पस , कार्यालय, यातायात, उध्दाेग व्यापार, कलकारखाना सब बन्द । हिड्डुल लकडाउन । लकडाउन !
 बाढि भल पहिराेले , काेराेनाले र काेराेनाकाे त्रासले मानिसहरू मरे । मरिरहेछन् ।
प्रायाेजित खबरहरूकाे बाढि,  बिकेका बिक्ने बुध्दिजीविहरूका  कपाेलकल्पित तथ्यहरूका चमत्कार ! सामाजिक सञ्जाल फेक न्युज ! वर्खे च्वाउ सरि उम्रेका बहुरूपी अभियन्ताहरू ! चारैतिर भ्रामक वातावरण ! के साँचाे, कुन झुठाे !
अनेक रङ्गी बिरङ्गी  भ्रामक वर्तमान नेपालकाे तस्बिर  !
जे देखिन्छ  त्याे हाे कि हाेइन ? जे सुनिन्छ त्याे पनि हाे कि हाेइन !
मजस्ता नेपालीहरू नयाँ नक्सा जारी हुँदा खुसीले तीन हात उफ्रेका थियाैँ । देश बचाउन अब भने नेपाली सब एकजुट हुने भएछाैँ ।  तर तत्कालै सरकार प्रमुखले एमसिसि पास गर्ने भनेपछि अरकच्च  !
नेपालीका लागि माैलिक नेपाली राजनीति सुरू भएकै रहेनछ । नेपाली भूमि जाेगाउने वीर सपुतहरू जन्मनै बाँकि रहेछ । कस्ताे अवस्थामा  पुराईएकाे रहेछ सार्वभाैमसत्तासम्पन्न जनतालाई ? न देशका लागि लड्न सकिने  न निर्माणका लागि केही गर्न सकिने !
खलनायक नायक देखिएकाे वर्तमान ! स्वाभिमानी नेपाल जन्मने प्रशव वेदना भाेगिरहेकाे वर्तमान नेपाल !

२०७७ साउन २, धरान

Saturday, February 2, 2019

१४६.पूर्णता

.(लघुकथा)
पूर्णता
सरण राई
खाइलाग्दो हेर्दै सिनेमाको हिरोजस्तो देखिने लक्का तन्नेरी बैंकभित्र प्रवेश गर्छ । क्या आकर्षक व्यक्तित्व ! सबैको नजर उतर्फ तानिन्छ । म उसलाई देखेर सोच्छुँ— मानिसको व्यक्तित्वमा हुने पूर्णता यस तन्नेरीमा रहेछ ।
ऊ बैंकको काउण्टरमा नोटको गड्डी बुझाउछ । सुन्दरी महिला क्यासियर लोग्ने मान्छेको बिग्रिएको घ्यारघ्यारे आवाजले सोध्छिन् “कति छ ?”
“तीस लाख ।” डोमिनेटिङ पुरुष आवाजको सट्टा गला बिग्रिएको सानो केटीको जस्तो उसको खिरिलो स्वर सुनेर ऊप्रति आकर्षित सबै निराश हुन्छन् ।
“जाहै... स्वरले ठगिहालेछ नि ! उसको व्यक्तित्व पनि पूर्ण रहेनछ ।”

🏵️
🏵️🌼🌻

Thursday, January 31, 2019

१४४.सम्झना

(लघुकथा)
सम्झना

सरण राई

थामियाे राेकियाे
किन हुन्थ्याे..
अगेनामा बसाएकाे पानी भकभकी उम्लेझैँ
मनकाे भित्रीबाट उम्लिदै अागाेकाे गाेला
छाती पाेल्दै माथि पुग्छ, झर्छ ... समग्र पाेल्छ
सहि नसक्नु... तररर..
गाला भिज्छ भिजीरहन्छ छाडि जानेकाे सम्झना !
🔴
https://www.facebook.com/groups/370554310413169/?ref=group_header
  २०७५ /१० /१७ धरान




Sunday, January 6, 2019

१४२ .काल पर्खिरहेकाहरूका कथा

(लघुकथा)
काल पर्खिरहेकाहरूका कथा
सरण राई
दन्त्यकथा 'प्यान्डाेराकाे बाकस'बाट निस्केका अनेकाै दुःदकष्ट, राेगभाेकपछि अन्तमा निस्केकाे आशा — हर जीवितहरूका बाँच्ने सहारा । झन्डैझन्डै सकिसकेकाे मेराे जीवनमा पनि आशाकै सहारामा म पर्खिरहेकाे छु, पर्खिरहेछु ... के, काे र किन ?
मलाई नै थाहा छैन । तर म पर्खिरहेकाे छु, पर्खिरहेछु । हर क्षण काेही मेराे सपना पूरा गर्न आउला ! मेराे हृदयभित्र रगत, आँसु र पिपले गुजुल्टिएकाे असह्य विछाेडका घाउ कसैले निकाे पार्ला ! फेरि म सुन्दर रमणीय फूलहरूसित मुस्कुराउन सकूलाँ !
त्यस्ताे क्षण आउदै हाेला । ल्याउने काे हाेला ?
त्याे नआइपुगुन्जेल प्रतीक्षारत मलाई आशा छ – त्याे आउछ !
सायद त्याे अरू नभएर आफ्नै काल हाेला । धैर्यसाथ त्यसलाई पर्खन मद्दत गर्ने आशा ... अझै मिलन हुनेछ भन्ने बलवान आशा ! बलवान आशा नाैरङ्गी जीवनमा बाँचुन्जेल बाँच्ने सहारा भएकाे छ ।
बाँच्नु सबैभन्दा ठूलाे सम्झनेहरूका कथा हाे याे ।
र, काल पर्खिरहेकाहरूका कथा पनि हाे ।
🔴
https://chhinaamakhu.blogspot.com/2019/01/blog-post_4.html
२०७५ चैत १४ , धरान


Sunday, December 23, 2018

१३७.बाकसमा किताब

(लघुकथा)
बाकसमा किताब

सरण राई

चारैतिरबाट साेच्दा जीवनमा के पाइयाे ? के गुमाइयाे ? कुनै बेला मनमा प्रश्न उठनु स्वाभाविक हाे ।
जितेकाे भन्दा हारेकाे अनुभूतिले साहित्यतर्फ म धकेलिएँ । लेखेँ निबन्ध । छाप्ने रहरले चैन हरायाे । प्रकाशन सहकारी बनाएर २७जनासँग ५०००।- का दरले पैसा जम्मा गर्दा १२५०००।- जम्मा भयाे ।
पैसा जम्मा भएपछि सपना देखियाे लाखकाे । ५०००प्रति पुस्तक १००।- ले ५०००००।- । पाँचगुणा ...
९७०००।- रूपैयामा पाँच हजार प्रति पुस्तक छापियाे । छापेपछि पाे देखियाे पुस्तक संसारकाे झिलीमिली । विमाेचन भव्य गरियाे । पुस्तक नबिकेर थन्कियाे । मुसाले काटेर ढुट्टाे ।
पत्नीले िहउदमा सिरक डसना कम्बल राख्न किनेकाे ठूलाे टिनकाे बाकसमा मुसा धमिराबाट बचाउन सिरक डसना कम्बल झिकेर पुस्तकहरू राखियाे ।
पत्नीसँग भनाभन पनि भयाे । अन्तमा पाँच लाखकाे किताब जाेगाउन तिनले पनि सहमति जनाइन् । त्यतिबेलादेखि राखेकाेे किताबहरू अझै बाकसमा नै छन् ।
ती किताबहरूमा अरू किताबहरू पनि थपिदै गए । पत्नीकाे देहावसान पछि 'नाैरङ्गी' किताब पनि थपियाे ।
अब प्रश्न उठिरहेकाे छ बाकस कहिले खाली हाेला ? बाकसकाे किताब सम्पत्ति हाे कि हाेइन ? र, कहिलेसम्म राखिरहने ...
🔴
https://chhinaamakhu.blogspot.com/
२०७६।३।१४, धरान

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ 



Saturday, December 22, 2018

१३६.नं. बिनाकाे कार्यकर्ता


(माेबाइल लघुकथा= माेबाइलमा नै लेखिने र केही मिनटमा माेबाइलमा नै पढ्न सकिने र पढिने लघुकथा)
(माेबाइल लघुकथा)
नं. बिनाकाे कार्यकर्ता
सरण राई
सबै तिर नम्बर र तह हुन्छ ।
हेर्दा १ नम्बरकै पछिपछि हिँडिरहेकाे एउटै पङ्तिमा उभिएकाे ऊ । उसलाइ नं.१काे मान्छे सम्झेर १ नं.सँग काम परेकाेले मैले उसलाई काम फत्ते पार्ने जिम्मा दिएँ ।
उसले पनि काम सिध्द गर्न भगिरथ प्रयत्न थाल्याे ।
उसलाई पार्टीभित्र अाफ्नाे अाैकात, नं. , शक्ति र तह थाहा थिएन ।
१ नंं भेट्न उसले चारवटा तह पार गर्नु पर्थ्याे । २ नं. तह १नं.का नातेदार र बिश्वासी कमिसन दलालहरू, ३नं. तह पक्का १नं.ले पालेकाे पाेसेकाे खुखार जुकाजस्ता कार्यकर्ता नेताहरू, ४नं. तहमा भिजिलान्टेहरू र नामुद गुण्डाहरू र ५ नं.मा अन्ध समर्थकहरू सदैव शक्तिशाली १नं.ले केही फ्याकिदेला र खाउला भनि अन्धा भिखारीहरूजस्ताकाे झुण्ड ।
बिचरा उसले त पाँच नं. झुण्ड नै पार गर्न सकेन ।झुण्डले यता ठेल्छ उता ठेल्छ ।
चाैथाे तहसम्म पनि पुग्न नसकेकाे उसले बल्ल अाफ्नाे सम्झिरहेकाे त्याे सिध्दान्तहीन पार्टीमा अाफ्नाे हैसियत थाहा पायाे ।
त्याे पार्टी त पार्टी नभएर एउटा निकृष्ट स्वार्थी ग्याङ बाेस र याकुचाहरूकाे ग्याङ भइसकेकाे रहेछ ।
उसले त्यसताे ग्याङमा बसेर राजनैतिक उद्देश्य प्राप्ति हुँदैन भन्ने ज्ञान भएपछि त्यस पार्टीकाे साधारण सदस्य समेत सबै समितिबाट राजिनामा दिएर स्वतन्त्र भयाे ।
https://chhinaamakhu.blogspot.com/
२०७६।३।२३, धरान
मुन्धुम (मासिक)पूर्णाङ्क १७५ (पुष, २०७६)

नाैरङ्गी्

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तक पढ्नुहुन अनुराेध छ ।
🏵️🌼🌻



Friday, December 21, 2018

१३४.कुकुर

(लघुकथा)
कुकुर

सरण राई

जब एक्लाे भइन्छ, बाल्यकालदेखिका पुराना र जीवनका विभिन्न कालखण्डका घटनाहरूका सम्झना हुन्छ र त्याे सम्झनासँग कुकुरहरूकाे सम्झना पनि गाँसिएर अाउछ ।
किरात लाेककथामा कुकुर मानिसकाे कान्छाे भाइ भएकाे कथा छ । हाेला र त नानीहरूकाे मिल्ने साथी कुकुर हुन्छ । म पनि चार वा पाच वर्षकाे हुँदा मेराे जन्म गाउँ छिनामखुमा मेराे मिल्ने एउटा निक्खुर कालाे काले नामकाे कुकुर थियाे । घरकाे रखवारी गर्नामा खप्पिस थियाे । नाैलाे मान्छेलाई घरमा ढिम्किन दिदैनथ्याे । अरूका लागि असाध्य छुच्चा थियाे । टाेक्न नै जाइलाग्थ्याे । कतिलाइ टाेकि पनि सकेकाे थियाे । त्यस्तै छुच्चा भएकाेले कसले हाे घाँटीमै काटेर घाइते बनायाे । मान्छेकाे पनि दबाइपानी नभएकाे त्याे जमानामा त्यही घाउले काले मर्याे । त्याे मर्दा हामी सबै परिवार शाेकाकुल भएका थियाेँ । त्याे कालेकाे झझल्काे अझै मेराे अाँखामा काेहीकाेही बेला अाइरहन्छ ।
अर्काे लक्की कुकुर बाेराबाँध मधेसमा अामाबुबाले पाल्नु भएकाे थियाे । अामाले तालिम दिएर खडा बस्ने भएकाे थियाे । मानिसहरूले खान थाले पछि खडा भएर खाने चिज नदिउन्जेल बसिरहन्थ्याे । खडा बस्ने त्यसकाे सीप त्यसका लागि पेट पाल्ने मेलाे भएकाे थियाे । त्याे सीपले त्यसलाई सबै केटाकेटीहरूले असाध्य मन पराउथे । त्याे चाहीँ बुढाे भएरै मर्याे । त्यसलाई खाल्डा खनेर मान्छेलाई जस्तै सम्मानसाथ गाडेका थियाैँ ।
अर्काे कुकुर मैले विवाह गरीसकेपछि धरानमा बस्दा पालेकाे टाइगर नामक कुकुर राम्रै थियाे । भनेकाे बुझ्थ्याे र मान्थ्याे । तर के भयाे कुन्नी एक दिन बाैलाएजस्ताे गरी भित्र बाहिर कुद्ने, मान्छेहरूलाइ खेद्ने गर्न थाल्याे । केटाकेटी वा अरू मान्छेलाइ टाेक्याे भने अनेक झमेला हुने । मैले नै अाग्लाेले हिर्काएर अाफ्नै कुकुर मारेँ । म अहिले पनि सम्झन्छु त्याे कुकुर बाैलाएकाे थियाे, थिएन टुङ्गाे नगरी नमारेका भए हुन्थ्याे ।
बेली बेलाइती कुकुर पनि खुब राम्राे थियाे । के भएर हाे ? केही दिन केही नखाएकाेले बिस्कुट चाहीँ खान्छ कि भनेर दिएँ । पुच्छर हल्लाएर कृतज्ञता ज्ञापन गर्याे र त्याे बिस्कुट लगेर जमिनमुनि पुरेर राख्याे । त्याे खान नसकेर नै मर्याे । पछि पाे थाहा पाएँ घाँटि सुनिएर खानै नसक्ने भएकाे रहेछ । विचराले मन पर्ने बिस्कुट निकाे भएर पछि खान जमिनमुनि लुकाएकाे थियाे तर खान पाएन ,। जीवनकाे नियती ..
अब अन्तमा हुन्ची कुकुरकाे बारेमा पनि बताइ हालाैँ । पत्नी र म बिहानै डायलाइसिस गर्न बिराटनगर जाने गर्थ्याे , बसपार्कसम्म हामीलाई पुराउन सधैं जान्थ्याे । बसमा पनि चढ्न खाेज्थ्याे । अरूले कराए पछि अाेर्लन्थ्याे । एक पटक डायलाइसिस सकेर घर अाउदा नातिनीले भनि-- 'हुन्ची कुकुर निकै छठ्पटिएर मर्याे, विष खाएकाे थियाे कि ... '
मरी त गयाे । माया लागेर के गर्ने ? पशु हाेस् वा मान्छे । मरिसकेपछि गर्नै पाे के सकिन्छ र... फगत चुकचुकाउनु सिवाय ...
🔴

https://chhinaamakhu.blogspot.com/2018/12/blog-post_72.html
२०७५ चैत ५, धरान





१३२.साङ्लो

(लघुकथा)
साङ्लो

सरण राई

कुकुरलाई प्याराे गरेर पालिएकाे थियाे । भेडाहरूकाे रखवारी गर्नकाे साटाे माेटाएकाे कुकुर सन्किएर अाफू सिंह भएकाे भ्रममा परेर ब्वासा जस्ताे भयाे । भेडाहरू मार्न थाल्यो ।
सिंहजस्ताे गर्जन खाेज्याे ।
"तिमीलाई सुनकाे सिक्री लगाई दिएर जङ्गलकाे राजा बनाउँछाैँ" फटाहाहरूले भने । कुकुर खुशीले सिंहझैँ गर्जन खाेज्याे ।
कुकुर कुकुरै हाे गर्जन नसकेर भुक्याे । बेस्सरी भुकेर भुस्याहा भयाे । उसलाई पाल्नेहरूले पनि कुट्दै त्यसलाई गाेठबाटै लखेटे ।
कुकुर सुनकाे साङ्लोकाे लागि घरकाे न घाटकाे भयाे ।
 ***
२०७५।८।१७,सुमेरू अस्पताल

********
 रिता बान्तवा राई , शिव बान्तावा  , रेवती रमण राई, श्रीशीशा राई ,   म  निर्मला राई  र स्व. पत्नी लक्ष्मी राई (पाथिभरामा )

Sunday, December 2, 2018

१३१.हुर्मत

(लघुकथा)
हुर्मत

सरण राई

सरकारी ठूला मान्छे भएपछि सरकारी सुबिधाले गर्दा जाडाे, गर्मी, दुखकाे अनुभूति नभएकाे चार वर्ष भइसकेकाे छ । लाग्न थालेकाे छ देशमा सब मानिसहरूकाे जन्म र जीवन उनकै सुखबृध्दीका लागि हुन् र तिनीहरू उनका दास हुन् । उनले सरकारी ठूला मान्छे हुनुभन्दा अगाडि भाेगेका जाडाे, गर्मी, राेग, शाेक, दुख, पीडा सब बिर्सेका छन् । गरिब दु:खिहरूकाे लागि अाफूले बाँढेकाे सपना पनि भुसुक्कै बिर्सेका छन् । अतुलनिय सर्वाधिक सुखसयल उपभाेग गरिरहेका छन् । इन्द्रकाे स्वर्गका अानन्द लिइरहेका उनी जाडाेले थरथर कामिरहेका गरिब,राेगले पिडीत राेगी, भ्रषटाचारले पिल्सिएकाे जनता र अविकसित अर्थव्यवस्थाकाे हुर्मत लिन कराेडाैकाे बुलेटप्रुफ गाडिमा हिड्छन् । अहङ्कारकाे शिखरमा छन् । अाफ्नाे पनि मृत्यु हुन्छ भन्ने बिर्सेका छन् । जनता र देशका भलाे हुने राम्राे काम नगर्ने कसमै खाएका छन् । जाडाे, गर्मी, राेग, शाेक, दुख र सांसारिक पीडाकाे अस्तित्व अनुभूति गर्न छाडेका छन् ।
सरकारी सुबिधाले सरकारी मान्छेलाई विवेकहीन बनाउन सक्तो रहेछ । राेग, शाेक, दुख र सांसारिक पीडाकाे अस्तित्व अनुभूति गर्न छाडेका छन् । अतुलनिय सर्वाधिक सुखसयल भाेगिरहेका सरकारी ठूला मान्छे अट्टहास गर्छन्-- समृध्दि अाइसकेकाे छ ।
समृध्दिकाे हुर्मत ....
गरिब, दु:खि, राेगी, शाेषित, पीडित, निमुखा जनताकाे हदै सम्म हुर्मत लिन सफल सरकारी ठूला मान्छेलाई जनताहरू टाढाबाटै भए पनि थुकेर धृणा खनाउँछन्। दिन गनिरहेका छन्-- सरकारी तानासाहकाे अन्तकाे । फेरि पनि प्रतीक्षारत छन् समृध्दिकाे ...

🔴
https://chhinaamakhu.blogspot.com/

२०७५ मङ्सिर १७, विशालचाेक

Monday, November 26, 2018

१२९.गुण

(माेबाईल लघुकथा)
गुण

सरण राई

एकलासे बाटाेमा कुकुरहरूकाे भुकाइ टाेकाइका हल्लीखल्ली र खैलाबैलाले त्यतातिर मेराे ध्यान आकृष्ट हुन्छ ।
एउटा कुकुर हिलाेमा भासिएकाे अवस्थामा पाँच छ वटा कुकुरहरूले घेरेर टाेकिरहेका छन्, चिथाेरीरहेका छन् । एक्लाे कुकुर असहाय छ, अरु कुकुरहरूले त्यसकाे ज्यान लिनै लागेकाे देखेर म लाैराेले हिर्काउदै अन्य कुकुरहरूलाई लखेट्छु ।
कुकुर घाइते भएकाे छ र शरीरकाे केही भागबाट रगत पनि बगिरहेकाे छ । हिलाेमा भासिएकाेले निस्कन सक्तैन । तानेर निकाल्छु ।
यति गरिसकेपछि म आफ्नाे बाटाे लाग्छु । कुकुर कातर भावकासाथ मलाई  केहीबेर पछ्याउछ । अन्य कुकुरहरू भागिसकेका थिए । सुरक्षित महसुस हुनासाथ त्याे कुकुर कृतज्ञताका लागि मतर्फ पुच्छर हल्लाउदै आफ्नाे बाटाे लाग्छ ।
कुनै कुनै समय म त्याे बाटाे हिड्ने गर्छु । त्याे कुकुर मलाइ देख्नासाथ पुच्छर हल्लाउदै मेराे छेउमा आएर लुटुपुटु गर्दै भक्तिभाव देखाउछ , कृतज्ञता जाहेर गर्दछ ।
एक साँझ म पल्लाे गाउँ त्यहि बाटाे भएर जानुपर्ने भयाे । बाटाेमा दुई  काेष जति बाघ भालु ब्याँसाे स्याल जस्ता हिंसक जानवरहरू भएकाे डरलाग्दाे जङ्गल थियाे । म एक्लै थिएँ र डराइरहेकाे थिएँ । जानैपर्ने काम थियाे । जङ्गलछेउ त्यहि कुकुर भेटेँ । मलाई पछ्याउन थाल्याे । मैले लखेटेर धपाएँ तर नभागेर त्यसले जङ्गल नकाटुन्जेल मलाई साथ दियाे । सकुशल जङ्गल पार भएकाेमा म खुशी थिएँ । म त्याे कुकुरलाइ आफूसँगै लैजान चाहन्थे तर त्याे जङ्गल पार हुँनासाथ मप्रित फर्केर एक पटक भुक्याे कृतज्ञताकाे भाव प्रकट गर्न । अनि फरक्क जङ्गलकाे बाटाे दगुर्दै फर्कियाे । म हेरेकाे हेरै भएँ केही गर्न नै पाइएन ।
पल्लाे गाउँकाे काम सकेर साथीभाइहरूका साथ म दुइ दिनपछि फर्किएँ । बीच जङ्गलमा सिनु गनाएकाेले चारैतिर हेर्दा के दैख्छु...जङ्गली जानवरहरूले मारेर खाएर छाेडेकाे बिचरा त्याे कुकुरकाे आँधि लाश कुहेर गनाइरहेको !
हाे, गुण भनेकाे एक पटक त हुन्छ ।
बिचरा त्याे कुकुरले मैले लगाएकाे एउटा गुण ज्यान दिएरै तिर्याे !
🔴
२०७६/६/१८ , धरान

नाैरङ्गी

एक लघुकथाहरूकाे सङ्ग्रह

पुस्तकमा पढ्न अनुराेध छ ।
🏵️🌼🌻
***
(छिन्ताङमा हामी दुई )